साहित्यकार दिपक समिपको बाल्यकालको दशैँ अनुभव

आर.आर. पौडेल, पोखरा न्यूज- १५, असोज । नेपालीहरुको महान् पर्व विजयादशमी हाम्रो घर आगनमा आइसकेको छ । कला–साहित्यको राजधानी शहरको रुपमा परिचित सुन्दर नगरी पोखरामा दशैको अवसरमा विभिन्न कार्यक्रमको आयोजना पनि भइरहेका छन् । पोखरा बाहिर रहेकाहरु पोखरा आउन थालिसके । केही आउने तरखरमा छन् । त्यस्तै पोखरालाई कर्मथलो बनाई अगाडि बढीरहेकाहरु जन्मथलो फर्किदैछन् ।

दशैको अवसर पारेर पोखराको विन्ध्यवासीनी मन्दिरमा नवदुर्गा महोत्सव आयोजना गरिएको छ । घटस्थापनाको दिनबाट शुरु भएको महोत्सव नौ दिन सम्म चल्नेछ । महोत्सवमा कास्की तथा यसआसपासका छिमेकी जिल्लाका अलावा पोखरा घुम्न आएका धार्मिक पर्यटक दर्शनको लागि पुग्ने गरेका छन् । दशैको अवसरमा पोखराको भद्रकाली, अकला, ताल बाराही, जाल्पादेवी, कोट भैरव, कालिका, सितलादेवी, नारायणस्थान आदी मन्दिरमा भत्तजनको भिड लाग्न थालेको छ ।

अन्य उमेर समुहमा भन्दा पनि बाल्यकालमा दशै रमाइलो हुने गरेको अनुभव धेरैसँग छ । यहाँ हामिले साहित्यकार दिपक समिपको बाल्यकालको दशैँ अनुभवलाई प्रस्तुत गर्न खोजेका छौ ।  बुबा रामबहादुर र मुमा नानिमाया श्रेष्ठको तेस्रो सन्तानको रुपमा लम्जुङ सोतीपसलमा जन्मिएका समिपमा बाल्यकालदेखिनै साहित्यतर्फको झुकाव थियो ।

दिदी सरस्वती श्रेष्ठ सरुका कविताबाट यस क्षेत्रमा अगाडि बढ्ने पे्ररणा मिलेको बताउने उनले आठ कक्षा पढ्दाबाट मुक्तक लेख्न शुरु गरेका थिए । स्कूलमा आयोजना हुने विभिन्न प्रतियोगितामा भाग लिई थुर्पै पुरस्कारसमेत जिते यसरी पाएको सफलताबाट उनमा साहित्यको क्षेत्रमा कलम चलाउने प्रेरणा मिल्न पुगेको उनले बताए । केही पत्रिकामा प्रकाशित उनका लेखबाट पाठकहरुको समेत सकारात्मक प्रतिक्रिया आउन थाल्यो ।

यसरी साहित्यको क्षेत्रमा कलम चलाउन शुरु गरिसकेका उनको यात्रा २०४९ सालमा साहित्यको उर्वरभूमी पोखरामा आए सँगै अझ फक्रने अवसर पायो । उनले साहित्यिक व्यक्तिलाई भेट्ने तथा आफ्ना सिर्जना पत्रिकामा निरन्तर प्रकाशन गर्ने अवसर पोखरा आएपछिमात्र प्राप्त गर्न सके । २०५० सालमा पोखरेली युवा साँस्कृतिक परिवार समता काव्य सन्ध्यामा उनी पुगे । त्यसपछि साहित्यको क्षेत्रमा अनवरत् लागीरहेका अग्रजहरुसँग उनको भेट भयो जसबाट अगाडी बढ्ने अभिपेरणा उनमा बढ्न पुग्यो । पोखरेली युवा साँस्कृतिक परिवारका पूर्व अध्यक्ष दिपक समिपले आफ्नो बाल्यकालको दशैलाई यसरी स्मरण गरे ।

