विक्रमले प्रमाणित गरे आफुमा लयमा भएको

राजाराम पौडेल, पोखरा न्यूज- ०२, असोज । स्थान पोखरा उद्योग वाणिज्य संघको सभाहल, कार्यक्रमको नाम थियो ‘लयमा विक्रम’। एकल गायन कार्यक्रममा श्रष्टा थिए संगीतकार, गीतकार तथा गायक विक्रम गुरुङ । ३० को दशकमै नेपाली गायन क्षेत्रमा उदाएका उनी लामो समय विदेशमा बसे । कास्कीकै तामागीमा जन्मेर पोखराबाटै गायनारम्भ गरेतापनि विक्रम र पोखराको लामो कम्युनिकेशन ग्यापका कारण नयाँ पुस्ता माझ उनी खासै चिनिएका थिएनन् ।

पोखरा त्यतिबेला सानो थियो । अहिले जस्तो विशाल शहर भइसकेको थिएन । जसले जस्लाई पनि चिन्थे । अन्नपुर्ण व्याण्डमा आवद्ध भएर उनी अगाडी बढे । ५ कक्षासम्म भारतमा पढे । त्यसपछि पोखरामा आए । सानैदेखि गीत सँगीत प्रति उनी आर्कषित थिए । उनका समकालिन हुन् सरुभत्त श्रेष्ठ । अरुण थापा उनका हितैषी थिए ।

अरुण र आफ्नो सम्बन्ध गाँसिएको गीत ‘कतै टाढा तिमी बाट पुगें भने’ बाट गाउन शुरु गरेका बिक्रमले १४ गीत प्रस्तुत गरे । यि गीत मार्फत उनले आफुलाई लयमा भएको प्रमाणित मात्र गरेनन् नयाँ तथा पुराना पुस्ताको मन जिते । उनले अन्तिममा सुनाएको ‘भुलुँभुलुँ लाग्यो मलाई’ गीतलाई दर्शकले गुनगुनाउदै साथ दिए ।

एकल गायन कार्यक्रममा विक्रमलाई वाध्यवादनतर्फ ढोलकमा राजा मुखिया, तबलामा परबिन्दर सिंह, गितारमा मोहन गुरुङ र अमित गुरुङ, बाँसुरीमा बलराम समाल, किबोर्डमा महिपाल लामा र मनोज घले, अक्टोप्याडमा गुप्त गुरुङ र बेस गितारमा अम्बर गुरुङ (पोखरेली) ले साथ दिए ।

गीत सुनाउदा विभिन्न किस्सा जोड्दै दर्शकको ध्यान मात्र खिचेनन् विगतको बारेमा जानकारी पनि दिए । कार्यक्रमको आयोजना गरेको थियो पोखरेली युवा साँस्कृतिक परिवारले । उनको प्रस्तुती हेर्न पोखरा उद्योग वाणिज्य संघको सभाहलमा खचाखच दर्शक भरिएका थिए । झण्डै २ घण्टा सम्म चलेको उनको गायन प्रस्तुती केहि दर्शकले उभिएरै सुने ।

बेलायतकालिन हङकङमा विक्रम गुरुङ शिक्षकका रुपमा गएका थिए । उनले तत्कालिन गोर्खा हाइस्कूलमा अंग्रेजी अध्यापनको साथै संगीतको प्रशिक्षण दिन्थे । उनले अध्ययनको क्रममा काठमाडौं बस्दा र जागिरको सिलसिलामा बूनाई जादा पनि संगीतलाई निरन्तरता दिए । अब रिटार्यड लाइफ पनि संगीतमा नै सर्मपित गर्न उनी खोज्दैछन् ।

एकल गायन प्रस्तुत गर्दा उनले अरुणलाई धेरै सम्झिए । हुनत अरुण थापालाई गायक बनाउनमा बिक्रमको ठुलो हात छ । अरुणका बुबा गुञ्जबहादुर थापा उ बेला नेपाल बैंकका म्यानेजर थिए । त्यसैले अरुणलाई काम गर्न मन पर्दैनथ्यो । बिक्रमले अरुणलाई पहिलोचोटी साथीमार्फत भेटेका थिए । पोखराको संगीतलाई शिरोधार गर्न त्यतिबेला डाँफे कला मन्दिर थियो जहाँ अरुणले हिन्दी नेपाली गीत गाउने गर्थे । विस्तारै उनीहरुको सम्बन्ध नजिकिंदै गयो । वि.सं २०३४ सालमा स्थापना भयो पोखरेली युवा साँस्कृतिक परिवार । संस्थापक सह—सचिव बिक्रम थिए भने अरुण थापा सदस्य । यसरी उनीहरु अगाडी बढेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button