पोखराको फेवाताल जलकुम्भी झारले ढाकियो

दीननाथ बराल, पोखरा न्यूज -३१, भदौ । पोखरामा मंगलबार राति आएको बाढीले फेवातालको माथिल्लो भाग जलकुम्भी झारले पुरै ढाकिएको छ ।

फेवाताल भन्दा माथिको  सिरान क्षेत्रमा रहेको जलकुम्भी झारलाई  बाढीले तालमा ल्याएसंगै तालको माथिल्लो भाग जलकुम्भी झारले ढाकिदा जलारीलाई माछा मार्न र डुंगा सयर गर्न डुंगा व्यवसायीहरुलाई कठिनाई भएको डुंगा व्यवसायी बुद्धिबहादुर नेपालीले बताए । बाढीले तालमा रहेको माछा सेक्सनमा समेत  जलकुम्भी सहितको झार पु¥याएको छ । फेवातालको खपैदी देखि रातोडाँडा , गैराकोचौतारा, बंगलादी, हल्लनचोक, बाराहीघाटसम्म जलकुम्भीझारले ढाकिएको छ ।

जलकुम्भी झारका कारण माछा मार्न नपाएपछि जलारीहरुले बाढी पहिरोले तालमा ल्याइपुर्याएका दाउरा संकलन गर्न थालेका छन्। ९२ घरधुरी जलारी परिवारका अधिकाशंको जाल नै बाढीका कारण केही हराएको त केही च्यातिन पुगेको इन्द्र जलारीले बताए । हर्पन फेवा मत्स्य सहकारी संस्थाका सचिव समेत रहेका इन्द्रले तत्काल जलकुम्भी झार नहटाएमा जलारीहरुले माछा मार्न समस्या हुने गरेको बताए । पोखरा महानगरपालिका र अन्य संघ संस्थाहरुको सहयोगमा तत्काल जलकुम्भी झार हटाउनु पर्ने उनले माग गरेका छन्।

दैनिक जसो एक दुई किलो माछा मारेर दैनिकी चलाउदै आएकी सारा जलारीले मंगलबार भने फेवातालमा जलकुम्भी झारले ढाकिए पछि माछाको साट्टो डुंगाको सहायताले फेवातालमा दाउरा संकलन गरेको बताइन ।

मंगलबार बिहान पोखराको बाराहीघाटको पिच सडकसम्म तालको पानी आएको थियो । पोखरा महानगरपालिको जलकुम्भी झार हटाउने मेसिनले जलकुम्भी झार हटाइने पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगतबहादुर पहारीले बताए । उनले भने “ बृहत सरसफाई अभियान अन्तर्गत  यसअघि लगातार तीन हप्ताजसो हल्लनचोक क्षेत्रमा जलकुम्भी झार हटाएका थियौं, हिजो आएको बाढीले फेरी तालमा जलकुम्भी झार ल्याएको छ रे म त गएको छैन् । ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button