पोखरामा ह्याकरद्वारा इ-सेवा मार्फत व्यक्तिहरुको रकम ठगी

पोखरा न्यूज – भदौ । आफ्नो ल्यापटपमा काम गरिरहेका पोखरा – ८ निवासी रमेश (नाम परिवर्तन )लाई फेसबुकको म्यासेन्जरमा एउटा म्यासेज आयो, नमस्कार ! हजुरबाट एउटा हेल्प चाहिएको थियो अर्जेन्ट ।

आफुसँग फेसबुकमा त्यसरी कहिल्यै नबोलेका आफन्तले फेसबुकमा सहयोगको आशा राखेर म्यासेज गरेपछी उनले हुन्छ, के होला भन्नुहोस् न् भनेर जवाफ फर्काए । जवाफ फर्काउने बित्तिकै उताबाट प्रश्न आयो, तपाइले इ-सेवा भन्ने चलाउनुहुन्छ होला ? उनले उत्तर दिए इ-सेवा त चलाउदीन अर्को एप चलाउछु के पर्यो भन्नुहोस् न् । मेरो एउटा साथीलाई अर्जेन्ट इ-सेवामा पैसा हाल्नुपर्ने भयो , तपाइको कोही साथी सँग त होला नि, म हजुरलाई भोली पैसा फर्काउछु खोजेर पठाइदिनुस् , उतावाट अनुरोध आयो ।

रातको करिव १० बजेको समय त्यो माथि पानी दर्किरहेको, नाताले ससुरा पर्ने व्यक्तिले सहयोग मागेपछि केहि अप्ठयारो परेरै होला भन्ठानेर उनले साथीसँग अनुरोध गर्ने बताए । रमेशले सोधे कति रकम चाहिएको हो ? उतावाट उत्तर आयो ३ हजार भए पुग्छ । उनले तत्काल आफ्नो साथीमार्फत उनले प्रदान गरेको इ-सेवा आइडी नम्बरमा रकम पठाए । रकम पठाएपछि उनले पैसा प्राप्त गरेको स्वीकार पनि गरे ।

भोलिपल्ट दिन त्यसै बित्यो, साझपख साथीले इ-सेवाको पैसा पुग्न दिन आग्रह गरे ,सोहीअनुरूप उनले पनि आफुले रकम पठाएको आफन्तलाई पैसा पुग्न दिन भनेर म्यासेजमै आग्रह गरे । म्यासेजको जवाफ आएन । त्यसको अर्को दिन साथीलाई पैसा बुझाए । अर्कोदिन समेत म्यासेजको जवाफ नआएपछी उनि दोधारमा परे । फोन गर्दा जाबो ३ हजार रकमका लागी फोन गर्यो भन्ने पर्ने हो कि , नगरौ भने जिम्वेवार व्यक्तिले म्यासेजको रेस्पोन्स समेत नगर्दा उहाँलाई नै केहि भयो कि भन्ने पिर । धेरै वेर पछी उनले फोन गरे तर उताबाट नचिनेको वा केहि थाहा नभएको जसरी कुराकानी भयो । अस्ति बेलुका हजुरले यसरी पैसा मागेपछि पैसा पठाएको थिए भनेपछि उनले बल्ल आफ्नो फेसबुक ह्याक भएको बताए ।

उताबाट त्यस्तो जवाफ आएपछि रमेशले फोन राखे र जुन आइडिमा रकम पठाएको हो त्यहि नम्बरमा फोन सम्पर्क गरे । दुई / तिन पटक फोन लगाएपछि फोन उठ्यो । उनि आफु काठमाण्डौको ब्यापारी रहेको बताए । उनको मोबाइल नम्बरको आइडिमा इसेवामा रकम पठाएको विषयमा कुरा गर्दा उनले आफुले इ-सेवा नै नचलाएको दावी गरे ।

त्यस्तैगरि कास्कीको एक  सरकारी  कार्यालयमा कार्यरत नुतनलाई केहि दिन अघि फेसबुकमा एउटा म्यासेज आयो । सुत्ने तरखरमा रहेका उनलाई आफुले चिनेका गाउँकै दाइले इ-सेवामा २ हजार रुपैया पठाइदिन आग्रह गरे । आफ्नो इ-सेवाको खाता रहेको तर खातामा पैसा नभएको बताएपछि आफुलाई एकदम जरुरत परेकोले जसरिपनि खोजेर पैसा पठाइदिन आग्रह गरे ।

