दर्शकको आँखाबाट ‘कबड्डी कबड्डी कबड्डी’

शुब्रत ढकाल, पोखरा न्यूज – ०४, असोज ।  जिब्रोमा चटपट, प्रेममा छटपट र बिहेमा खटपट नपरे स्वाद पर्दैन भन्छ्न् । त्यसैले सायद स्वादे जिब्रोका लागि रेसिपी झै बनाउन खोजिएको छ कबड्डी कबड्डी कबड्डी । फलस्वरुप असोज ३ गते देखि प्रदर्शनमा आएको कबड्डी कबड्डी कबड्डीले पहिलो दिन हलमा  खचाखच माया पनि पायो ।

मुस्ताङको नौरीकोट, घान्द्रुक  गाउँ र पोखरा आसपासका क्षेत्रलाई क्यामरामा कैद गराएर घुमाउदै  मायाप्रेमका कथावस्तु समेटेर प्रस्तुत गरिएको परिवारिक हाँस्य कथाले दर्शकलाई दुई घन्टालाई  भरपुर  मनोरञ्जन पस्केको छ ।

दयाहाङ राईको सदाबहार लोकल स्टाइल अनि अजम्बरी माया, उपासना सिंह ठकुरीको सौन्दर्य र कथाले मागे जति अभिनय, विल्सनविक्रम राईको काजी सनक, कर्माको भाग्य र कर्म, अनि माओत्से गुरुङ र लुनिभा तुलाधरको खटपटे दाम्पत्य जीवनको  कथाले चलचित्रलाई पुर्ण पारेको छ । यसका अलावा सहायक पात्रहरुको रोचक प्रस्तुती अनि बेला बेलामा टुच्च टुच्च आउने घोचक डाइलगले चलचित्र अझ रमाइलो बनेको छ ।

परम्परागत नेपाली शैली र प्रस्तुतीकरण भन्दा अलि माथि उठेर पृथक ढङ्गमा चलचित्र प्रस्तुत गर्न खोजिए पनि कथावस्तु, एन्डिङ लगायतका पाटाहरुमा भने चलचित्रले पुरानै बाटो समात्न खोजे जस्तो लाग्छ । प्राविधिक रुपमा भने निकै सबल देखिएको कबड्डी ३ को साङ्गीतिक प्रस्तुती पनि सुहाउँदो र सन्दर्भ सामयिक नै पाउन सकिन्छ । मौलिक संस्कृति, भेषभुसा अनि रीतिलाई समेट्दै आफ्नै आशपासको प्राकृतिक सौन्दर्य क्यामेरामा कैद गर्न सफल चलचित्रले दर्शकलाई रिलबाटै एक सानो भ्रमणमा समेत लैजान सफल भएको मान्न सकिन्छ ।

नेपाली दर्शकको नेपाली चलचित्र प्रतिकै ‘सिद्धान्त डगमाउने’ खालको चलचित्र नबने पनि चलचित्रबाटै दर्शकले भरपुर मनोरञ्जन भने लिन सक्छन भन्ने कबड्डी ३ ले प्रमाणित गरेको छ । यस अर्थमा चलचित्र बिदाको सिजनमा परिवारसँग रमाइलो दुई घन्टा बिताउने गज्जबकै टाइमपासु बनेको मान्न सकिन्छ ।

कबड्डीको अर्को  सिक्वेललाई मध्येनजर गरेर  चलचित्रलाई  दर्शकले अनुमान गरेको  भन्दा फरक तवरबाट जवरजस्ती  धकेलेर बिट मारिएको हो कि भन्ने  भान भने दर्शकलाई हुन्छ  । यसरी हेर्ने हो भने  कबड्डीको सिक्वेल  ४ को कथामा  दयाहाङ राईको पछाडी दुवै नायिका रिश्मा गुरुङ (मैया)  लाई उपासना सिंह ठकुरीलाई  दौडाउने तयारी हो कि भन्ने भान पनि हुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button