हामी बेसिको घर (सोतीपसल, लमजुङ्ग) नझर्दैको कुरा हो, गामको घरसंगै (देउराली, सूर्यपाल, लमजुङ्ग) को पश्चिम पट्टि रहेको बारीमा माङले खाबो गाडेर बाबियो र पाट मिसाएर बनाइएको डोरीको पिङ हालिदिनु भएको थियो । तताहरुसँगै म नि पिङ खेलेको धुमिल धुमिल याद छ । त्यो बेला शुरु शुरुमा पिङ खेल्दा सायद डराएँ होला । त्यो चाहिँ सम्झना छैन । जति सम्झन खोजे पनि मरि गए त्यो स्मृती फिटिक्कै दिमागमा आउदैन । बरु सम्झना आउँछ त डोरीमा चकटी, थर्की राखेर पिङ खेलेको । पछाडीबाट तताहरुले हल्लाइदिएको । पिङ्को डोरी खाबो कटेर अलि पर जादा खुट्टा तनक्क तन्काएको, खाबो वर तिर आउँदा खुट्टा खुम्च्याएको । पिङमा बसेर पिङ खेल्दा मच्चिने तरिका नै यहि हो ।

अलि ठूलाहरुकोलागि भूईंचौरमा लिङ्गे पिङ हालिन्थ्यो । हामीहरुको कुलायन मन्दिर भएको ठाउमा रोटेपिङ हालिन्थ्यो । त्यो भन्दा दायाँ पट्टि माथी पनि लिङ्गे पिङ थियो । लिङ्गे पिङ अलि भिरालो ठाउमा थियो । रोटेपिङ जसलाई हामी रंगटे पिङ भन्थ्यौं, मन्दिर भन्दा तल दायाँ तर्फ त्यही भिरालो डाडाकै थोरै सम्म भएको ठाउमा थियो । रोटे पिङ नजिकै पोखरी थियो। रोटेपिङ प्राय तन्नेरीहरु र बा काका उमेर भएकाहरुले खेल्थे । महिलाहरु भने कोहि कोहि मात्र रोटेपिङ खेल्थे। त्यतिखेर धेरै जसो महिला रोटेपिङ खेल्दैनथे ।

एक त उनिहरु रोटेपिङ खेल्न डराउथे । अर्को कुरा पिङ्गको धुरी नाघिन्छ भनेर नि त्यतिखेर महिलाहरु रोटेपिङ खेल्दैनथे । त्यतिखेर समाजमा महिलाहरुले धुरी चढ्न, धुरी नाघ्न हुँदैन भन्ने मान्यता थियो । यति सम्म कि कुखुराको पोथी घरको धुरीमा गएर बास्यो भने त्यो पोथिलाई तत्काल काटेर धुरी नघाएर फालिन्थ्यो र मासु खाइन्थ्यो । एक पटक गामको घरमा यसै गरेको मलाई अझै याद छ ।

दशैं लागे पछि गाउँ घरमा चटारो हुन्थ्यो । महिलाहरु विशेष ब्यस्त हुन्थे । रातो माटो र कमेरो माटो लिन डालो बोकेर माङ तताहरु गाउका आफन्त छिमेकी काकीहरु संगै जानु हुन्थ्यो । पुराना बाल्टिमा माटो पानीसंग घोलेर अम्रिसोको कुचोले छ्याप छ्याप कमेरो दल्नु हुन्थ्यो । राटो माटो चै पोतारोले दल्नु हुन्थ्यो । घरको खाबोमा खोटो दल्नु हुन्थ्यो। जुन खोटो सालको रुखको बोक्रा पानीमा उमालेर बनाइएको हुन्थ्यो।रङ चाहिँ कालो हुन्थ्यो ।

रातो माटो लिपेको भित्तामा ठूलो तताले कम्पासले गोलो गोलो फूलको बुट्टा बनाउनु हुन्थ्यो । र त्यहा रङ भर्नु हुन्थ्यो । यस्तो काम प्राय गाउको सबै घरमा देखिन्थ्यो । सोह्र सरात (सोह्र श्राद्द) लाग्नु अघि एकपटक आफ्नो जात अनुसार रागा भैंसी खसी बोका कुखुराको मासु खाइथ्यो । र सोह्र श्राद्द भरी माछा मासु बारिन्थ्यो । सोह्र श्राद्दमा बस्तुभाउ चराउन जङ्गल जाँदा बुढापाकाहरुले अलि चनाखो हुन उर्दि दिन्थे। किन कि सोह्र श्राद्दमा बाघ चितुवाहरु पनि छट्टाउछन् । बाखा खसी बोका मार्छन् , खान्छ्न् भन्ने भनाई थियो । यदि बाघले खसी खसी बोका मारिहाले र मार्ने दार्ने बितिक्कै भेटिए सोह्र श्राद्द भर मासु खान नहुने भएकोले त्यो मासु अलपत्र हुने, दशैलाई भनेर राखिएको खसी बोका दशैलाई नहुने अथवा अर्को खोज्न जान पर्ने । उस्तै परे खोज्न टाढै जान पर्ने दाम महङ्गो हाल्न पर्ने जस्ता समस्याहरु आउन सक्ने भएकोले सो बेला अलि बढी सचेत हुन घर परिवारमा गोठालो जानेलाई सुझाइन्थ्यो ।

