पोखरामा नयाँ नोट साट्नेको भिड, ५४ करोडको नयाँ नोट साटियो

दीननाथ बराल, पोखरा न्यूज – १३, असोज । लामो झरी पछि मौसममा अचानक परिवर्तन आउदा असोज १३ गते (सोमबार) दिउँसो भने निकै चर्को घाम लागेको थियो । त्यसै चर्को घाममा प्रचण्ड गर्मीको पनि कुनै पर्वाह नगरी सयौं लाईनको बिचमा थिइन् ६० बर्षिया तारा घिमिरे । अघि पछि छाता ओढेर लाइनमा बसेका धेरै युवा युवतीहरु देखिन्थे भने उनी गर्मी छल्न आफ्नो टाउकोमा रातो पछ्यौरा राख्दै दशैंको अवसरमा नयाँ नोट साट्न पोखराको राष्ट्र बैंकको काउण्टर बाहिर लाइनमा बसेकी थिइन्।

अघिल्लो बर्षको दशैंमा आफ्नो घरमा टिका लगाउन आएका वालवालिकाहरुले पुरानो नोट दिदा लिन नमाने पछि आफैलाई नरमाइलो लागेको पोखरा २८ की ६० बर्षिया घिमिरेलाई यस बर्ष भने खनखन्ती नयाँ नोट दिने इच्छाले घण्टौं लाइनमा बसेर पनि नयाँ नोट साट्न पोखरा बजार झरेकी हुन् । उनले भनिन्“ दशैंमा हामीलाई त जस्तो नोट भए पनि ठिकै हुन्थ्यो, तर केटाकेटीलाई नयाँ नोट नै चाहिदो रैछ, गत बर्ष दशैंमा टिका लगाउन आएका केटाकेटीले नयाँ नोट नदिई मान्दै नमाने पछि यस बर्ष नयाँ नोटको जोहो गर्न आफै कस्सिएर बजार आएकी हुँ । ”

 

स्याङजाबाट आएका असिम थापाले २-३ घण्टा लागेर नयाँ नोट साट्न पाएको बताए । राष्ट्र बैंकमा नयाँ नोटको लागि लाइनमा बसेर घण्टौं कुर्नुभन्दा अन्य बैंकहरुबाट समेत नयाँ नोट साट्ने व्यबस्था गर्न उनले आग्रह गरे । थापा र घिमिरे जस्ता सयौं सेवाग्राहीहरुले दशैं पर्वको अवसरमा दशैंको छुट्टै उमङग र उत्साह हुने विश्वासले नयाँ नोट साट्न घण्टौं लाइनमा बसेर पनि नयाँ नोट साट्न आएका पाइन्छ ।

दशैंको अवसरमा पोखरामा यही असोज १० गते शुक्रबार देखि नेपाल राष्ट्र बैंक पोखरा शाखाले नयाँ नोट साट्न सुरु गरेको हो । लगातार दुई दिन बिदा पछि सोमबार खुलेको बैंकमा नयाँ नोट साट्नको लागि आम सर्वसाधारणको अत्याधिक भिड लागेको थियो । सोमबार अत्याधिक भिड भएसंगै तीन वटा काउन्टरबाट नयाँ तथा सुकीला नोट सटही गर्न लागिएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक डा. डिल्लीराम पोख्रेलले बताए ।

उनका अनुसार यसपालि नयाँ नोट सिमित भएकोेले आम सर्वसाधारणको लागि, ६० बर्ष माथिका उमेर समुहका लागि र बैंक तथा वित्तीय संघ संस्था एवं अन्यलाई गरी तीन वटा काउन्टरबाट गत बर्ष भन्दा केही कम रकम सटही हुने भएको छ । सुरुमा एउटै लाईन भए पनि मुख्य गेट भित्रबाट तीन वटा काउण्टरमा विभाजन गरी सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ । ५, १०, २०, ५०, १०० को नोट एक-एक बण्डल गरी प्रति व्यक्ति १८ हजार ५ सय रुपैया मात्र सटही गर्ने गरेको उनले जनाए । गत बर्ष राष्ट्र बैंकले प्रति व्यक्ति २७ हजारसम्म अर्थात एक सयको एक बन्डल बाहेक ५, १०, २०, ५० का दुई-दुई बन्डल दिने गरेको थियो ।

