आफै लहरी छुट्ने ढोरबाराही मन्दिरको गुरुयोजना तयार

पोखरा न्यूज – ०७, असोज । आफै लहरी छुट्ने ढोरबाराही मन्दिरको सर्वाङ्गीण विकासका लागि गुरुयोजना तयार गरिएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ बजस्थलमा अवस्थित यस मन्दिरलाई हिन्दु धर्मावलम्बीको आस्थाको धरोहर बनाउने उद्देश्यसहित ढोरेली सेवा समाज काठमाडौँले गुरुयोजना बनाएको हो ।

चारैतिरबाट जङ्गलले घेरिएको पहाडको बीचमा अवस्थित मन्दिर परिसरमा १५ फिट फराकिलो पोखरी र पोखरीको बीचमा दुई जोर शिला छन् । पोखरीमा पन्ध्र/पन्ध्र मिनेटको अन्तरालमा छुट्ने रहस्यमयी लहरी (पानी घटबढ) ले यस मन्दिरको महिमा र आस्थालाई अझ उँचो राख्न सहयोग पुर्याएको सरोकारवाला बताउँछन् ।

धार्मिक महत्व बोकेको मन्दिरको चौतर्फी विकासका लागि पञ्चवर्षीय रणनीतिक योजना निर्माण गरिएको ढोरेली सेवा समाज काठमाडौँका अध्यक्ष रणबहादुर रावतले जानकारी दिए । गुरुयोजनामा मन्दिरको विकासका लागि आगामी पाँच वर्षमा रु १४ करोड २७ लाखको बजेट प्रस्ताव गरिएको छ ।

गुरुयोजनामा मन्दिरको प्राकृतिक स्रोत संरक्षणका लागि रु ४ करोड ९५ लाख, धार्मिक ऐतिहासिक एवं सांस्कृतिक सम्पदा संरक्षणका लागि रु ८२ लाख २५ हजार, सामाजिक एवं आर्थिक उन्नतिका लागि रु एक करोड ५५ लाख ५५ हजार, पूर्वाधार विकासका लागि रु तीन करोड ९३ लाख ३५ हजार, फोहरमैला व्यवस्थापनका लागि रु २२ लाख ९० हजार, पर्यटन विकासका लागि रु एक करोड ४७ लाख १० हजार र संस्थागत विकासका लागि रु ४८ लाख बजेट आवश्यक पर्ने देखिएको उल्लेख गरिएको छ ।

गुरुयोजना निर्माण समितिका संयोजक एकराज सिग्देल जिल्लाको मात्रै नभई गण्डकी प्रदेशकै धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकसित भइरहेको मन्दिर क्षेत्रको सामाजिक, आर्थिक र वातावरणीय महत्वलाई उजागर गर्न गुरुयोजना निर्माण गरिएको बताउछन  ।

गुरुयोजनाले मन्दिरको दिगो संरक्षणका लागि मन्दिरको पश्चिमतर्फ ३८ हेक्टर जमीनमा फैलिएको कुखुरे टोल विकास समितिलाई जैविक खेतीको पकेट क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिएको छ । गुरुयोजनामा भनिएको छ – “जलाधारमा आधारित योजना बनाएर अघि बढेमा मन्दिरमा हुँदै आएको लहरी दिगो रुपमा सञ्चालन हुन सक्छ,” सिग्देलले भने – “मन्दिरको माथिल्लो क्षेत्रमा वृक्षरोपण र पोखरी संरक्षण नगरे भविष्यमा लहरी बन्द हुन सक्छ । त्यसतर्फ ध्यान दिनुपर्छ ।”

गुरुयोजनामा कुण्डभित्रको पर्खालको परम्परागत शैलीमा पुनःनिर्माण गर्नुपर्ने, मन्दिर वरपर पर्यटकीय पदमार्ग बनाउनुपर्ने, मन्दिरमा राखिएका घण्टहरु व्यवस्थित गर्नुपर्ने, बाटो कालोपत्र गर्नुपर्ने, प्रतीक्षालय र सिँढी लगायतका संरचना निर्माण गर्नुपर्ने तथ्यलाई प्राथमिकतामा राखिएको छ ।

प्रत्येक पन्ध्र मिनेटमा रहस्यमय ढङ्गले चल्ने पानीको लहरीले ढोरवाराही मन्दिर क्षेत्रको महिमा र महत्व उच्च बनाएको शुक्लागण्डकी नगरपालिका-९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिए । “प्राकृतिक रूपमा पानी आउन बन्द हुने र फेरि पानीको ठूलो लहरी छुट्ने कारण यस क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्वलाई बढाएको छ,” श्रेष्ठले भने । मन्दिर व्यवस्थापन समिति नहुँदा व्यवस्थापन र योजना अगाडि बढाउन समस्या हुँदै आएको श्रेष्ठले गुनासो गरे ।

