बाग्लुङ गलकोटमा ३ रोपनी जग्गामा कागतीखेती

पोखरा न्यूज- ३१, भदौ । बाग्लुङ गलकोट नगरपालिका–९ छिसमा स्थानीय मित्रलाल खरेलले व्यावसायिक रुपमा कागतीखेती शुरु गरेका छन्  । परीक्षणका लागि तीन वर्ष पहिला लगाइएका एक सय कागतीका बिरुवाले राम्रो फल दिन थालेपछि अहिले व्यावसायिक रुपमै कागतीखेती थालिएको ४९ वर्षीय किसान खरेलले बताए ।

गत वर्ष ४ सय कागतीका बिरुवा रोपेर व्यावसायिक रुपमै कागती खेती थालेको उनको भनाइ थियो । २ दशक अघि स्थानीय सरस्वती आधारभूत विद्यालयमा अध्यापन पेशामा आवद्ध खरेल अवकाश पश्चात व्यावसायिक कृषि पेशामा सक्रिय छन् । कागती भारतबाट गाउँमै आयात हुन थालेपछि यसलाई रोक्नका लागि व्यावसायिक कागतीखेती गर्ने चाहना भित्रैदेखि जागृत भएको खरेलले बताए ।

“गाउँमै कागतीखेती सम्भव छ भन्ने लागेर परीक्षण गरे, त्यो सफल भएपछि यही व्यावसायिक उत्पादन गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेको छु”, खरेलले भने ।

मेहनत थोरै गरेर पनि आम्दानी धेरै गर्न सकिने भएकाले कागती खेतीको यस क्षेत्रमा राम्रो सम्भाव्यता देखिएको छ । “कागतीको राम्रो सम्भावना देखेर तीन रोपनी बारीमा व्यावसायीक रुपमा कागती खेती थालेको छु”, उनले भने “वर्षेनी कागतीका बिरुवा थप्दै जाने योजनामा छु ।”

खरेलले गलकोट कृषि तथा पशुपक्षी उत्पादन तथा बिक्री केन्द्र नामको फर्म स्थापना गरी कृषि पेशा थालेका हुन्  । अहिले उनले व्यावसायिक तरुल खेती, जर्सी गाई तथा भैँसीपालन गर्दै आएका छन् । नगरपालिकामा व्यावसायिक रुपमा कागतीखेतीको राम्रो सम्भावना भएकाले नगरले कागतीको बिरुवामा अनुदानको कार्यक्रम समावेश गर्दै आएको गलकोट नगरपालिका–९ का वडाध्यक्ष तेजबहादुर थापाले बताए ।

समुद्री सतहबाट एक हजार ३ सय  मिटरसम्म कागती खेतीको राम्रो सम्भावना भएका कारण नगरपालिकाले गतवर्ष ६ हजार कागतीका बिरुवा अनुदानमा बितरण गरेको नगरपालिकाका कृषि तथा पशु प्राविधिक चिन्तामणि शर्मा गैरेले जानकारी दिए । गलकोटममा मात्रै अहिले पाँच जनाले व्यावसायिक रुपमा कागतीखेती शुरु गर्न लागेको नगरपालिकाले जनाएको छ ।

गलकोट रिघाका दानबहादुर श्रीसले आफ्नो बारीमा अहिले ५ सय कागतीका बिरुवा लगाएका  छन् । कागती स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ भने भिटामिन ‘सि’ का लागि यसको प्रयोग गर्ने गरिएको छ । कागतीको चुक अमिलो उत्पादन, अमिलो अचारकालगायत विभिन्न परिकार बनाउनका लागि कागतीको माग उच्च छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button