सोमबार एक हजार ८० जनाले नयाँ नोट साट्न आएको राष्ट्र बैंक पोखरा कार्यालयका सुचना अधिकारी रामकुमार कार्कीले बताए । सोमबार मात्र ५ करोड ५६ लाख ७५ हजार रुपैया सर्वसाधारण जनतालाई नयाँ नोट साटिएको उनले जनाए । उनका अनुसार हालसम्म सर्वसाधारणको लागि ८ करोड ७८ लाख ३५ हजार रुपैया वितरण गरिएको छ । अहिलेसम्म सर्वसाधारण र वित्तिय संस्थालाई गरि ५४ करोडको नयाँ नोट साटिएको कार्कीले बताए । बैंक तथा वित्तिय संस्थाहरुलाई राष्ट्र बैंकले नयाँ तथा सुकिला नोट गरी करिब ४५ करोड सटही गरि सकेको सुचना अधिकारी कार्कीले बताए । उनका अनुसार २८ वटा राष्ट्रिय बाणिज्य बैंकले पोखराबाट २८ करोड २९ लाख ६० हजार, विकास बैंकले १५ करोड ४ लाख ५० हजार र ग बर्गका वित्तिय संस्थालाई १ करोड १७ लाख ८० हजार रुपैया सटही गरिएको छ । आम जनतालाई समेत वितरण गर्न दिएको उक्त नयाँ नोट अधिकाशं बैंकहरुले राष्ट्र बैंक जसरी वितरण नगर्दा जनताहरु घण्टौं लाइनमा कुरेर राष्ट्र बैैंक पोखराबाट नयाँ नोट सटही गर्न बाध्य भएका हुन्।

राष्ट्र बैंकले शुक्रबार देखि व्यबस्थिगत ढंगले नयाँ नोट साट्न थाले पनि असोज ५ गते देखि आगन्तुक सर्वसाधरणहरुलाई नयाँ नोट दिन थालेको थियो । समग्रमा हालसम्म सर्वसाधारण सहित बैंक तथा वित्तिय क्षेत्रलाई गरी करिब ५० प्रतिशत जसो नयाँ तथा सुकिला नोट सटही गरेको सुचना अधिकारी कार्कीले बताए । उनका अनुसार शुक्रबार ३ सय ५० जना नयाँ नोट साट्न आएका थिए । आगामी शुक्रबार अर्थात असोज १७ गते फुलपातीको अघिल्लो दिनसम्म नयाँ नोट सटही हुने भएको सुचना अधिकारी कार्कीले जनाए ।

उनका अनुसार विहान १० बजे देखि वेलुका ४ बजेसम्म सटही हुन्छ भने शुक्रबारको हकमा विहान १० देखि दिउँसो १२ः३० बजेसम्म सटही हुन्छ ।

बैंकको शाखाको आधारमा क बर्गको राष्ट्रिय बाणिज्य बैंकलाई प्रति शाखा ७ लाख २० हजार, ख बर्गको विकास बैंकलाई प्रति शाखा ५ लाख ९० हजार, ग बर्गको विक्तिय संस्थालाई अधिकतम ५ लाख ६० हजारसम्म ५, १०, २०, ५० र एक सयको सानो नोट वितरण गरिएको निर्देशक डा.पोख्रेलले बताए । राष्ट्र बैंकले कास्की सहित ८ जिल्लाका नोटकोषबाट समेत नयाँ तथा सुकीला नोट सटही गर्दैछ । पोखराबाट मात्रै करिब एक अर्ब २५ करोड नयाँ तथा सुकिला नोट सटही गर्ने योजना रहेको उनले बताए । सफा नोट नीतिमा बैंंक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैंक नोटमा लेख्न नहुने व्यबस्था गरिएको छ । गत बर्ष आम सर्वसाधारणको लागि मात्र  सानो नोट ५२ करोड ६५ लाख रुपैयाँ सटही भएको बैंकले जनाएको छ ।

यदि कसैले बैंंक नोट वा सिक्का जलाउने, गाल्ने, च्यात्ने वा बैंक नोटमा लेख्ने गरेमा तीन बर्ष कैद र ३० हजार जरिवाना हुने कानुनि व्यबस्था रहेको छ । राष्ट्र बैंकले सकभर नयाँ नोट प्रयोगलाई निरुत्साहित गर्दै आउने क्रममा यस बर्ष केही कम रकम सटही गर्ने योजनामा रहेको निर्देशक डा.पोख्रेलको भनाई छ । नयाँ नोट उत्पादन गर्न सरकारलाई आर्थिक भार पर्ने भएकोले यसलाई विस्तारै कम गर्दै लैजाने राष्ट्र बैंकले योजना बनाएको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button