रातको ११:३० बजे त्यसरी फेसबुकमा म्यासेज आएपछि उनले म्यासेन्जरमा कल गरे तर उठेन । दाई कल उठेन त किन हो भनेर उनले म्यासेन्जरमा प्रश्न समेत गरे । बिश्वाश गर यो नम्बरमा पैसा पठाइदेउ भनेपछी उनले साथिकोबाट आफ्नोमा पैसा मागेर आफुले उक्त नम्बरमा पैसा पठाए । पैसा पठाउदा धन्यवाद समेत नभनेपछी र थप रिप्लाई नआएपछी उनलाई शंका लाग्यो र भोलिपल्ट दाईलाई फोन गरे । दाइले आफ्नो फेसबुक ह्याक भएको बताए ।

पैसा माग्ने ,पठाउने र पाउने सबै ह्याकरको शिकार !

यसरी इसेवाबाट रकमको ठगी गर्न ह्याकरले सर्वप्रथम कम सेक्युरिटी भएका फेसबुक एकाउन्टलाई ह्याक गर्ने गरेको पाइएको छ । ह्याकरले कसैको फेसबुक ह्याक गरिसकेपछि फेसबुकको साथीहरुको लिस्टबाट सबै भन्दा नजीक देखिने तर फेसबुकमा कम कुराकानी हुने साथीहरुको लिस्ट तयार पारी उनीहरुको मोबाइल नम्बर माग्ने गर्दछन । मोबाइल नम्बर मागेपछी ह्याकरले सोही नम्बरमा इ-सेवा एकाउन्ट छ कि छैन भनेर चेक गर्ने र नभएमा इ-सेवा एकाउन्ट खोल्ने गर्दछन । नयाँ इ-सेवा एकाउन्ट खोल्नलाई इ-सेवाले भेरिफिकेसन कोड पठाउने गर्दछ । जव इ-सेवाले भेरिफिकेसन कोड उक्त नम्बरमा पठाउछ ह्याकरले पुन: सोहि व्यक्तिलाई हजुरको मोबाइलमा कोड आएको छ कोड पठाइदिनुहोस् भनेर अनुरोध गर्दछन । जव व्यक्तिले कोड दिन्छन त्यतिबेला कोड सँगै आफ्नो नम्बरको इ-सेवा आइडी अन्जानमा ह्याकरलाई सुम्पिन्छन् । यसरी एउटा ह्याकरर्ले पैसा माग्न् फेसबुक ह्याक गरेर एउटालाई शिकार बनाउछ, पैसा पठाउनेलाई आर्थिक हिसावले शिकार बनाउछ र जसले जो भनेर पैसा पठाएको हुन्छ त्यो पैसा पाउने भन्ने व्यक्तिको नाममा ह्याकरले इ-सेवा एकाउन्ट खोलेर उसलाई समेत शिकार बनाउछ ।

तत्काल खाता खोलेर अनभेरिफाइड इसेवा आइडीबाट ठगी : इ-सेवा

ह्याकरले यसरी कोड मागेर खोलेका आइडीलाई अनभेरिफाइड आइडीको रुपमा राख्ने गर्दछ । भेरिफाइ गर्नको लागि जुन नामबाट इ-सेवा आइडी खोलिएको हुन्छ त्यहि नामको नागरिकता/ लाइसेन्स/ पासपोर्टको स्कान कपी अथवा त्यस्तै अन्य सरकारी परिचयपत्र अपलोड गर्नुपर्ने हुन्छ । अहिले तत्काल खोलिएका अनभेरिफाइड आइडीबाट ह्याकरले ठगी गर्ने गरेको गुनासो आउन थालेको इ-सेवा फोनपे प्रा.लि. ले बताएको छ ।

पछिल्लो समय इसेवामा ठगीका उजुरी तथा गुनासो धेरै आउन थालेको ग्राहक सेवा केन्द्र का कर्मचारी बिन्दु दर्लामीले पोखरा न्यूजलाई बताइन। अनभेरिफाइड आइडीबाट दिनमा अधिकतम ५ हजार कारोबार गर्न मिल्ने बताउदै दर्लामीले यदि कोहि ठगिएमा पुलिस रिपोर्ट गरेमा वा कुनै आधारबाट इ-सेवालाई निवेदन दिएमा त्यो आइडिको कारोवार ब्लक गरेर २० देखी ३० दिन सम्ममा सम्बन्धित व्यक्तिको रकम फिर्ता गराउन सकिने बताइन ।

