तनहुँमा ३ पर्यटकीय पदमार्ग निर्माण

पोखरा न्यूज- ०२, असोज । तनहुँमा ३ वटा पर्यटकीय पदमार्ग निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा भीमाद, व्यास र भानु नगरपालिकामा पर्यटकीय पदमार्ग निर्माण सम्पन्न भएको हो ।

रु ४२ लाखको लागतमा ३ हजार ५ सय ४५ मिटर दूरीको पदमार्ग निर्माण गरिएको भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँका प्रमुख दिवाकर पौडेलले जानकारी दिए । पदमार्ग निर्माण सम्पन्न भएपछि स्थानीय जनता र पर्यटकलाई आवतजावतमा सुविधा पुगेको पौडेलले बताए । पदमार्ग निर्माणका लागि प्रदेश सरकारले रु ३३ लाख सहयोग गरेको थियो भने स्थानीय उपभोक्ताले रु ८ लाख ९७ हजार लागत सहभागिता व्योहोरेका थिए ।

भीमाद नगरपालिका–९ स्थित धन्दुरदेखि इकोपार्कसम्मको ३ हजार मिटरको पदमार्ग रु १९ लाख १८ हजारको लागतमा निर्माण सम्पन्न भएको छ । पदमार्ग निर्माणका लागि प्रदेश सरकारको रु १४ लाख २९ हजार र स्थानीयवासीको रु ४ लाख ८९ हजार लगानी भएको छ । उक्त पदमार्गबाट १३५ घरधुरी लाभान्वित भएका छन् ।

व्यास नगरपालिका-५ स्थित पराशर क्षेत्रमा २ सय ५० मिटरको पदमार्ग रु १० लाख ३४ हजारको लागतमा निर्माण गरिएको छ । पदमार्ग निर्माणका लागि प्रदेश सरकारको रु ९ लाख २९ हजार र स्थानीयको रु १ लाख ५ हजार खर्च भएको छ । पदमार्गबाट ३५० घरधुरी लाभान्वित भएका छन् ।

भानु नगरपालिका–१२ र १३ स्थित बयापानी भञ्ज्याङदेखि कोटकाली भयरथान हुँदै मिर्लुङकोट जाने २९५ मिटर पदमार्ग रु १२ लाख ५५ हजारमा निर्माण सम्पन्न भएको छ । पदमार्गका लागि प्रदेश सरकारको रु ९ लाख ५२ हजार र स्थानीयवासीको रु ३ लाख ३ हजार लगानी भएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button