पोखरामा २५ करोडको लगानीमा नेपालकै ठुलो बायो ग्याँस उद्योग

दीननाथ बराल, पोखरा न्यूज – २५, असोज । सम्भवत नेपालको सबैभन्दा ठूलो बायो ग्याँस उद्योग पोखरामा संचालनमा आएको छ । गण्डकी उर्जा प्रालिको नामबाट पोखरा-३२ स्थित मजुवामा हालै संचालनमा आएको उद्योगबाट बायो ग्याँस उत्पादन हुन शुरु भएको हो ।

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र विश्व बैंकको समेत सहयोगमा विगत तीन महिना अघिदेखि संचालनमा आएको उद्योगबाट हाल दैनिक ६ सय किलो ग्याँस उत्पादन हुदै आएको प्रालिका प्लान म्यानेजर निमेश कुमार झाले बताए । उनले भने “यो प्लानमा हामी अहिले प्रारम्भिक चरणमा दैनिक जसो ५/६ सय किलो बायो ग्याँस मात्र उत्पादन गर्ने गरेकाछौं, यद्यपी हामीलाई प्रति दीनमा सहज ढंगबाट ४५ टन फोहोर प्राप्त भएमा दैनिक हामीले २ सय सिलिण्डर ग्याँस उत्पादन गर्न सक्छौं । ”

१६ जना युवा उद्यमीबाट शुरु गरिएको उद्योगमा हाल ४० जनाले रोजगार प्राप्त गरेको प्लान म्यानेजर झाले बताए । उनका अनुसार ८० प्रतिशत जसो स्थानियले रोजगार पाएका हुन् । उद्योगमा २७ हजार घनमिटर र १३ हजार घनमिटरको गरी जम्मा ४० हजार घनमिटर डाइजेष्टर रहेको प्रालिले जनाएको छ । जुन नेपालकै ठुलो बायो ग्याँस उद्योग हो । ३७ हजार घनमिटरको बायो ग्याँस उद्योग परासिमा रहेको छ ।

जर्मनी प्रविधिमा आधारित रहि जर्मन, इटली, अमेरीका, भारतबाट समेत विभिन्न मेसिन सहितका निर्माण सामाग्रिबाट उद्योग हालै संचालनमा ल्याएको प्लान म्यानेजर झाले जनाए । ४० रोपनी क्षेत्रफलमा रहेको उद्योगले ग्याँसको साथमा प्राङगारिक मल समेत उत्पादन गर्ने उनले जनाए । उद्योग पूर्ण रुपमा संचालन हुदा दैनिक १० देखि १२ टन मल उत्पादन हुने भएको प्लान म्यानेजर झाले बताए । मलको उद्योगमै आम उपभोक्ताहरुको लागि प्रति केजी १० र अन्य क्षेत्रमा पुर्याउदा प्रति केजी २५ रुपैया पर्ने भएको प्रालिले जनाएको छ ।

त्यसै गरी प्रालिले कुहिने फोहोर पोखरा क्षेत्रमा नपाएका कारण हाल नवलपुरसम्म पुगेर फोहोर ल्याउने गरेको छ । पोखराबाट निस्कने फोहोरलाई बर्गीकरण नगर्दा र महानगरले कम्पनीलाई फोहोर दिने बिषयमा चासो नदिएका कारण कम्पनीले फोहोरको खोजिमा ५/६ घण्टा भन्दा बढी टाडाबाट फोहोर ल्याउदै आएको छ । कम्पनीले कुहिने फोहोरलाई ढुवानी सहित प्रति केजी एक रुपैया दिने भएको छ ।

विगत तीन महिनादेखि ग्याँस उत्पादन भएसंगै ग्याँसको लागि बजारको कुनै अभाव नभएको तर फोहोरको भने निकै समस्या रहेको प्रालिका संचालक मध्येका एक कुशल गुरुङले बताए । उद्योगमा हालसम्म करिब २५ करोड लगानी भएको उनले जनाए ।
गाइको गोवर, कुखुराको सुली, प्रेसमड, कुहुने कुनै प्रकारको फलफुल तरकारी, झारपातको साथमा पानी समेत हालेर मिक्स गरी मेसिनबाट डाइजेष्टरमा पठाइने जसका कारण मिथानोजेन्स व्याक्टेरियाले बायो ग्याँस उत्पादन हुने प्यान म्यानेजर झाले जनाए ।

बायो ग्याँस शुद्धिकरण गरी ९५ प्रतिशत मिथेन सिलिण्डरमा भरिने भएको उनले जनाए । पोखराको मणिपाल शिक्षण अस्पातल, फिस्टेल हस्पिटलको क्यान्टिन, एस.आर.के.सी. क्याटरीङ, चाउमिन उद्योग लगायतका ठाउँमा उक्त ग्याँसको प्रयोग हुन थालेको छ । तापशक्ति बढी हुने, उक्त ग्याँस एलपी.ग्याँस भन्दा आगलागीका दृष्टिले केही कम जोखिम हुने, भाडा कालो नहुने, जाडो मौसममा समेत नजम्ने, सझा ग्याँस भएको प्यान म्यानेजर झाले जनाए ।

उद्योगले स्थानिय ८० प्रतिशत जसो गरी हाल ४० जनालाई प्रत्यक्ष रोजगारी दिएको कम्पनीले जनाएको छ । ७५ केजीको खाली सिलिण्डर ग्याँसमा ११.६ केजी बायोँ ग्याँस भरिने भएको छ । एलपी ग्याँसमा १४.२ केजी तौल हुन्छ । सिलिण्डर भरिएको बायो ग्याँस ११.६ केजी तौल भइकन एलपी ग्याँस बराबरको काम गर्ने भएको झाले जनाए । उद्योगले प्रति केजी ग्याँसको एक सय रुपैयामा बिक्रि गर्दै आएको छ । उक्त उद्योग २०७४ वैशाखबाट निर्माण सुरु भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले घर घरमा बायो ग्याँसको अवधारण ल्याएसंगै आफुहरुले पनि पोखरा क्षेत्रमा फोहोर सदुयोग गरी मोहोरमा परिणत गर्ने उद्योगको रुपमा बायो ग्याँस उद्योग संचालनमा ल्याएको संचालक गुरुङले जनाए । आफ्नो क्षेत्रमा कम्तिमा पनि खेर गएको फोहोरलाई सहि ढंगले सदुपयोग गरी ग्याँसमा आत्मनिर्भर बनाउन यस्ता उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने उनको भनाई थियो ।

यसैबिच, गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले हालै उद्योगको अध्ययन अवलोकन गरेकाछन् । प्रदेशको समृद्धिमा यस्ता उत्पादनसंग जोडिएका उद्योगको दिगोपनको लागि सवैले सहयोग गर्न उनले आग्रह गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button