गाममा हुँदा अघिपछी पनि बाघ चितुवाले बाख्रा मारेर छोडे त्यो मासु निकै सस्तोमा बेचिन्थ्यो । कतिपय अवस्थामा हाम्रै घरको बाख्राको नि त्यस्तै अवस्था हुन्थ्यो र छिमेकीको बाख्राको पनि उस्तै हाल हुन्थ्यो ।  दशै आउदै गर्दा गाउँमा लोग्ने मान्छेहरु पिङ बनाउन ब्यस्त हुन्थे । रोटे पिङको काठकोलागि जङ्गल जाने काठ ल्याउने रोटेपिङ्को बाँ काठी पिर्का बनाउने मर्मत गर्ने गर्दथे भने कोहि लिङ्गे पिङकोलागी बाँस काट्ने खाल्डो खनेर लिङ्गो गाड्ने, बाबियोको मोटो मोटो डोरि बाट्ने गर्दथे । बेसि (सोतिपसल, लमजुङ) झरेपछी चाहिँ जमुनास्थानको चौतारोमा पिपलको मोटो हाँगामा बाबियोको डोरी हालेर पिङ खेलियो ।

टोलमा भएका प्रत्येक घरहरुबाट एक एक मुठा बाबियो र एक एक रुपिया दाम उठाएर दुरा अजालाई दिइन्थ्यो । दुरा अजाले बडो मिहेनत साथ पिङ्कोलागी डोरि बाटिदिनु हुन्थ्यो । दुरा अजाको मेहनतको कदर स्वरुप हामी भन्दा सिनियर दाइ दिदिहरुले एक एक रुपिया उठाएर पारिश्रमिक दिने आइडिया लगाएका थिए । अहिले सम्झदा लाग्छ टोलका सिनियरहरु श्रमको सम्मान गर्न जानेकाहरु रहेछ्न् उतिबेला नि । ती दाइहरु अहिले कोहि डक्टर कोहि इन्जिनियर कोहि सरकारी अधिकृत भएका छन् ।

घटस्थापनाको दिनदेखी घरमा दशै भित्रीएको हुन्थ्यो । घटस्थापनाको दिन दुना टपरीहरुमा मकैको जमरा राखिन्थ्यो । बासेको भाले पनि काटिन्थ्यो । सप्तमी र अष्टमिको दिन भिमसेन मन्दिरमा रागो काटिन्थ्यो । सप्तमिको दिन अलि सानो र अष्टमीको दिन अलि ठूलो रागो काटिन्थ्यो । रागो काटेको दिन हामी बच्चाहरु निकै खुशी हुन्थ्यौं । मासु खान पाउने त भै नै हाल्यो तर अर्को खुशी के भने रागाको करङ्निर भएको एक किसिमको पातालो झिलझिले भागको बाजा बनाइमाग्थ्यौं काकाहरुसंग ।

वर्ष भरी फुटेका माटा हाडी घैटोका मुखतिरको भाग जतनले टौवा वा बारको घोचाहरुमा उनेर माङ अजिले राखिदिनु हुन्थ्यो । त्यो भएन भने नया घैटो नै कसरी हुन्छ दशै अगाडि नै फुटाइदिन्थे । त्यही लिएर रागो काट्ने ठाउमा गैन्थ्यो । घैटोको मुखको भागमा करङ्को झिलझिल टासेर घाममा सुकाए पछि त्यो खैचडी झै गरि बजाउन मिल्थ्यो र खुब बजाइन्थ्यो । त्यसलाई हामी ढ्वाङ ढ्वाङ बाजा भन्थ्यौं ।

