पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव शुरु

दीननाथ बराल, पोखरा न्यूज – १२, असोज । आज (घटस्थापना) देखि पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव शुरु भएको छ ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा असोज २० अर्थात नवमीसम्म संचालन हुने उक्त महोत्सवको उद्घाटन गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले गरेका हुन्।

उक्त महोत्सवको उद्घाटनको पूर्व सन्ध्यामा पोखरामा नवदुर्गा शोभायात्रा भएको समितिका सचिव तिर्थ श्रेष्ठले बताए । विहान ७ बजे विन्ध्यवासिनी पार्किङ स्थलबाट सुरुभई उक्त शोभायात्रा मोहरिया टोल, भैरव टोल, भीमसेन टोल, नाला मुख, तेर्सा पट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्ण टोल, गणेशटोल हुदै विन्ध्यवासिनी पुगेर समापन भएको थियो ।

शोभायात्रामा नवकन्या आरुढ नौ रथ, विन्ध्यवासिनी मन्दिरको झाँकी, विभिन्न भजन समूह, जातीय भेषभूषा, सांस्कृतिक झांकीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, आमा समूह तथा विभिन्न धार्मिक, सामाजिक, शैक्षिक, बैंक विक्तिय संघ संस्थाहरुको सहभागिता रहेको थियो ।

विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भाव तथा धार्मिक पर्यटनको विकासमा टेवा पुग्याउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले बताए ।

महोत्सवमा श्रीमद् भागवतदेवी ज्ञान महायज्ञ समेत हुने भएको छ । महायज्ञ प्रत्येक दिन विहान ९ बजे देखि मध्यान्हः १२ बजेसम्म र मध्यान्हः ११ बजेबाट अपरान्हः ४ बजेसम्म चल्ने भएको छ ।

विजया दशमीको अवसरमा मन्दिरमा बिहान ४ बजे देखि पूर्वान्हः ५ बजेसम्म नित्य पुजा आजा गर्ने व्यबस्था समितिले मिलाएको अध्यक्ष श्रेष्ठले जनाए । प्रत्यक साँझ ६ बजे भने आरती गरिने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button