भारतको उत्तर प्रदेश र बिहारमा जताततै बाढी: १ सय भन्दा बढीको मृत्यु

पोखरा न्यूज – १३, असोज । पछिल्ला चार दिनमा भारतको उत्तर प्रदेश र विहार राज्यमा आएको बाढीले सय भन्दा बढीको मृत्यु भएको छ ।

उत्तर प्रदेशमा मात्र ८० भन्दा बढीको मृत्यु हुँदा विहारमा पनि मृतकको सङ्ख्या २५ नाघेको छ । बिहारको मुख्य सहर पट्ना सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ जहाँ अझै केही दिनसम्म वर्षा नरोकिने त्यहाँको मौसम विभागले जनाएको छ । बाढीले सहरका कैयौं भाग जलमग्न भएका छन् भने विद्यालय र कलेजहरु बन्द गरिएका छन् ।

छातीसम्म आउने गरि सडकहरुमा पानी जमेपछि सर्वसाधारणहरु यातायातका लागि डुङ्गाको प्रयोग गर्न थालेका छन् । रेलको लिकहरु भत्कँदा र पुलहरुमा क्षति पुग्दा कैयौं क्षेत्रमा यातायात अवरुद्ध भएको छ भने थुप्रै रेलहरु डाइभर्ट वा रद्द गरिएको छ ।

राज्यको जनजीवन अस्तव्यस्त बनेपछि विहारका मुख्य मन्त्री नीतिश कुमारले बाढीग्रस्त ठाउँहरुको अवलोकन गरेका थिए । विहारको सरकारले इन्डियन एअर फोर्ससँग उद्दार तथा राहत र खाना एअर ड्रप गर्न दुई हेलिकप्टरको माग गरेको छ। त्यस्तै राष्ट्रीय आपत मोचन बलका १९ टोली विहारमा खटिएका छन् ।

यता विहारको छिमेकी राज्य उत्तर प्रदेशमा पनि पछिल्ला पाँच दिनमा बाढीले ८७ जनाको ज्यान लिएको थियो । उत्तर प्रदेशको बल्लिया, वाराणसी र जौनपुर जिल्ला मुख्य रुपमा प्रभावित भएका थिए । राज्यको आपत्कालिन अवस्था मध्यनजर गर्दै उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले सरकारी कर्मचारीलाई बिदा बस्न नपाइने निर्देशन दिएका थिए ।

मनसुन सकिनु पर्ने समयमा भएको यस खालको भारी वर्षा तथा विषम मौसमलाई मौसम परिवर्तनको प्रभाव हुनसक्ने अनुमान गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button