म्याग्दीमा स्वास्थ्य चौकीसहित चार सामुदायिक भवन निर्माण

पोखरा न्यूज – १० , असोज । म्याग्दी अन्नपूर्ण गाउँपालिका–६ घारस्थित मुक्तिमार्ग मावि, स्वास्थ्य चौकी, वडा कार्यालय र कोट मन्दिर परिसरको सामुदायिक भवन निर्माण गरिएको छ ।

मुक्तिमार्ग माविको भवन प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, स्वास्थ्य चौकी भवन संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, वडा कार्यालय जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र सामुदायिक भवनको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बिहीबार उद्घाटन गरे । घारका टीकाबहादुर खड्काले रु ११ लाखमा खरीद गरेर उपलब्ध गराएको तीन रोपनी जग्गामा रु एक करोड ५४ लाख ८६ हजारको लागतमा मुक्तिमार्ग माविको तीनतले १२ कोठे नयाँ भवन र चारकोठे शौचालय निर्माण गरिएको प्रधानाध्यापक मेखबहादुर खड्काले जानकारी दिए ।

यस्तै स्थानीयवासी रुपा बरुवालले एक रोपनी, गोविन्द खड्काले आठ आना तथा गाउँलेले रु आठ लाख जुटाएर खरीद गरेकोसहित तीन रोपनी जग्गामा शहरी विकास तथा भवन विभागले रु डेढ करोडको लागतमा स्वास्थ्य चौकी भवन निर्माण गरेको छ । संरक्षण व्यवस्थापन समितिको एउटा कोठामा सञ्चालन हुँदै आएको स्वास्थ्य चौकीको भवन निर्माणपछि सेवा प्रवाह सहज भएको प्रमुख रिसव पाण्डेले बताए ।

सभाहलसहित पाँचकोठे वडा कार्यालय भवनलाई गाउँपालिकाको रु १५ लाखमा निर्माण गरिएको हो । तत्कालीन शान्ति तथा पुनःनिर्माण कार्यालयले शुरु गरेर अलपत्र छाडेको सो भवन निर्माणलाई गाउँपालिकाले पूर्णता दिएको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए । भवन निर्माणका लागि स्थानीयवासी रामबहादुर बरुवालले १५ आना जग्गा उपलब्ध गराएका थिए ।

यस्तै घारको भगवती मन्दिर परिसरमा गाउँपालिकाको रु छ लाख अनुदान तथा स्थानीय सङ्घसंस्थाको थप रु आठ लाखको लागतमा सभाहलसहितको तीनकोठे दुईतले सामुदायिक भवन निर्माण भएको छ । कार्यक्रममा सांसद थापाले निर्वाचनमा प्रतिस्पर्धा भए पनि विकासमा सहकार्य गर्नुपर्ने बताए । उनले घोडेपानीदेखि मोहरे पदमार्ग निर्माण तथा पुनहिलमा पूर्वाधार निर्माण गर्न रु एक करोड विनियोजन गरिएको जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button