अनभेरिफाइड आइडीलाई भेरिफाइ गरेर पनि ठगी हुनसक्छ

काठमाण्डौ निवासी एक व्यवसायी मनोज सापकोटालाई गाउँ नजिकैका दाई कुमार भट्टराईको फेसबुकबाट म्यासेज आयो, तपाइको नम्बर दिनुहोस न् । सापकोटाले नम्बर दिए । नम्बर दिनेबित्तिकै उतावाट म्यासेज आयो मोबाइलमा एउटा कोड आएको छ पठाईदिनुहोस न् । उनले इ-सेवा लेखेको म्यासेज देखे र सोधे मेरोमा इ-सेवा खोलेको हो र ? कुमारकोबाट जवाफ  आयो होइन यहाँ समस्या आएर हो । उनले होला भन्ने सोचे र वास्ता नगरी बसे । केहि दिनपछी तपाई सुमन अधिकारी हो ? मैले तपाईलाई ५ सय रुपैया हालिदिएको थिए भन्दै एक व्यक्तिले फोन गरे । उनले आफ्नो वास्तविक परिचय दिँदै आफ्नो इ-सेवा खाता नभएको बताए । हालै मात्र त्यहि इ-सेवा खाता प्रयोग गरेर ह्याकरले पोखराबाट पैसा ठगी गरेका छन् ।

ह्याकरले मनोज सापकोटाबाट नै नम्बर मागेर कोड समेत मागी इ-सेवा आइडी खोल्दा सुमन अधिकारीको नामवाट खोल्नुले ह्याकरले त्यो आइडिलाई सुमनको नामबाट भेरिफाइ गरेर ठुलो रकम ठगी ठगी नगर्ला भन्न सकिदैन। पछिल्लो समय साइवर तथा नागरिकताको फोटोकपी मागिने बिभिन्न स्थानबाट विवरणहरुको चुहावट हुने गुनासो आउने गरेकोले त्यस्तो नहोला भन्न सकिदैन ।

इ-सेवाबाट अहिले भेरिफाइड आइडीबाट २५ हजार रकम पठाउन र २५ हजार रकम प्राप्त गर्न सकिने इसेवा ग्राहक सेवा केन्द्रका गोपाल रायमाझी बताउछन । रायमाझीले इ-सेवाको कोड जेनेरेटर सिस्टमबाट कुनै सूचना चुवाहट हुने वा कोड ह्याक हुने कुनै सम्भावना नरहेको दावी गर्दै इ-सेवाको कोड कोहि कसैले कसैलाई दिन नहुने बताए । इ-सेवा प्रयोगकर्ताले वा अन्य व्यक्तिले पनि इ-सेवा बाट मोबाइलमा आएको कोड जो सुकैले मागेपनि नदिने गरेमा ठगी हुनबाट बचिने जनाए ।

उता नेपाल टेलिकमका बरिष्ठ इन्जिनियर बिजेन्द्रनाथ शुक्लालेले मोबाइल सेवा प्रदायकबाट जाने कोड अथवा म्यासेज कुनैपनि हालतमा ह्याक नहुने बताए । उनले भने, – ‘एप वा सफ्टवेयर मार्फत जेनेरेट हुने कोड ह्याक हुने भए मोबाइल सेवा प्रदायकको मा आउनुपुर्व नै ह्याक हुने हो, अन्यथा मोबाइल सेवा प्रदायककोमा आइसकेपछि ह्याक हुने भन्ने हुदैन।‘

फेसबुक ह्याक गरेर इसेवाबाट ठगी भएपछी प्रहरीमा उजुरी !

आफ्नो फेसबुक ह्याक गरेर इसेवाबाट ठगी भएपछी जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएको पोखराका गुप्त शर्माले बताए । ‘मेरो फेसबुकबाट पैसा मागेका मध्ये एकजनाले मलाई बिहानै शंका लागेर फोन गरेपछि प्रहरीकोमा गएर खबर गरेका हौ , निवेदन दिएका छौ थप के भयो बुझ्न बाँकी छ, – शर्माले भने।‘

तर जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले कास्कीमा हालसम्म इ-सेवाबाट ठगिएको भन्ने बिषयमा कुनै उजुरी नपरेको बताए । उनले भने “ इ-सेवाबाट यदि जनताहरु ठगिएकाछन भने इ-सेवा संचालक कम्पनीले यसलाई नियमन गर्नुपर्छ, केही ह्याकरहरुले ह्याक गरेर जनताको रकम दुरुपयोग गरेको हुन पनि सक्छन्। ”  यस बिषयमा आफुहरुले  अनुसन्धानलाई अघि बढाउने उनले जनाए ।

मिति २०७६/०५/२७  मा रिकोभर गरिएको

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button