पोखरा लामाचौरमा किसान बजार सञ्चालनमा

पोखरा न्यूज- १५, असोज । पोखरा महानगरपालिकाको सहयोगमा पोखरा १६ लामाचौरस्थित ठूलीपोखरीमा किसान बजार सञ्चालनमा आएको छ । किसानले उत्पादन गरेका बस्तु सिधै उपभोक्ताले खरिद गर्न सक्ने गरी किसान बजार सञ्चालनमा ल्याइएको हो । पोखरा १६ र १९ को सिमानामा पर्ने ठूलीपोखरीस्थित गौरबारीमा स्थापना गरिएको किसान बजारको बुधबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिसीले किसान बजारले किसानलाई हौसला प्रदान गर्दै बिचौलियालाई निरुत्साहित गर्ने बताए । उनले किसान बजार किसानले उत्पादन गरेका बस्तु संकलन गर्ने र वितरण गर्ने थलो भएको बताए । उनले किसानले उत्पादन गरेको बस्तुलाई सिधै उपभोक्तामा पुर्याउन किसान बजारले सहयोग गर्ने र बिचौलिया निरुत्साहित हुने बताए । बजार स्थापना भएपछि किसानले पनि उचित मूल्य पाउने र उपभोक्ताले पनि किसानबाट सिधै खरिद गर्दा अनेत्र भन्दा सस्तोमा बस्तु पाउने विश्वास छ । यसले विशेष गरी वडा नम्बर १६ र १९ मा व्यावसायिक रुपमा उत्पादित कृषिका बस्तुले सजिलै बजार पाउने बताए ।

वडा नम्बर १९ का वडाध्यक्ष शोभामोहन पौडेलले किसार बजार स्थापना भएपछि किसानले सहज रुपमा आफ्नो उत्पादनलाई बिक्री गर्न सक्ने वातावरण बनेको बताए । वडा नम्बर १६ का अध्यक्ष जीवनप्रसाद आचार्यले वडा नम्बर १६ र १९ का किसानलाई लक्षित गरी किसान बजार स्थापना गरिएको बताए । पोखरा महानगरपालिका कृषि तथा पुश सेवा महाशाखाका प्रमुख मनहर कडरियाले किसान बजार निर्माणको लागि महानगरपालिकाले करिब १० लाख लगानी गरेको बताए । कार्यक्रममा किसान दुर्गा बस्नेत र जीतबहादुर बस्नेतले किसान बजार स्थापना पछि बस्तु बिक्री गर्न सहज हुने र उचित मूल्य पाउने आशा व्यक्त गरे ।

पोखरा १६ र १९ को कृषि सञ्जाल समितिका अध्यक्ष मेहरमान थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका सदस्य कृष्ण गौतम र सञ्जालका सचिव सुवास अधिकारीले पनि किसान बजारको बारेमा बोलेका थिए । कार्यक्रममा कृषि भजन समेत प्रस्तुत गरिएको थियो । महानगरपालिकाको सहयोगमा बिरौटामा कृषि बजार सञ्चालनमा आइसकेको छ भने अन्य पाँच ठाउँमा पनि कृषि बजार निर्माण गर्ने योजना महानगरपालिकाले बनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button