प्रहरी दिवसको अवसरमा पोखरामा विभिन्न व्यक्ति तथा संस्था सम्मानित

दीननाथ बराल, पोखरा न्यूज -२४, असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले पेन्सन पाएकाहरुलाई ज्येष्ठ नागरिक भत्ता समेत दिनुपर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा शुक्रबार पोखरामा सम्पन्न भएको ६४ औं प्रहरी दिवस, श्रद्धान्जली तथा पुनर्मिलन समारोहको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले ज्येष्ठ नागरिकहरुले विशेष भूमिकामा पेन्सन पाएकोले उनीहरुलाई अभिभावकत्व वहन गराउन पनि राज्यले ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराउनु पर्नेमा जोड दिएका हुन्।

उनले भने “ज्येष्ठ नागरिक भत्ता सम्मान भत्ता हो, राष्ट्रमा पुर्याएको योगदानको मुल्याङकन गरी राज्यले सामाजिक न्याय र सम्मानको दृष्टिले सवैलाई समान व्यवहार गर्नुपर्छ ।” स्वदेश तथा विदेशमा पेन्सन खाएकाहरुलाई सम्मान गर्नुपर्ने बताएका मुख्यमन्त्री गुरुङले विशेष भूमिका पाएकोले पेन्सन पायो भन्दैमा ज्येष्ठ नागरिक भत्ता पाउनु हुदैन भन्नु अनुचित तर्क भएको जनाए । उनले भने “नेपालका धेरै हाकिमहरु सचिव भए, मुख्य सचिव भए, तीनै आयोगका प्रमुख हुने, राजदुत तिनैले पट्काउने, तिनले धेरै पेन्सन पाइरहने तीनलाई देखेर यो चाहि दुईवटा दिन हुदैन भनेर रोकिएको हो, त्यो रोक्दा सामान्य पेन्सनरलाई पनि रोकेको हो, यो कुरालाई सच्याउनु पर्छ, यो कुरालाई नेपाल सरकारले सच्याउनु पर्छ । ” अन्तर प्रदेश परिषदको बैठकमा यस बिषयलाई उठाउने मुख्यमन्त्री गुरुङले बताए ।

संरचनागत, संस्थागत, कानुनी हिसावले पहल भई रहे पनि हालसम्म प्रहरी प्रदेशको अझै पनि सवै प्रदेशमा कामको छिनोफानो नभएको बताए । उनले भने “ सात प्रदेशमा हालसम्म प्रहरी संगठनको विस्तार भई सकेको छैन्, अहिले पनि हामी संक्रमणकालिन अबस्थामा छौं । ” संघिय सासन प्रणालीको कठिनाइको रुपमा रहेको प्रदेश प्रहरीको संगठन विस्तार हाल संक्रमणकालिन अबस्थामा रहेकोले यो अबस्थामा बढी धैर्यताका साथ देशको शान्ति सुरक्षा कायम गर्न मुख्य मन्त्री गुरुङले आग्रह गरे ।

उनले भने “ हामी धेरै अप्ठ्यारो अवस्थामा छौं, हाम्रो प्रदेशका धेरै ठाउँमा अझै पनि प्रहरी चौकी छैन, एक्दमै साघुँरो अप्ठ्यारो अबस्थामा पनि नेपाल प्रहरीले जसरी शान्ति सुरक्षा कायम गरी अपराध नियन्त्रण गर्ने कुरामा अहोरात्र खटिदै आएको छ, यसमा सवैलाई धेरै धन्यवाद दिन चाहन्छु । ” प्रहरी एक्लै भन्दा समुदायसंगको सहकार्यमा धेरै काम गर्न सक्ने बताएका मुख्यमन्त्री गुरुङले यसमा प्रहरीले निरन्तरता दिनु पर्नेमा जोड दिए । हरेक पालिकामा एक प्रहरी चौकी हरेक पालिकाको केन्द्रमा एउटा प्रहरी चौकी अनिवार्य हुनुपर्ने भएकोले कतिपय ठाउँमा भवनको संरचनाको अभाव झेल्नु परेकोले आगामी ५ बर्ष भित्र पुरा गर्ने उनले बताए ।

प्रत्येक स्थानिय प्रशासनिक केन्द्रमा प्रहरी भवन निर्माण गरी प्रहरीलाई श्रोत र साधनले उपयुक्त सम्पन्न बनाउने तर्फ प्रदेश सरकारको ध्यान केन्द्रित भएको मुख्यमन्त्री गुरुङले जनाए । प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी र कर्णाली प्रदेशले छुट्टै प्रहरी तालिम केन्द्र स्थापना गर्नुपर्ने उनले जनाए । संघ सरकारसंग समेत प्रदेश प्रहरी तालिम केन्द्र स्थापनाको लागि कुरा राखेको बताउदै मुख्य मन्त्रीगुरुङले यसै बर्ष प्रहरी प्रदेश तालिम केन्द्रको स्थापना गर्ने जनाए । संघिय प्रणाली अनुसार संघिय प्रहरी संरचना, संघिय सासन प्रणालीका बारेमा समेत दक्षता हासिल गर्न पनि विश्वका मुलुकहरुमा के कस्तो परिपाटी रहेको छ त्यसको बारेमा बुझ्न आवश्यक भएको मुख्यमन्त्री गुरुङले जनाए । अपराधको रोकथामको लागि पनि आधुनिक प्रविधियुक्त कसरी प्रहरी निर्माण गर्ने प्रहरी जनशक्तिलाई कसरी आधुनिक क्षमता यूक्त बनाउने बिषयमा सोच्नु पर्ने समय आएको उनले बताए ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले पुरानो तरिकाबाट प्रहरीको नियमन गर्न कठिनाई हुने गरेको बताए । समय परिस्थिती अनुसार प्रविधि र आधुनिकता तर्फ प्रहरीको कार्यशैलि र प्रविधिको प्रयोग हुनु पर्नेमा उनको जोड थियो । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, गण्डकी प्रदेश सरकारका मुख्य सचिव हरिप्रसाद बस्याल, पूर्व प्रहरी संगठन कास्कीका अध्यक्ष एकनारायण शर्मा लगायतले प्रहरीका बारेमा चर्चा गरेका थिए । उक्त अवसरमा प्रहरी चौकी स्थापनाको लागि जग्गा उपलब्ध गराएका मुस्ताङ ४ घाँसाका बिक्रम गौचन, पर्वत १ विहादीका भोलानाथ शर्मा, तनहुँका बिरेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो ।

त्यसै गरी शान्ति सुरक्षा कायम गर्न तथा ट्राफिक सम्बन्धि सचेतनामा उल्लेखनिय रुपमा सहयोग पुर्याएका फेवा टेलिभिजन, नवप्रभात मावि, सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रथम उपाध्यक्ष भिम पराजुली, जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख मुरारी मिश्र, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक शयामु अर्याल, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका प्रहरी सहायक निरिक्षक सुजन घिमिरे, कास्कीका प्रहरी नायव उपरिक्षक रामबहादुर अधिकारी, पूर्व प्रहरी निरिक्षक नरबहादुर शेरचन लगायतका सम्मानित भएका थिए । कार्यक्रम गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका प्रहरी नायव महानिरिक्षक विनोद शर्मा घिमिरेको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button