पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निमार्ण कार्य ४७ प्रतिशत सम्पन्न

दीननाथ बराल, पोखरा न्यूज- ४, असोज । अर्थ मन्त्री डा. युवराज खतिवडाले पोखरामा निर्माण हुदै गरेको राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थलको शनिबार अवलोकन गर्दै निर्माण कम्पनीलाई गुणस्तरमा थप ध्यान दिदै निर्धारित समयमा काम सक्ने गरी निर्माण कार्यलाई तिव्रता दिन आग्रह गरेकाछन्।

पोखरामा ठुला जहाज समेत आउन सक्ने सम्भावनाको जिज्ञासा राखेका मन्त्री खतिवडालाई पोखरा क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थल निमार्ण आयोजनका प्रमुख विनेस मुनाकर्मीले विमानस्थलको सम्भावना सहित  विमानस्थल निर्माणको प्रगती विवरण पेश गरेका थिए ।

३ हजार मिटर लम्वाइको रन वे बनाउदा के हुन्छ भन्ने मन्त्री खतिवडाको प्रश्नमा प्रमुख मुनाकर्मीले पोखरामा ३ हजार मिटरको रनवे बनाउदा पनि प्राविधिक हिसावले ठुला वोइङ जहाज आउने सम्भावना कम भएको जनाए । प्रमुख मुनाकर्मीले पोखरामा बस्तीको बिचमा विमानस्थल भएको र पोखरा वरिपरि डाँडाहरु भएको हुनाले पनि ठुलो जहाज भन्दा मध्यम प्रकृतिको जहाज नै उपयुक्त हुने बताएका थिए ।

२ हजार ५ सय मिटरको रन वे तयार भएको बताउदै प्रमुख मुनाकर्मीले थप रन वे भन्दा इन्दर स्टरेज, ह्याङगर लगायतको लागि थप एक सय ३० रोपनी जग्गा अधिग्रह गर्नुपर्ने आवश्यक भएको बताएका थिए । उक्त परियोजनाको करिब ४७ प्रतिशत निमार्ण कार्य सम्पन्न भएको मुनाकर्मीले बताए । हालसम्म ९५ प्रतिशत जग्गा मुआब्जाको बिषयमा टुंगो लागेको बाँकी ५ प्रतिशत विभिन्न कारणले गर्दा रहेको उनले जनाए ।

चानिइज सिएएमसी कम्पनिले निर्धारित मिति सन् २०२१ जुलाइ १० भन्दा करिब ६ महिना अघि काम सक्ने गरी निर्माण कार्यलाई तिव्रता दिएको प्रमुख मुनाकर्मीले बताए । उक्त परियोजनामा हालसम्म करिब ८ अर्ब ५० करोड रुपैया निर्माण कम्पनीलाई भुक्तानी गरेको उनले जनाए । पोखरा विमानस्थलको पेरीफेरीमा सडक निर्माण सहितको भौतिक संरचनाको समेत काम हुदै गरेको प्रमुख मुनाकर्मीले बताए ।

थप जग्गा अधिग्रहण गर्दा करिब ५१ करोड खर्च भएको र बाँकी केहीको लागि थप ६ करोड आवश्यक भएको उनले बताए । उक्त निर्माणमा थप केही समस्या रहेको उनले बताए । मन्त्री सामु प्रमुख मुनाकर्मीले त्यहाँको जमिन खन्दा कडा माटो देखा परेको जसलाई खन्दा ढुंगा फोर्ने मेसिन प्रयोग गर्नु परेको र केही सुकुम्बासी समस्या समेत रहेको उनले जनाए ।

परियोजनामा १४ वटा विभिन्न भवनहरुको निर्माण हुने क्रममा हालसम्म अधिकाशं भवन निर्माण भएको प्रमुख मुनाकर्मीले बताए । रनवे, ट्याक्सि वे, ह्याङगर सहितको केही संरचना हाल निर्माण कार्य सकिएको टर्मिनल भवन, टावर लगायतका भवनको फाउण्डेसनको काम सकिएसंगै अब स्टिल स्टक्चरको काम सुरु भएको उनले जनाए । रिठ्ठेपानीको डाँडा कटान समेत सुरु भएको उनले जनाए । स्थानिय सरोकार निकायसंग समन्वय गरी २४ मिटर डाँडा कटान गनिने भएको उनले जनाए । विमान उडानमा असर गर्ने भएकोले उक्त डाँडा कटान सुरु भएको हो ।

पोखरा विमानस्थलको रिङरोडको लागि १० किलोमिटर सडक निमार्ण गर्ने प्रमुख मुनाकर्मीले बताए । पोखरा विमानस्थल करिब २२ अर्वको लगानीमा सन् २०२१ जुलाइ १० भित्र सकिने गरी चाईनिज कम्पनीले हाल निमार्ण कार्यलाई तिव्र पारेको छ । अर्थ मन्त्रालयसंग सहायक ऋण सम्झौता भएसंगै २०१७ को जुलाई ११ ९२०७४ असार २७ गते०बाट निमार्ण कार्य सुरु भएको हो । ५ प्रतिशत व्याजदरमा २० बर्षको अवधिमा २६ किस्ता तिर्ने गरी ऋण सम्झौता भएको थियो । सुरुको ७ बर्ष भने (ग्रेस अवधी) कुनै किस्ता तिर्न पर्दैन भने त्यस पछि १३ बर्षसम्म ६/६ महिनामा किस्ता तिर्नुपर्ने हुन्छ ।

यसैबिच, पोखरा विमान्स्थलमा चाईनिज सिएएमसी कम्पनिका जनसम्पर्क अधिकृत कृष्ण प्रसाद चापागाई, प्रमुख मुनाकर्मी सहितको टोलीले मन्त्री खतिवडालाई स्वागत समेत गरेका थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button