फूलपातिको दिन बेलुकी घरमा फूलपाती भित्राइन्थ्यो । हामी केटाकेटी भेट्ना सहितको बेलाउती, सुन्तला, भोगटे, उखु, अदुवाको गानो सहितको बोट र धानको बाला सहितको गाज ल्याउथ्यौं । जुन आफ्नोमा नभए छरछिमेकबाट भएनी खोजेर ल्याउथ्यौं । दशैलाई चिउरा घरमै ढिकिमा कुटिन्थ्यो । चिउरा घैयाको धानलाई तामाको ठूलो ताउलोमा उसिनेर पानी फालेर उक्त धान ओखलमा राखेर ढिकीले कुटिन्थ्यो ।

धान कुट्ने र चिउरा कुट्ने मुसल फरक फरक हुन्थ्यो । ढिकी कुट्नेले लुडि पनि लगाउनु पथ्र्यो । लुडिको काम ओखलबाट उछिट्टिएर बाहिर गएको धानलाई सोहरेर पुनः ओखलमा खसाल्ने काम हुन्थ्यो । लुडि चै लामो भाटामा कपडा बेरबार पारेर बाधिन्थ्यो र डल्लो बनाइन्थ्यो । एक जना ओखल नीर बसेर ओखलमा हातले चलाउने र एक जना या दुई जनाले पछाडी बसेर ढिकी खुट्टाले टेकेर चलाउने गरिन्थ्यो । ढिकी चलाउने र ओखलमा हात हाल्नेको तलमेल मिलेन भने हातलाई मुसलले घाइते बनाइदिन्थ्यो । विशेष गरि यसमा घाइतेको हत्केला या औलाहरु भाँचिनेसम्म हुन्थ्यो । कैयौं पटक मैले अजि माङ र तताहरुको हत्केला ओखलमा थिचिएको देखेको छु । धन्न उहाहरुको हड्डि भाचिने चै भएको थिएन । चिउरा कुट्ने काम राती अबेरसम्म चल्थ्यो। कहिले बिहान सबेरैबाट पनि काम शुरु हुन्थ्यो ।
उक्त चिउरा नाङ्लोमा राखेर निफनेर केलाएर चिउरा र भुस छुट्ट्याए पछि खान योग्य बनाइन्थ्यो । हामी त्यतिखेर दशै भर भात खान्थेनौं । बिहान दूध चिउरा बेलुकी मासु चिउरा खान्थ्यौं । खाजामा पनि रोटि झिनमारी र चिउरा नै हुन्थ्यो । लुगा चै अहिले जस्तो फेन्सी कपडा हुन्थेन । कपडा पसलबाट पाइन्ट कमिजका कपडा थानबाट पसलेले काटेर दिन्थे । कमिज खद्दर या टेरिकटन र पाइन्ट पोलिस्टरको हुन्थ्यो । परिवारका सबै सदस्यलाई चाहिने कपडा दशैमा हालिन्थ्यो। कपडा पसलबाट उधारोमा लगिन्थ्यो । लाहुरबाट बुवा आउनु भए पछि कपडा पसल रासन पसल र अन्य ठाउको सर सापटि छ भने सबै तिरोतारो गर्नुहुन्थ्यो ।

कपडा चाहि दर्जीहरुले कलमा सिउथे। त्यतिखेर गाउमा प्रायस् हातेकल देखिन्थ्यो । अलि समयपछी खुट्टेकलको पनि प्रयोग देखियो । दशैको फूलपाती नत्र नवमीसम्म दर्जीहरुले नयाँ लुगा सिलाई सक्थे। फुलपातीसम्म नि कपडा तयार नगर्दिए हामी दावलीहरु दिन दिनै दर्जी काले मामा कहाँ धाउथ्यौं । एक पटकको दशैमा भने काले मामाले हामीलाई धोका दिए। साह्रै नमज्जा लाग्यो । पुरानो लुगा लगाएर दशै मनाउनु प¥यो । सधैं टिकाको दिन अघि पाइने कपडा पूर्णिमा पछि दिए। त्यो बेलाको दशै खुब खल्लो र नरमाइलो लाग्यो । त्यतिखेर दर्जीहरुलाई धागोको पैसा र वर्षको एक चोटि ज्याला बापत अन्न दिनु पथ्र्यो । चाडबाडमा खुवाउने पियाउने काम गर्नु पथ्र्यो । पछि पछि चाहिँ ज्यालाको रुपमा पैसा नै लिने गरे ।

