पोखराको पार्दीमा खुल्यो किसान बजार, बिचौलियाले खाने मुनाफा उपभोक्तालाई !

दीननाथ बराल, पोखरा न्यूज- ३१, भदौ । कृषकहरुले उत्पादन गरेका फलफुल तरकारी प्रत्यक्ष रुपमा उपभोक्ताहरुलाई बिक्रि वितरण गर्ने उद्धेश्यले पोखरा-१७ स्थित पार्दी विरौटामा किसान बजार संचालनमा आएको छ । पोखरा महानगरपालिकाको  सहयोगमा पोखरामा उक्त बजार मंगलबारदेखि संचालनमा आएको हो ।

महानगरको हाल करिब साँढे ६ लाखको लागतमा २५ वटा स्टल हुने गरी उक्त किसान बजार संचालनमा आएको किसान बजार निर्माण उपभोक्ता समितिका अध्यक्ष चुडामणि बरालले बताए । उनका अनुसार उक्त बजार दैनिक बिहान ६ बजे देखि ९ः३० बजेसम्म र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म खुल्ला हुने भएको छ । उनले भने “ कृषकहरुले उत्पादन गरेका फलफुल तरकारी तथा अन्नवाली सिधै उपभोक्ताहरुले किन्न पाउनेछन्, जसले गर्दा बिचौलियाले खाने मुनाफा कृषक तथा उपभोक्तालाई नै हुने गर्छ । ” स्थानिय कृषि उत्पादन, प्रबद्र्धन, उपभोक्तालाई स्वच्छ बस्तु उपलब्ध गराउने आफुहरुको मुख्य लक्ष्य रहेको जनाए । पोखराका २०, २१, २२, २३ र १७ वडामा उत्पादन भएका बस्तुहरु किसान बजारमा बिक्रि गर्ने थलोको रुपमा आफुहरुले स्थापित गर्न खोजिएको जनाए ।

यसैबिच, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले उक्त बजारको मंगलबार उद्घाटन गर्दै बिचौलियाको अन्त्य गरी उपभोक्ताहरुलाई ताजा फलफुल तरकारी पु¥याउने उद्धेश्यले महानगरले उक्त बजारमा लगानी गरेको बताए । उनले भने“ हामीले किसानलाई प्रोत्साहन हुने गरी, आम उपभोक्तालाई ताजा र सकेसम्म सहुलियत दरमा बस्तु उपलब्ध गराउने गरी महानगका केही स्थानमा पुनः यस्ता बजार स्थापना गर्ने लक्ष्यमा रहेका छौं । ” यदि कसैले किसान बजारमा मानव स्वस्थ्य माथि खेलवाड गरी अस्वस्थ्यकर फलफुल तरकारी विक्रि वितरण गरेको भेटिएमा कारवाही गर्ने मेयर जिसीले चेतावनी समेत दिएकाछन्। महानगरको कृषि महाशाखाले कृषि बजारलाई ब्यबस्थित पारी कृषकहरुले उत्पादन गरेका बस्तुको समेत ग्यारेन्टी गर्ने भएको मेयर जिसीले जनाए ।

महानगरका कृषि महाशाखा प्रमुख बरिष्ठ बागवानी विकास अधिकृत मनहर कडरियाले हाल किसानहरुलाई निशुल्क स्टलको व्यबस्थाप गरी कृषि बस्तुको बजारीकरण गरिएको बताए । किसानहरुले होलसेलमा बिक्रि गर्ने भन्दा करिब २० प्रतिशतसम्म बढाउने गरी तह बजारमूल्य भन्दा २० प्रतिशत सम्म कम हुने गरि  हाल फलफुल तरकारी तथा हस्तकलाका सामानहरु समेत बिक्रि केन्द्रको रुपमा आफुहरुले प्रबद्र्धन गर्न खोजेको उनले जनाए । काहुँखोला, ठुलीपोखरी, साविक लेखनाथ लगायतको क्षेत्रमा महानगरले किसान बजार स्थापनाको तयारी गरेको महाशाखा प्रमुख कडरियाले जनाए ।

 

कार्यक्रममा भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सचिव दुर्गा दवाडी, पोखरा महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष तिर्थराज अधिकारी, पोखरा १६ का वडा अध्यक्ष जिवन आचार्य, किसान फाँट प्रमुख बैकुण्ठ भण्डारी लगायतले उक्त किसान बजारले कृषि जन्य बस्तुको बजारीकरण हुने विश्वास व्यक्त गरे ।

पोखरा २२ ( पुम्दी भुम्दी) र पोखरा २० भलामका केही कृषकहरुले फलफुल तरकारी बिक्रि वितरणको लागि आफ्नो गाउँ ठाउँमा उत्पादन गरेका बस्तुहरु बिक्रि वितरणको लागि ल्याएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button