हिमवत्खण्ड पुराणमा समेत चर्चा गरिएको ढोरबाराही मन्दिरमा देवीको चतुर्वाहु मूर्ति समेत पाइन्छ । यस मन्दिरमा विसं १९०४ सालदेखि चढाइएका घण्टहरू समेत रहेका छन् । मन्दिरका पुजारी चिरञ्जीवी लम्साल ढोरबाराही माता प्रशन्न हुँदा लहरी छुट्ने किंवदन्ति रहेको बताउछन । उनका अनुसार पोखरीको मूलबाट पानीको ठूलो भल आउने र एकैछिनमा फेरि स्वतः घट्दै जान्छ । यस पोखरीमा लहरी छुट्नुलाई धार्मिक आस्थासँग तुलना गर्छन लम्साल ।

लम्सालले भने – “विगत धेरै वर्षदेखि मन्दिर परिसरमा रहेको पोखरीबाट लहरी छुट्ने गरेको छ । यसलाई महत्वपूर्ण दैवी शक्तिका रुपमा मानिँदै आइएको छ । कसरी लहरी छुट्छ अहिलेसम्म कसैले पत्ता लगाउन सकिएको छैन ।” विसं २०४२ देखि २०४६ सम्म पोखरीमा लहरी छुट्न बन्द भएको थियो । त्यसयता निरन्तर छुटिरहेको लहरी विसं २०६६ साउनमा आएर बन्द भएको स्थानीयवासी शिवशङ्कर बानियाँ बताउछन । उनले भने – “विसं २०७२ को विनाशकारी भूकम्प गएको केही दिनमा एकपटक मात्रै छुटेको लहरी त्यसपछि असारयता भने निरन्तर छ ।’

उक्त पोखरीमा हिउँदयाममा केही समय लहरी छुट्दैन । हिउँदको समयमा ढोरबाराही माता माइत जाने भएकाले लहरी नछुट्ने कथन छ । पोखरीको लहरी छुट्ने द्वारमा रजबाम बस्ने गर्दछ । रजबाम विशेष गरी लहरी छुट्ने बेला पोखरी बाहिर निस्कने र उक्त समयमा रजबामको दर्शन गर्दा शौभाग्य प्राप्त हुने विश्वास रहिआएको छ ।

मन्दिरका पुजारी लम्सालका अनुसार मन्दिर जीर्णोद्धारका क्रममा फेला परेका घण्टाहरुमध्ये एउटा घण्टामा नेवारी भाषामा नेपाल संवत ९ सय ६७ लेखिएको पाइएको छ । “यसैको आधारमा पनि मन्दिरले धार्मिक र ऐतिहासिक महत्व बोकेको प्रमाणित भएको छ,” लम्सालले भन्नुभयो ।

मन्दिरमा नयाँ वर्षको दिन, वैशाख महीनाभर, बडादशैँ, चैतेदशैँको नवदुर्गा अवधिभर, श्रीपञ्चमी र हिउँदयाममा विशेष पूजाअर्चनाका लागि दर्शनार्थीको भीड लाग्ने गर्दछ । एकादशी, औँशी, सोर्हश्राद्ध, तीजको पञ्चमी तथा साउन महिनाभर मन्दिरमा पशुबलि दिइँदैन । मनोकाँक्षा पूरा हुने जनविश्वासका साथ ढोरबाराही मन्दिरको दर्शनका लागि तनहुँका साथै छिमेकी कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवन लगायतका जिल्लाबाट भक्तजन आउने गरेका छन् ।

गुरुयोजना प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण

समाजले तयार गरेको मन्दिरको गुरुयोजना प्रदेश सरकार र स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । समाजले उक्त मन्दिरको गुरुयोजना गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, प्रदेश सांसद आशा कोइराला, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङलाई हस्तान्तरण गर्दै मन्दिरको विकासका लागि बजेट विनियोजन गर्न माग गरेको छ ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गुरुङले मन्दिरको विकासका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता जनाउँदै मन्दिरलाई गण्डकी प्रदेशको प्रमुख धार्मिक तीर्थस्थल बनाउनुपर्नेमा जोड दिए । शुक्लागण्डकी नगरपालिकाका प्रमुख गुरुङले गुरुयोजना अनुसार मन्दिरको सर्वाङ्गीण विकासका लागि स्थानीय सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाएव।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button