दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको अध्यक्षमा सुरेन्द्र गुरुङ निर्वाचित

आर.आर. पौडेल , पोखरा न्यूज – ४ असोज । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र गुरुङ निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको निर्वाचनमा उनले अध्यक्षका अर्का प्रत्यासी सिता केसीलाई ३८ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित बनेका हुन् ।

निर्वाचित बनेका सुरेन्द्रले १ सय ३३ मत प्राप्त गर्दा पराजित सिताले ९५ मत प्राप्त गरिन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा १ सय १८ मतका साथ पुर्ण परियार विजयी बने । उनका निकतम् प्रतिद्धन्दी अमर धितालले १ सय ८ मत ल्याए । १ सय १ मतका साथ प्रथम उपाध्यक्षमा केशव देवकोटाले बाजी मारे । प्रथम उपाध्यक्षका उम्मेदवार शिवहरी ढुंगानाले ८८ र जय कुमार परियारले ३३ मत ल्याए । १ सय १४ मतका साथ आरसी पौडेल द्धितिय उपाध्यक्षमा विजयी भए । द्धितिय उपाध्यक्षका उम्मेदवार प्रेमराज अधिकारीलले १ सय १० मत प्राप्त गरे । कोषाध्यक्ष पदमा ईन्द्रा गुरुङ ९८ मतका साथ विजयी हुँदा सोही पदका उम्मेदवार केशव घिमिरेले ५७ र शंकर पन्तले ६१ मत प्राप्त गरे । सह–सचिव पदमा १ सय २३ मतका साथ ज्योती लोहनी र १ सय ५९ मतका साथ राम्जी पौडेल विजयी बने । सोही पदका उम्मेदवार अमित विश्वकर्माले १ सय १ मत प्राप्त गरे । दूई सहसचिव पदका लागि ३ जनाको उम्मेदवारी परेको हो । सह–कोषाध्यक्ष पदमा १ सय २३ मतका साथ कृष्ण सुवेदी विजयी भए । सोही पदका उम्मेदवार ईश्वर सिँहले १ सय मत प्राप्त गरे ।

अन्य बाँकी भने सर्वसम्मत चुनिएका थिए । सर्वसम्मत हुनेहरुमा महिला उपाध्यक्षमा माया गुरुङ, सचिवमा राजन कार्की, महिला सचिवमा मञ्जु विक, यसैगरी सदस्यमा सरस्वती लामिछाने, मिलन सापकोटा, विष्णु कुमार वाग्ले, दिपक पौडेल, रतिमाया खड्का, प्रेम बस्याल, विमल जिसी, प्रदिप त्रिपाठी, अनिता पन्त, युवराज भण्डारी, गोविन गुरुङ, निश्चल थापा मगर, होम बहादुर गुरुङ, रित कुमार श्रेष्ठ, सिता परियार, जय नारायण लम्साल, हिरन थापा मगर र सविना केसी रहेका छन् ।

को हुन् अध्यक्षमा निर्वाचित सुरेन्द्र गुरुङ

कास्की जिल्लाको दाङसिङ गाउँ विकास समिति वडा नं. ५ विरेठाटीमा वि.स.२०४६ मंसिर ४ गते जन्मेका गुरुङ लोक दोहोरी क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न सक्रिय बन्ने बताउँछन् । बुबा मेख बहादुर र आमा चेलीमाया गुरुङको कान्छो सन्तानको रुपमा जन्मिएका उनको बाल्यकाल भने भारतको कलकत्तामा बित्यो । बुबा इण्डियन आर्मीमा भर्ती भएकोले उनले प्राथमीक शिक्षा समेत आर्मी स्कुलमा लिए । त्यहाँ पढ्दा आर्मी सम्बन्धि एमसिसि कोर्ष पुरा गरे । कक्षा १० उत्तिर्ण पश्चात सोतह आर्मीमा भर्ती हुने अवसर भएपनि उनले यो अवसरलाई खेर फाले । आमा विरामी भएको कारण आमासँगै वि.स.२०५९ मा नेपाल फर्किएका उनी विरेठाटी माविमा कक्षा ७ मा भर्ना भए । त्यसो त कलकत्तामा पढ्ने क्रममा साँगीतिक कार्यक्रममा सहभागीता उनले जनाउथे । नेपाल आउँदा उनलाइ पुरा नेपालीमा बोल्न आउदैनथ्यो । हिन्दि र नेपाली भाषा मिसाउदै उनी कुरा गर्थे । विस्तारै उनले नेपाली भाषमानै कुरा गर्न सक्ने भए । उनको लगाव गुरुङ संस्कृति प्रति देखिन थाल्यो । गाउँमानै क्लवमा आवद्ध हुदै साँस्कृतिक कार्यक्रममा सहभागीता मात्र नभएर सामाजिक कार्यमा समेत सक्रिय बन्न थाले । रोधीमा आफ्नो प्रस्तुती सुनाउन थाले । रोधी र अन्य गाउँमा आयोजना हुने कार्यक्रमले उनको प्रस्तुतीमा निखारता प्रदान गर्दै लग्यो । एक्यापले आयोजना गरेको वातावरण संरक्षण सम्बन्धि कार्यक्रममा चेतनामुलक गीत मात्र नभएर स्कुल स्तरिय र गाविस स्तरिय कार्यक्रममा भाग लिइ पुरस्कार जित्न थाले । यसले उनमा उत्साह थपिदियो ।

