दीननाथ बराल, पोखरा न्यूज- १६, असोज । पोखरामा निर्माण हुदै गरेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ईन्जिनियर अनिल कार्की निर्घात कुटिएका छन्। बुधबार राति पोखरा विमानस्थल भित्रै आयोजना भएको रात्रि भोज कार्यक्रममा सरिक भएका इ. कार्कीले आफ्नै कम्पनी (इकेएमसी अनुट सेलेट जेभि) का संचालक सागरमोहन भट्टराईको निर्देशनमा केही युवाबाट कुटिएको गुनासो गरेका हुन्।
घाइते कार्कीको दाइने आँखामा गहिरो चोट लागेर रगत जमेको छ भने टाउकोमा पनि चोट लागेको छ । उनको हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा उपचार भई रहेको छ । आफ्नो कम्पनीले क्यानका आयोजना प्रमुख प्रदिप अधिकारीसंगको मिलेमतोमा पोखरामा निर्माण हुदै गरेको पोखरा विमानस्थलबाट निस्केका ढुंगा बाहिर लगेर बिक्रि गरेको तथा डियुटि फ्रिबाट ल्याएको सिमेन्ट पोखरा विमानस्थल भन्दा बाहिर समेत बिक्रि वितरण गर्ने गरेको घाइते कार्कीले बताए ।
काठमाण्डौं घर भएका ३५ बर्षीय घाइते कार्की विगत ७ बर्ष देखि न्यूजिल्याण्डमा काम गर्दै आउने क्रममा इकेएमसी अनुट सेलेट जेभिले पोखरा बिमानस्थल निर्माणको लागि ल्याएको हो । न्यूजिल्याण्डका ग्रिन कार्डधारि घाइते कार्कीले नेपालमा गुणस्तरिय र भ्रष्टचार रहित समाज निर्माणको परिकल्पना गरेको अबस्थामा आफ्नो आँखाअगाडी करोडौंको भ्रष्टचार भएको कुरा देख्न नसके पछि पटक पटक अनियमितता नगर्न आग्रह गर्दै आउदा बुधबार दशैं पर्वको अवसरमा आयोजना भएको रात्रि भोजमा आफ्नै कम्पनीका भट्टराई सहितको टोलीबाट आफु निर्घात कुटिएको उनले दाबी गरे ।
राति करिब ११ बजे पछि भएको कुटपिटमा आफु निर्घात कुटिएकोे रात्रि भोजमा सहभागि र आफु काम गर्ने कम्पनीका जिम्मेवार व्यक्तिले आफ्नोा स्वास्थयको बारेमा केही चासो नदिएकोमा आफुलाई थप चिन्ता लागेको उनले बताए। घाइते कार्कीले कम्पनीका भट्टराई सहितकोे टोलीलाई प्रहरीमा कारवाहीको लागि उजुरी समेत दिएको जनाए । रनवे प्रमुख घाइते कार्की २५ सय मिटरको रन वे सकिएसंगै पेभमेन्ट सहित अन्य थप संरचनाको समेत इन्जिनियरको रुपमा उक्त कम्पनाीमा काम गर्दै आएका थिए ।
सोविन्द्र जोसीले रात्रि भोजमा एकाएक आफु माथि मुक्का हानेसंगै अन्य युवाहरुले निर्घात कुटपिट गरेको घाइते कार्कीले जनाए । आफु माथि कुटपिट गर्नेहरुलाई कारवाही र आयोजनामा भएको अनियमितताको तत्काल छानविन गरी दोषी उपर कारवाही गर्न उनले जोडदार माग गरेका छन् । घटनामा संलग्न भनेर आरोपित कम्पनीका संचालक सागरमोहन भट्टराईलाई हामीले मोवाइलमा सम्पर्क गर्दा यहाँ हुनुहुदैन एक छिन पछि फोन गर्नु भनी फोन राखे । उक्त फोन पुनः पटक पटक सम्पर्क गर्दा समेत उठेन।
क्यानका आयोजना प्रमुख प्रदीप अधिकारीलाई पनि घटनाको बारेमा र आयोजनामा भएको अनियमितताको बिषयमा सोधपुछ गर्न खोज्दा उनको मोबाइलको पनि स्विच अफ गरिएको छ । चाइनाको निर्माण कम्पनी सिएएमसीईले दशैंको अवसरमा रात्रि भोज आयोजना गरेको थियो ।