दशैमा टीका लगाउँदा साथिहरु दाजुभाइ दिदी बैनी विच कस्ले धेरै पैसा पायो भन्ने हिसाब किताब गरिन्थ्यो । अलि बढी पैसा दिने आफन्तको घर जान उत्साह आउथ्यो । टिका लगाइदिएर मनले अपेक्षा गरेको वा सो भन्दा बढी दक्षिणा पाइयो भने हामी गाउँभरका अजा अजिहरुलाई खुट्टैमा ढोग्थ्यौं अथवा एकदम झुकेर नमस्कार गथ्र्यो । नाति छोराहरु भनेर दक्षिणा नदिने आफन्तहरुलाई नमस्कार पनि नगरी उठ्थ्यौं हामी । यस्तो गर्ने हामी ४,५ जना एउटै उमेर समूहका दाजुभाइहरु थियौं । हाम्रो समुह त्यो बेला आफन्तहरु विच चर्चित थियो । दक्षिणाको हाम्रो आफ्नै मूल्य र मान्यता थियो। दक्षिणामा एक सुका पाइयो भने हामी त्यसलाई ठिकैको क्याटगोरिमा राख्थ्यौं । एक मोहोरलाई राम्रो, एक रुपियालाई झन राम्रो ।

दुई रुपिया अझै राम्रो र पाँच रुपियालाई एकदम राम्रोको क्याट्गोरिमा राख्थ्यौं । उक्त मूल्यका दक्षिणा दिने आफन्तहरुलाई सोही अनुसारले अघिपछी पनि मान मर्यादा गथ्र्यौं हामी । भेट्ना साथ नमस्ते गथ्र्यौ हामी । एक सुकालाई हामी हाम्रो कोड भाषामा धानको बाला भन्थ्यौं । एक मोहोरलाई टाउके, एक रुपियालाई त्रिशूल, दुई रुपियालाई राजा, पाँच रुपियालाई हिमाल भन्थ्यौं । मेरो भागमा दुई रुपिया र पाँच रुपिया चाहिँ आफ्नो मावली र माङ्को मावली घरमा जाँदा मात्र पथ्र्यो। अन्त त्यस्ता नोट हात पर्थेन । आफ्नो घरमा बाहेक । एक पटकको दशैंमा के भयो भने देउराली गाउँमा टिका लगाउन गोपाल दाइ र म संगै गयौं । गाउमा जान बेसिबाट डेढ घन्टा उकालो चढेर जानू पथ्र्यो ।

त्यति दुख गरेर गयो तल्ला घरे अजिले सधै गाई पैसा (पाँच पैसा) मात्र दिने जहिल्यै दशैंमा । यसपाली भने हामीले सल्लाह ग¥र्यौ गाई पैसा दिए नलिने । यसपाली पनि टीका लगाएर तल्ला घरे अजिले गाई पैसा नै दिनु भयो । हामीले बडो नम्र साथ भन्यौ अजि यो गाई लगेर हाम्रो गोठमा बाध्ने ठाउँ छैन । बोकेर तानेर लान नि सकिँदैन । बरु धानको बाला (सुका पैसा) दिनु न घरमा लैजान राख्न नि सजिलो हुन्छ भन्यौं । अजिले धानको बाला त छैन मोराहरु हो यहि गाई लैजाउ भन्नू भो । हामीले यो त लान सक्दैनौं अजि भन्दै पाँच पैसा बसेकै ठाउबाट अजितिर फाल्दियौं।

अजिले पनि यहि डो¥याउँदै लैजाओ मोराहरु भन्दै हामी तिर फाल्दिनु भो । यो एक आपसमा फाल्ने क्रम तीन चार पटक दोहरियो। अन्त्यमा आजित भएर हामीले बसेको गुन्द्री मुनि राखेर ओरालो झ¥यौं । हामी अलि बुझ्ने भए पछि तलाघरे अजिले हामीलाई प्रत्येक दशैंमा त्यही प्रसंग सम्झाउँदै लाजमर्र्दो गरि हसाउनु हुन्थ्यो । अहिले तल्ला घरे अजिको हातबाट टीका लगाउन नपाएको वर्षौ भैसक्यो । त्यो केटाकेटी उमेरको गाई पैसे प्रसंग सम्झेर मलाई अझै पनि खुब रमाइलो लाग्छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button