पाकिस्तानमा क्रिकेट फर्कियो, घरेलु समर्थकलाई जीत उपहार

पोखरा न्यूज- १४, असोज । लगभग १० वर्ष पछि घरेलु मैदानमा एक दिवसीय क्रिकेट खेलेको पाकिस्तानले आफ्ना समर्थकलाई मीठो जीत उपहार दिदैँ नयाँ अध्यायको शुरुआत गरेको छ ।

२००९ को मे मा टेस्ट शृङ्खला खेल्न पाकिस्तान भ्रमणमा रहेको श्रीलंकन टोलीमाथि आक्रमण भएपछि पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट शुन्यप्राय भएको थियो । यस लामो अन्तराल पछिको घर फर्काइ भने यादगार बनाउँदै पाकिस्तानले समर्थकलाई जीत उपहार दिएको हो ।

हिजो भएको श्रीलंकाविरुद्धको खेलमा ६७ रनको जीत हात पार्दै पाकिस्तानले शृङ्खलामा १-० को अग्रता लिएको छ । कराँचीमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले स्टार ब्याट्सम्यान बाबर आजमको शतकीय ११५(१०५) को मद्दतले निर्धारित ५० ओभरमा ३०५ रनको योगफल खडा गर्यो ।

पाकिस्तानका लागि ओपनर फकर जमानले ५४(६५) बनाउँदा ह्यारिस सोहेलले ४०(४८) रनको महत्वपूर्ण योगदान दिए । इफ्तिकार अहमदले पनि ३२(२०) रन बनाउँदै फिनिसर भुमिका निर्वाह गरे । श्रीलंकाका लागि वानिन्डु हसरङ्गाले २ विकेट लिँदा लाहिरु कुमारा र इशुरु उडनाले एक एक विकेट हासिल गरे ।

प्रतिउत्तरमा ३०६ रनको लक्ष्य पछ्याएको श्रीलंकाको सुरुवात भने निकै खराब रह्यो । उसले खेलको ११ ओभरमै ५ विकेट गुमाएर केवल २८ रन जोड्न सक्यो । त्यसपछि भने छैटौं विकेटका लागि सेहन जयसुरिया र दसुन सनाकाले कीर्तिमानी १७७ रनको साझेदारी गर्दै टोलीलाई खेलमा फर्काए ।

सेहनले ४१ औं ओभरमा आउट हुनुपुर्व ९६(१०९) रनको जुझारु पारी खेले । त्यस्तै सनाकाले पनि ६८(८०) रन बनाउँदा वानिन्डु हसरङ्गाले पनि ३०(२३) रन बनाए । ४१ औं र ४२ औं ओभरमा दुई सेट ब्याट्सम्यान आउट भएसँगै श्रीलंकाको खेलमा फर्किने कुनै सम्भावना पनि मेटियो र अनन्त ४६.५ ओभरमा २३८ रनमा सीमित हुन पुग्यो ।

बलिङ तर्फ पाकिस्तानका उस्मान सिन्वारीले ५ र सदाब खानले दुई विकेट लिए । सिन्वारी नै खेलको म्यान अफ दि म्याच घोषित भए ।अब शृङ्खलाको अन्तिम खेल बुधबार कराँचीमै हुनेछ । तीन खेलको शृङ्खलामा पहिलो खेल वर्षाले रद्द भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button