पोखरा रंगशालाको फुटबल मैदानमा भारतीय दुबो रोप्न शुरु

दीननाथ बराल, पोखरा न्यूज – ०९ , असोज । पोखरा रंगशालामा भारतको कोलकत्ताबाट ल्याएको दुबो रोप्न शुरु गरिएको छ । निर्माण हुँदै गरेको पोखरा रंगशालाको फुटबल मैदानमा भारतीय दुबो रोप्न बिहिबारदेखि शुरु गरिएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर इ.दीपक बरालले बताए ।

भारतको कोलकत्ताबाट हिडेको करिब एक सातामा पोखरामा आईपुगेसंगै बिहिबार रातरात उक्त दुबो रंगशालाको दक्षिण पुर्वी कर्नरबाट दुबो रोप्न शुरु गरिएको उनले बताए । उनका अनुसार पहिलो चरणमा एक गाडी अर्थात १५ हजार बर्गफिट दुबो पोखरा आएको हो ।  भारतको नाकाबाट गाडी नेपाल भित्रिनको लागि प्राविधिक कारणवश तीन दिनसम्म रोकिन पुगेको इ. बरालले जनाए ।

दुबोमा माटो समेत टासिएकोले गर्दा भारतबाट नेपाल ल्याउन केही कठिनाई भएको हो । खास दुबो लोड गरेको ४ दिन भित्र पोखरा ल्याउनु पर्नेमा प्राविधिक कारणले भारतमा तीन रोकिदा पनि दुबो एसि गाडीमा ल्याएकाले गर्दा हल्का ओइलाएको जस्तो देखिए पनि एक हप्तामा मौलाएर आउने इ. बरालले जनाए । पोखराको भन्दा कोलकत्ताको तापक्रम बढी भए पनि पोखरामा दुबो राम्रोसंग सर्ने प्राविधिक टोलीको आधारमा आफुहरुले भारतको दुवो रोजेको उनले प्रष्ट पारे ।

उनले भने “पोखरा रंगशालाको फुटबल मैदान भरीका लागि ९० हजार बर्गफिट बर्माडा ग्रास दुवो कोलकत्ताबाट ल्याउनको लागि अग्रिम बुकिङ समेत गरि सकेका छौं, बाँकी दुबो दशैं अघि नै आई सक्छ । ” फुटबल मैदान निर्माणको अन्तिम घडिमा आर्टिफिसियलबाट नेचुरल फुटबल मैदान निर्माण गर्ने निर्देशन पाएसंगै आफुहरुले पोखराको वातावरण अनुकुल हुने गरी कोलकत्ताबाट दुबो ल्याउन केही दिन ढिलाई भएको इ.बरालले बताए ।

केही दिन अघि पोखरामा लगातार जसो पानी पर्दा पोखरा रंगशाला निर्माण अन्तर्गत दुबो ल्याउन, ट्रयाकमा पिच गर्न समेत केही दिन ढिलो भएको उनले जनाए ।आगामी डिसेम्बर १ देखि १० तारिख १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुने महिला फुटबल प्रतियोगिताको लागि आफुहरुले फुटबल स्टेडियम निर्माण गरी सक्ने र हाल निर्माण कार्य तिव्र गतिमा अघि बढेको इ. बरालले जनाए ।

प्रोजेक्ट आफुहरुको लागि अग्नी परिक्षा नै भएको दाबी गर्दै प्रोजेक्ट म्यानेजर इ. बरालले तोकिएको मितिमा आफुहरुले ८ देखि १० हजार सिट क्षमताको प्यारापिट सहितको फुटबल मैदान निर्माण गर्ने दाबी गरे । उनका अनुसार हालसम्म पोखरा रंगशाला निर्माणको करिब ५० प्रतिशत जसो निर्माण कार्य सम्पन्न भएको छ । चार वटा केन्द्र मध्य हाल आफुहरुले ए र सी ग्रिड तर्फ केन्द्रित भएको उनले जनाए । प्यारापिट, ट्रयाक , शौचालन लगायतको काम एकै साथ अघि बढेको इ. बरालले जनाए ।

डबल लग सिस्टममा निर्माण हुने प्यारापिटको आवश्यक सामाग्रि पोखरामा भित्रिएको १५ दिनमै जडान कार्य सहितको फिनिसिङ हुने उनले दाबी गरे । भारतको ग्रेट स्पोट्र्स इन्फ्रा इन्डियाले नेपालको एम.ए.कन्सट्रक्सन जावलाखेल ललितपुरको जोइन्ट भेन्चरमा एक अर्ब २८ करोडको लागतमा प्रोजेक्टको जिम्मा लिएको हो ।

१८ हजार ५ सय दर्शक क्षमताको फुटबल प्यारापिट निर्माण हुने जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले बताए । पोखरामा फुटबल दर्शक धेरै भएकाले दर्शक क्षमता २० हजारसम्म पुराउन निर्माण कम्पनीलाई राखेपले समेत आग्रह गरेको राखेप सदस्य राजेश कुमार गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button