च्यारिटिको भरमा गुरुङ चलचित्र, लगानी उठाउनै मुस्किल !

आर.आर. पौडेल, पोखरा न्यूज – ०८, असोज । गुरुङ चलचित्रको लागत ४० लाख नाघ्न थालिसक्यो । तर अहिलेसम्म गुरुङ चलचित्र च्यारिटि सो को भरमा अगाडी बढेको छ । लगानी अझै बढ्दै छ । चलचित्रमा गरेको लगानी उठाउन निर्मातालाई फलामको चिउरा चपाउन सरह हुन थालिसक्यो । नियमित हलको व्यवस्था नहुँदा चलचित्रमा गरेको लगानी उठाउन निकै मुस्किल छ । किनकी यसका निश्चित दर्शक छन् । स्रोत, साधन, दर्शक सिमित छन् । सिमितताका बिच गुरुङ चलचित्र अगाडी बढीरहेको छ । मुलधारका नेपाली चलचित्रसँग प्रतिष्पर्धा गरी आफ्नो उपस्थिती दरिलो पार्नुपर्ने अवस्था अहिलेको आवश्यकता हो । तर गुरुङ चलचित्र एक आपसमानै भिड्ने गरेका छन्

हुनत गुरुङ चलचित्रले २४ वर्षको लामो इतिहास बनाइसकेको छ । चलचित्र निर्माणको लामो समय भएपनि गुरुङ चलचित्रको बजार भने त्यति सुखद देखिदैन । हालसम्म विशेषत च्यारीटि सो ले नै गुरुङ चलचित्रको क्षेत्रलाई धानेको छ । चलचित्र निर्माण गरेपछि विभिन्न ठाउँमा च्यारिटि सो गरेर लगानी उठाउने क्रमकै निरन्तरता गर्नु बाध्यता यहाँ देखिन्छ । विदेशमा रहेका गुरुङ समुदाय र नेपालमा गुरुङ बाहुल्य क्षेत्रमा रहेका ठाउँमा चलचित्र प्रर्दशन गर्दै गुरुङ चलचित्र धानिदै आएको छ । भाषा, संस्कार, भेषभुषा, भुगोल र सरल जनजीवनको वास्तविक परिवेशबाट गुरुङ चलचित्रका कथा जन्मने गर्छन् । आफ्नो भाषा तथा संस्कृतिलाई चलचित्रको माध्यमबाट नयाँ पुस्तामाझ हस्तान्तरण गर्ने कार्यमा गुरुङ चलचित्रले मुख्य भुमिका खेलिरहेको छ । अहिलेको नयाँ प्रविधि अनि चलचित्र हेर्ने दर्शकको अपेक्षालाई पुरा गर्दै टिकिरहने चुनौती गुरुङ चलचित्र क्षेत्रलाई छ । हिजोको तुलनामा चलचित्रमा लगानी बढ्दैछ । तर लगानी अनुसारको आम्दानी गर्न सहज बनेको भने छैन ।

पछिल्लो क्रममा नेपाली मुलधारका चलचित्रनै विदेशमा च्यारीटी सो गर्ने क्रम बढेसँगै यसको प्रत्यक्ष असर समेत गुरुङ चलचित्र माथी परेको देखिन्छ । चलचित्रको स्तर खस्कदै जानु र च्यारीटी सो हुने ठाउँमा नेपाली मुलधारका चलचित्र पुग्नुले गुरुङ चलचित्र क्षेत्रमा चुनौती थपिएको हो । यो चुनौतीलाई सामना गर्ने बाध्यता गुरुङ चलचित्रलाई छ ।

संस्थापक अध्यक्ष : माओत्से गुरुङ

झण्डै २ सय जना कलाकार तथा प्राविधिकको रोजिरोटी बनेको छ गुरुङ चलचित्र । स्तरिय चलचित्रले देश तथा विदेशमा प्रर्दशन हुदै लगानीसँगै नाफा कमाउन सफल बनेका छन् । केहि गायक गायिका गुरुङ गीत संगीत मार्फत देश विदेशका कार्यक्रममा व्यस्त समेत बनेका छन् । गुरुङ कलाकार र चलचित्र प्रति गुरुङ समुदायको अथाह माया छ । तरपनि अझसम्म पनि गुरुङ चलचित्र नियमित प्रर्दशन हुन भने सकिरहेका छैनन् । यसको मुख्य कारण झन्झटिलो सेन्सर प्रकृया, समयमा हल नपाउने, गुणस्तरिय चलचित्र कम बन्नु अनि नेपाली चलचित्रसँग प्रतिष्पर्धा गर्नुपर्ने चुनौती रहेको गुरुङ फिल्म एशोसिएसन नेपालका संस्थापक अध्यक्ष माओत्से गुरुङ बताउँछन् । ‘जिफानले नियमित प्रर्दशन गर्न रोक लगाएको छैन, निर्माता निर्देशकले चाहेको अवस्थामा गर्न सक्छन्, केहि चलचित्रमा प्रयोग हामीले गरिसक्यौ’ माओत्सेले भने । कृपा, नकइ फुँ, मैरिमो, मनाङे नानी जस्ता चलचित्र हलमा नियमित प्रर्दशन भएको चलचित्र भएको उनले जनाए ।

