तनहुँमा लक्ष्यभन्दा बढी बाख्रा उत्पादन

कृष्ण न्यौपाने, पोखरा न्यूज – ०६, असोज । तनहुँको बन्दीपुर गाउँपालिकास्थित बाख्रा अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्न सफल भएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा केन्द्रले लक्ष्यभन्दा ३७ वटा बाख्रा बढी उत्पादन गरेको हो ।

केन्द्रका वरिष्ठ प्राविधिक डा शिवहरि घिमिरेले उक्त वर्ष २ सय बाख्रा उत्पादन गर्ने लक्ष्य रहे पनि २ सय ३७ वटा बाख्रा उत्पादन भएको जानकारी दिए । घिमिरेका अनुसार उत्पादन भएका बाख्रामध्ये १ सय २७ पाठा र १ सय १० वटा पाठी रहेका छन् । “लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्न सफल भएका छौँ”, घिमिरेले भने, “यो केन्द्रको सफलता हो ।”

चालू आर्थिक वर्ष २०७६/७७ मा केन्द्रले २ सय ९० वटा बाख्रा उत्पादन गर्ने लक्ष्य राखेको छ । “यही वर्ष ८० बोयर जातको बोकासमेत उत्पादन गर्ने लक्ष्य लिएका छौँ”, घिमिरेले भने । गत आर्थिक वर्षमा उत्पादित बाख्रामध्ये १ सय १३ पाठी प्रजननयोग्य रहेका छन् ।

घिमिरेले अनुसन्धान केन्द्रमा बोयर जातको बोकाको माग उच्च रहेको बताए । बोयर जातको बोकाको नेपालमा बढी रुचाइएको कारण यसमा माग बढेको घिमिरेले जानकारी दिए । “स्थानीय जातको भन्दा बोयर जातको बोकाको माग बढी छ, जमुनापानी, खरी जातको बाख्राको माग पनि उत्तिकै छ ।”

केन्द्रमा हाल विभिन्न जातका ४ सय ९७ बाख्रा रहेका छन् । जसमा १ सय ७० माऊ छन् भने बाँकी बोका र पाठापाठी रहेको केन्द्रले जनाएको छ । बाख्राको अनुसन्धानका लागि केन्द्रले प्रदेशका विभिन्न पाँच स्थानमा स्रोत केन्द्र स्थापना गरेको छ । केन्द्रका अनुसार जिल्लाको आँबुखैरेनी गाउँपालिकास्थित बरादी र भानु नगरपालिकास्थित बरभञ्ज्याङ, गोरखाको बकान, स्याङ्जाको पेकुठाना र नवलपुरको नयाँबेलहानीमा स्रोत केन्द्र स्थापना गरी बाख्रा उत्पादन हुँदै आएको छ ।

कर्मचारी अभावका कारण केन्द्रले सोचेअनुरुपको प्रगति गर्न नसकेको बताइएको छ । कूल २५ कर्मचारीको दरबन्दी रहेको केन्द्रमा नौ जना मात्रै कर्मचारी कार्यरत छन् । “दरबन्दीभन्दा १६ जना कम कर्मचारीको भरमा केन्द्र चलेको छ”, घिमिरेले भने ।

अनुसन्धान केन्द्रमा कर्मचारीबाहेक बाख्राको रेखदेख, बाख्रा चराउन, घाँस काट्नका लागि तीस जना कर्मचारी ज्यालादारीमा राखिएको छ । कूल ८० हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रमा बाख्राका लागि आवश्यक पर्ने डालेघाँस, भुइँघाँसको खेती गरिएको छ । बाख्रालाई विशेष गरेर नेपियर, मोलाटो, सेटारिया, सिग्नल घाँस, किम्भु खनायो लगायतका घाँस खुवाउने गरिएको छ ।

देशका विभिन्न जिल्लाबाट केन्द्र भ्रमणका लागि आउने गरेका छन् । कृषि, पशुपालन, वन विज्ञानका विद्यार्थी अध्ययन तथा अवलोकन भ्रमण लागि आउने गरेको केन्द्रको मन्त्री, सांसदलगायत विभिन्न पार्टीका नेताहरुले समेत अवलोकन गर्ने गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button