वि.स.२०६१ सालमा सितल साँस्किृतिक कला केन्द्रको आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रममा आयोजित लोक दोहोरी प्रतियोगीतामा भाग लिन उनलाई मन लाग्यो । उनले साथी अञ्जु रामदाम सँग सल्लाह गरे । प्रतियोगीतामा भाग लिन दुवै सहमत त भए तर साथमा १० रुपैयाँ मात्र । टिम दर्ता गर्न ३ सय रुपैयाँ चाहिने । घरमा मागेर पैसा पाउन सहज थिएन । अनी अञ्जु रामदामले घरमा पालेको कुखुराको पोथी र गुरुङले घरमा भएको एक पाथी कोदो चोरेर ल्याएर कुल ३ सय रुपैयाँ जम्मा गरी टिम दर्ता गराए । २१ टिमले सहभागीता जनाएको यो प्रतियोगीतामा उनीहरु उपविजेता बनेका थिए । यसले सुरेन्द्रमा केहि गर्न सक्छु भन्ने आत्मबल बढेर गयो । अनि दाङसिङ गाविसको प्रतिनिधित्व गर्दै विभिन्न प्रतियोगीतामा भाग लिइ पुरस्कार जिते ।
वि.स. २०६४ सालमा उच्च शिक्षा अध्ययनको लागि उनी पोखराको पृथ्विनारायण क्याम्पस भर्ना भए । क्याम्पसमा आयोजना हुने साँगीतिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी हुन थाले ।

उनले जनजाती विद्यार्थी महासंघको सदस्य हुदै कोषाध्यक्ष, उपाध्यक्ष र अध्यक्ष भएर काम गरे । फलस्वरुप कलाकारिता क्षेत्रका व्यक्तिहरुसँगको चिनजानमा वृद्धि भयो । विभिन्न कार्यक्रममा अवसर पाउन थाले । उनी वि.स.२०६५ मा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियु तर्फबाट पृथ्विनारायण क्याम्पसको स्ववियु कार्यसमितिको सदस्य चुनिए । साँगीतिक क्षेत्र र राजनीतिक दुवै क्षेत्रमा क्रियाशिलताका साथ उनी लागे । आफ्नो प्रस्तुतीमा परिपक्कता ल्याउन केहि समय डा.मितु पाल र दिलिप गायक सँग संगीत पनि सिके । प्रतियोगीता भाग लिने क्रम बढ्दै गयो । यहि क्रममा लोक दोहोरी कलाकार प्रजापती पराजुली, पुरुषोत्तम न्यौपाने, माया गिरी प्रतिष्ठानमा आवद्ध हुन उनलाई आग्रह गरे । उनीहरुको आग्रह स्विकार्दै वि.स.२०६४ मा लोक दोहोरी गीत प्रतिष्ठान कास्कीको सदस्यता लिएका उनी वि.स.२०६६ मा प्रतिष्ठान गण्डकीको मनोनित सदस्य बने । प्रतिष्ठान गण्डकीको सह–सचिव, सचिव हुदै महासचिव रहेका उनी गण्डकी प्रदेश तदर्थ समितिकोको कोषाध्यक्ष रहेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button