इन्डोनेसियामा भूकम्पका कारण २० जनाको मृत्यु, दर्जनौ घाइते

पोखरा न्यूज – ०९ , असोज ।  इन्डोनेसियामा बिहीबार आएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।अधिकारीहरुले दिएको जानकारी अनुसार सो भूकम्पका कारण अरु दर्जनौ घाइते भएका छन् भने सयौँ विस्थापित भएका छन् ।

देशको दुर्गम क्षेत्रमा पर्ने मालुकु टापुमा गएको भूकम्पपछि आएको पहिरोमा परी एक जना पुरिएका छन् । भुकम्पबाट त्रसित भएका स्थानीय बासिन्दा दौडिएर घरबाट बाहिर निस्किएका थिए । उनीहरु लामो समयसम्म सडकमै भेला भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले बताएका छन् ।

“कम्तीमा एक सय जना घाइते भएका छन्, दुई हजार भन्दा बढी घरबार विहिन भएका छन्,” राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अगुस विबोवोले भने । उनले पछिल्लो विवरण दिदै मृत्यु भएका २० जना मध्ये एक जना नवजात रहेको पनि जानकारी दिए  ।

घटनाको प्रारम्भिक विवरणमा स्थानीय अधिकारीहरूले एक जनाको मृत्यु भएको र अरु कैयौँ घाइते भएको बताएका थिए ।अधिकारीहरुका अनुसार एक जनाको हृदयघात भएर मृत्यु भएको छ भने अर्की एक महिलाको मोटरसाइकलबाट खसेर मृत्यु भएको छ ।स्थानीय समय अनुसार विहानको समयमा ६.५ म्याग्निच्युडको भूकम्प आएको थियो । झण्डै चार लाख जना सो भूकम्पबाट प्रभावित भएका बताइएको छ ।

प्रभावित मध्ये अधिकांश त्रसित, कपडामा रगत लागेको, दौडधुप गरेको, सामान्य चोटपटक लागेको, सहयोगको अपेक्षा गरेको लगायतका अवस्थामा रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।स्थानीय समयानुसार बिहान करिब ०८.४५ बजे भूकम्प आएलगत्तै मानिस आत्तिएर घर बाहिर निस्केका थिए । स्थानीयबासीका अनुसार भूकम्पका कारण घर निकै जोडसँग थर्किएका थिए ।

अमेरिकी भूगर्भ विभागका अनुसार मालुकु प्रान्तको आम्बोन शहरबाट करिब ३७ किलोमिटर उत्तरतर्फ उक्त भूकम्पको केन्द्र विन्दु रहेको छ । मुख्य भूकम्पपछि अरु एक दर्जन परकम्प गएको र एउटा परकम्प ५.६ म्याग्नीच्यूडको पनि गएको इन्डोनेसियाली भूगर्भ विभागका प्रमुख रहमत ट्रियोनोले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button