म्याग्दी: ५१ लाख लागतमा झोलुङ्गे पुल निर्माण, डेढ घण्टाको बाटो अब २० मिनेटमै

पोखरा न्यूज – २७, भदौ। म्याग्दी अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले जोड्ने कालीगण्डकी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । रघुगङ्गा गाउँपालिका–१ बेगखोलादेखि दोसल्ले जोड्ने १ सयु १५ मिटर लामो सो पुल रु ५१ लाख ५९ हजार ९५७ लागतमा निर्माण गरिएको हो । सो पुलबाट २ सय  घरधुरी लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष खगवीर गर्बुजाले बताए  ।

पुल निर्माण भएपछि दोसल्ले, तिप्ल्याङ, बेग, बादुक, टिकोट र हिस्तानका बासिन्दालाई सुविधा पुगेको छ । यसबाट घुमाउरो बाटो हिँड्नुपर्ने वा तुइन तर्नुपर्ने बाध्यता हटेको उनको भनाइ थियो । अध्यक्ष गर्बुजाका अनुसार डेढ घण्टाको बाटो २० मिनेटमै छोटिएको छ । यसअघि दोसल्लेबाट बेगखोला पुग्न तिप्ल्याङ पुगेर घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता भएकामा अहिले २० मिनेटमै दोसल्लेदेखि बेनी–जोमसोम सडकमा पुग्न सकिने भएको छ ।

घुमाउरो बाटो हिँड्नुपर्ने भएपछि त्यहाँ तुइन राखिएको थियो तर पुल बनेपछि तुइन पनि पूर्णरूपमा विस्थापित भएको स्थानीयवासी मिलन गर्बुजाले बताए  । झोलुङ्गे पुल सहयोग कार्यक्रम टिबीएसयुको प्राविधिक सहयोगमा गाउँपालिकामार्फत सो पुल निर्माण गरिएको हो । पुल निर्माणका लागि टिबीएसयुले लठ्ठा र बुल्डअप ग्रिप उपलब्ध गराएकोे, मजदुरको ज्याला निर्माण सामग्री खरीदको भुक्तानी गाउँपालिकाले गरेको थियो भने गैरसरकारी संस्था मिलन म्याग्दीले प्राविधिक र सामाजिक परिचालनमा सहयोग गरेको थियो ।

यसैगरी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको उपल्लो घलेम्दी खोलामा रु ३२ लाख ७७ हजार ५६५ को लागतमा ४३ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ भने वडा नं ७ र ८ को सिमानामा पर्ने मर्ना खोलामा रु ११ लाख ५१ हजार ३०१को लागतमा ३२ मिटर लामो झोलुङ्गे पुल मर्मत गरिएको छ । सडक सुविधाको पहुँचदेखि टाढा रहेका दुर्गम बस्तीमा आवतजावत र ढुवानीका लागि झोलुङ्गे पुल प्रभावकारी बनेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले बताए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button