एउटै वडामा रु २ करोडको आलु उत्पादन

पोखरा न्यूज- ०२, असोज । जिल्लाको दक्षिणी भेगमा पर्ने साकेला गाउँपालिका–३ खिदिमामा यसवर्ष मात्रै रु २ करोड भन्दा बढीको आलु उत्पादन भएको छ । प्रतिकिलो रु ३० मा घरबाटै बिक्री हुने आलु यसवर्ष रु २ करोड २३ लाख १२ हजार ५०० बढीको उत्पादन भएको हो ।

लेकाली भेगमा पर्ने खिदिमाका प्रत्येक घरमा कम्तीमा पनि २५ मुरी (५०० पाथी) आलु उत्पादन भएको स्थानीय किसान गोविन्द तामाङले बताए । “खिदिमामा ४२५ घरधुरी स्थानीयवासी बसोवास गर्छन्”, उनले भने, “अन्यबाली खासै नहुने खिदिमामा प्रत्येक घरले कम्तीमा पनि २५ मुरी आलु उत्पादन गर्छन् ।”

खिदिमामा यसवर्ष साँढे ७ हजार क्वीन्टल भन्दा बढी आलु उत्पादन भएको साकेला गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताए । “आलुबाट मात्रै प्रति घरपरिवारले सरदरमा रु ४३ हजार ७५० भन्दा बढी आम्दानी गरेका छन्”, उनले भने, “पहिलो बालीका रुपमा लगाइने आलु खेतीलाई थप प्रवद्र्धन गर्न गाउँपालिकाको तर्फबाट गत वर्ष रु २ लाख अनुदान उपलब्ध गराइएको थियो ।”

समुद्री सतहदेखि करीब २ हजार फिट अग्लो भू–भागमा पर्ने खिदिममा उत्पादन भएको आलु जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा रु ४० मा खरीद तथा बिक्री हुने गरेको छ । खिदिमाको आलु कम्पोष्ट मल प्रयोग गरेर उत्पादन गरिएकाले खरीद गर्नेको लुछाचुडी नै चल्ने गरेको पाइएको छ ।

खिदिमाको आलु अर्गानिक भएकाले पनि उपभोक्ताको माग सबैभन्दा बढी रहेको दिक्तेलका व्यापारीले बताएका छन् । गाउँमा खासै बिक्री नहुने आलु स्थानीयवासीले गाडीमा हालेर दिक्तेलबजार तथा बाहिरी जिल्ला निर्यात गर्ने गरेका छन् ।

यसअघि तत्कालीन जिल्ला कृषि विकास कार्यालय खोटाङले खिदिमालाई आलुको पकेट क्षेत्र घोषणा गरेर प्रवद्र्धनको काम थालेको थियो । देशमा सङ्घीयता लागूभएसँगै साकेला गाउँपालिकाले पनि उक्त कार्यलाई निरन्तरता दिएको छ ।

आलु उत्पादक किसानलाई सङ्गठित गरेर टोलटोलमा समूहसमेत गठन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गठन गरेको साकेला सोकी किसान समूहले गतवर्ष भस्मे फाँडेर रोपेको ठाउँबाट मात्रै १०० मुरी भन्दा बढी आलु उत्पादन भएको कृषि शाखा प्रमुख राईले बताए ।

१ मुरीमा २० पाथी हुन्छ । पाथीमा साँढे ३ किलो हुने किसानले बताएका छन् । गाउँघरमा पाथीको हिसाबले खरीद तथा बिक्री हुने गरेको छ । खिदिमामा पङ्खदले, खम्बुले, ठ्याङ्ग्रे, भोटाङ्गे, धराने जस्ता रैथाने प्रजातिका आलु उत्पादन हुने गरेको छ । रैथाने प्रजातिको आलु अहिले बजारमा आएको अन्य नयाँ प्रजातिको भन्दा स्वादिलो र पोषिलो हुने किसानको दाबी छ ।

खिदिमलगायत माथिल्लो भेगमा आलुको पकेटक्षेत्र घोषणा गरेर प्रवद्र्धनको काम शुरु गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए । “आलुका लागि हाम्रो गाउँपालिकालाई भूगोलले साथ दिएको छ”, उनले भने, “यसलाई व्यवस्थित र प्रवद्र्धन गर्न गत वर्षदेखि नै योजना बनाएर अगाडि बढेका छौँ ।”

साकेला गाउँपालिकाको खिदिमा, रतन्छा, बाँझेच्यानडाँडा, मात्तिमलगायत माथिल्लो भेगमा आलु उत्पादन हुने गरेको छ । गाउँपालिकाले १ वडा, १ कृषि उत्पादनको नीति बनाएर अगाडि बढेको र खिदिमालाई आलु उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको गाउँपालिका प्रमुख खड्काले बताए ।

५ वटा मात्रै वडा रहेको साकेला गाउँपालिकामा आलु, मकै, गहुँ, धान, कोदो, फापर, फलफूल तथा तरकारी, माछा, मौरी तथा पशपक्षीपालनलगायत फरक/फरक कृषि व्यवसायको पकेट क्षेत्र बनाउने अभियान शुरु गरिएको छ । हरेक वडामा भूगोल अनुसार फरक/फरक व्यवसायका लागि किसान समूह गठन गरेर अभियानलाई तीव्रता दिइएको गाउँपालिकाले जनाएको छ ।

वडास्तरमा २९ वटा किसान समूह गठन गरेर प्रवद्र्धनमा लागेको गाउँपालिकाले हरेक किसान समूहलाई आवश्यक सीप तथा तालीमका साथै बीउबीजन, उन्नत जातको पशुपक्षी, औजार, विषादी र आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । व्यावसायिक कृषिलाई जोड दिँदै आएको गाउँपालिकाले गत वर्ष रु ५३ लाख र स्वीस सरकार अन्तर्गत हेल्भेटासले रु ४५ लाख २८ हजार गरी जम्मा रु ९८ लाख २८ हजार बजेट विनियोजन गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button