५ हजार लिटरभन्दा बढी अवैध घरेलु मदिरा नष्ट

 पोखरा न्यूज- १७, असोज । सुर्खेतमा जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट सङ्कलित अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीको रोहबरमा आज प्रहरीले बरामद गरिएको पाँच हजार १ सय ६१ लिटर मदिरा नष्ट गरेको हो ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले कार्यालयकै हाताभित्र खाडल खनेर अवैध घरेलु मदिरा र गाँजा नष्ट गरेको जानकारी दिए । उनका अनुसार तयारी अवस्थाको एक हजार ३ सय ५४ र कच्चा पदार्थका रुपमा रहेको तीन हजार ८ सय ७ लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको हो ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय तहका जनप्रतिनिधि, आमा समूहको सक्रियतामा जिल्लाका विभिन्न स्थानबाट अवैध घरेलु मदिरा बरामद गरिएको प्रहरीको भनाइ छ । सबैभन्दा बढी वीरेन्द्रनगर नगरपालिकाबाट बरामद गरिएको थियो ।

मदिरासहित बरामद गरिएका भाडाकुँडा प्रहरी कार्यालयमै राखिएको छ । जिल्ला प्रहरी प्रवक्ता रावलले पहिलोपटक सचेत गराउने र दोस्रोपटक अवैध मदिरा उत्पादन गरेको पाइएमा सङ्कलित प्रमाणसहित आन्तरिक राजश्व कार्यालयमा पठाइने बताए ।

गाउँघरमा छ्याप्छ्याप्ती पाइने घरेलु मदिराका कारण दशैँ तिहारमा हिंसात्मक घटना हुनसक्ने भएकाले प्रहरीले केही दिन अघि जिल्लाका सबै स्थानीय तहमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरी अवैध मदिरा बरामद गरेको थियो । त्यस्तै, प्रहरीले एक हजार १ सय ५५ गाँजाका बोटसमेत नष्ट गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button