सिपिएलमा बार्बाडोस ट्राइडेन्ट्सको जीत, सन्दीपलाई एक विकेट

शुब्रत ढकाल, पोखरा न्यूज – ०४, असोज । सेन्ट लुसिया जुक्सलाई ७१ रनले पराजित गर्दै बार्बाडोस ट्राइडेन्ट्सले क्यारेबियन प्रिमियर लिगमा आफ्नो दोस्रो जीत दर्ता गरेको छ ।

आज बिहान भएको खेलमा ट्राइडेन्ट्सले पहिले ब्याटिङ गर्दै जस्टिन गृभ्सको अर्धशतकीय ५७(४५) र जोनाथन कार्टरको ३०(२१) रनको मद्दतले १ सय ७२ रनको चुनौतीपूर्ण योगफल खडा गर्यो ।

बलिङतर्फ जुक्सका केसृक विलियम्सले ४ विकेट लिए पनि आफ्नो ४ ओभरमा ४४ रन खर्चिए भने ओबेड मकोएले ३ ओभरमा १९ रन खर्चेर २ विकेट चट्काए ।

जवाफमा १७३ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रेको जुक्सको पारी पावरप्लेमै धर्मराउन पुग्यो । पहिलो ६ ओभरमै ४ विकेट गुमाएको जुक्सका लागि केवल ३ ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाए र अनन्त १ सय १ रनमै अलआउट हुन पुग्यो ।

उसका लागि हार्डुस भिल्ओएनको ३१(२१) रन नै सर्वाधिक बन्दा कोलिन डी ग्रान्डहोमले पनि २८ रनको पारी खेले । बलिङतर्फ भने ट्राइडेन्ट्सका सबै बलरले राम्रो खेल प्रदर्शन गर्दा जेसन होल्डर र होसुआ विसोपले २-२ विकेट लिए ।

खेलमा नेपालका सन्दीप लामिछानेले पनि ३.५ ओभर बलिङ गर्दै एक विकेट हासिल गरे । उनले २९ रन खर्चिदै हार्डुसको महत्त्वपूर्ण विकेट लिएका थिए । सन्दीपको ओभरमै कोलिन डी ग्रान्डहोमको क्याच छुटेको थियो भने उनैको ओभरमा ग्रान्डहोम रनआउट भएका थिए ।

अब ट्राइडेन्ट्सले आफ्नो अर्को खेलमा पर्सि गुएना अमेजन वारियर्सको सामना गर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button