अध्यक्ष : भोज बहादुर गुरुङ

गुरुङ फिल्म एशोसिएसन नेपालका अध्यक्ष भोज बहादुर गुरुङ अब गैर गुरुङले पनि गुरुङ चलचित्रलाई हेर्ने अवस्था सिर्जना गर्दै अगाडी बढ्ने बताउँछन् । ‘गुरुङ चलचित्रको बजार फराकिलो पार्नुपर्छ, जसको लागि गुरुङ मात्र हैन गैर गुरुङलाई पनि गुरुङ चलचित्र तर्फ आर्कषित गर्नुपर्नेछ’ उनले भने । स्पोन्सर खोज्ने र भिआइपिलाई चलचित्र हेराएर लगानी असुल्ने परपाटीको अन्त्य गर्दै अन्य नेपाली चलचित्र झै गुरुङ चलचित्रलाई पनि नियमित हलमा प्रर्दशन गरी यसतर्फको चार्म बढाउने अभियानमा आफु जुट्ने उनले बताए ।  गुरुङ चलचित्र पुरानै शैलिमा निर्माण हुने र प्रर्दशन हुने क्रमको अन्त्य गर्दै आत्मसमिक्षा गरी प्रतिष्पर्धामा उत्रन सक्नै गुणस्तरीय चलचित्र निर्माण गर्न तर्फ अग्रसर बन्नुपर्ने उनले बताए । छैटौ अधिवेशनबाट अध्यक्ष बनेका उनले तत्कालै चलचित्र निर्मातालाई अनुशिक्षण गराएर यसको थालनी गरिने जनाए । ‘भिआईपिलाई मात्र चलचित्र देखाउँदा वास्तविक दर्शकसँगको दुरी बढेको छ, यसलाई अन्त्य गर्नुपछ, उनीहरुले पनि सहज तरिकाले चलचित्र हेर्न अवस्था हुनुपर्छ’ भोजले भने ।

एक चलचित्रबाट अर्को चलचित्र प्रर्दशनको मिति कम्तिमा १५ दिन राख्ने भनिएपनि बेला–बेलामा यो नियम कार्यान्वयन नुहँदा समस्या पर्ने गरेको छ । ‘बजार सानो छ । तछाड मछाड गर्दा कसैलाई फाइदा हुदैन । बर्बाद हुन्छ । एउटा चलचित्र प्रर्दशन गरौ सबै गएर हेरौ अनि अर्कोमा पनि त्यस्तै गरौ’ गुरुङ फिल्म एशोसिएसन नेपाल जिफानका निवर्तमान अध्यक्ष गिरी प्रसाद गुरुङको आग्रह छ ।

२४ वर्षको अवधिमा गुरुङ फिल्म एशोसिएसनमा दर्ता भएका चलचित्रको संख्या १ सय ५० को हाराहारमिा पुगिसकेको छ ।
गुरुङ चलचित्रको मुख्य बजार कास्की जिल्लानै रहेको छ भने यस्का अलावा काठमाण्डौँ, लम्जुङ्ग, तनहुँ, स्याङ्गजा, गोर्खा, पर्वत, चितवन, रुपन्देही, नवलपरासीमा समेत गुरुङ च्यारीटी हुने गरेको छ । पछिल्ला दिनमा हङकङ, जापान, कोरीया, युके, खाडी मुलुकमा रहेका नेपाली, भारतको सिक्किम, दार्जिलिङ लगायतका ठाउँमा प्रर्दशन गरी आम्दानी गर्ने गरिएको भएपनि यि ठाउँमा अहिले मुलधारका चलचित्रको पकड बढ्दै गएको छ । गुरुङ चलचित्र तथा यसको बजारलाई विस्तार गर्न जिफानले

सकारात्मक भुमिका खेलिरहेको छ । गुरुङ फिल्म एशोसिएसन नेपालको केन्द्रिय कार्यालय पोखरामा छ । जिफानका शाखा कास्की, लमजुङ, रुपन्देही, स्याङ्गजा, तनहुँ, काठमाण्डौको साथमा हङकङ र जापानमा रहेको छ । शाखा मार्फत पनि जिफानले आफ्ना गतिबिधिलाई बढाउदै गएको छ । केहि गुरुङ चलचित्रका कलाकारले नेपाली मुलधारका चलचित्रमा काम गर्दै आफ्नो प्रतिभा देखाइरहेका छन् । गुरुङ चलचित्रमा लगानी भने बढ्दै गएको छ ।

२०५२ सालमा ‘पाते’ चलचित्रबाट गुरुङ चलचित्रको निर्माण आरम्भ भएको थियो । अहिलेसम्म हेर्दा आदीबासी चलचित्र बढी संख्यामा बनेको चलचित्र गुरुङ भाषाकै भएको जिफानको दावी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button