यसरी गरियो छिमेकी राष्ट्रपति ‘सी’लाई स्वागत

पोखरा न्यूज – २५, असोज ।  दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्म उनी सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उनको स्वागत गरेका थिए ।

अपराह्न पौने ५ बजे राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनको स्वागतका लागि कर्मचारी र सर्वसाधारण ४ बजेदेखि नै सडकमा दुवै देशको झण्डा लिएर स्वागतका लागि प्रतीक्षारत थिए । उनीहरुले करीब दुई घण्टाको प्रतीक्षापछि सीलाई स्वागत गर्न पाएका थिए । सी विमानस्थलबाट सोल्टी होटेलमा जाँदा सडकका दुवै किनारमा रहेका कर्मचारी, युवा, विद्यार्थी, बालबालिका र सर्वसाधारणले उनलाई नेपाल र चीनको झण्डा हल्लाएर स्वागत गरेका थिए ।

उनलाई विभिन्न जातजातिको पहिचान झल्कने झाँकी, पञ्चैबाजा र नाचले समेत स्वागत गरिएको थियो । तीनकुने, नयाँ बानेश्वर र बबरमहल, माइतीघर मण्डल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी र सोल्टीमोडसम्म उनको स्वागतका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियोे ।

राष्ट्रपति सीलाई स्वागतका लागि बनाइएका स्वागतद्वार, परम्परागत संस्कृति झल्कने ब्यानर, सडकको दुवैतर्फ राखिएका फूलसमेत राखिएको थियो । उनी त्रिभुवन विमानस्थलमा ओर्लिएसँगै सवारी मार्गलाई खाली गरिएको थियो ।

चिनियाँ विशिष्ट पाहुनाको आवागमन हुने सडकमा ठाउँठाउँमा ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’ लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका थिए । स्वागतका लागि जम्मा भएका कर्मचारी र सर्वसाधारण राष्ट्रपति सी आउनुअघि दुवै देशको झण्डासहितको तस्वीर खिंच्न व्यस्त थिए ।

उनी आउनुअघि सडकको धुलो हटाउन सडकमा पानी र ब्रुमरले सरसफाइ गरिएको थियो । राष्ट्रपति सीको स्वागतपछि सर्वसाधारणले बेहुलीझैँ सिंँगारिएको माइतीघरमण्डलमा सेल्फी खिंच्न व्यस्त देखिन्थे । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी आजदेखि दुईदिने राजकीय भ्रमणमा यहाँ आएका हुन् ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. सहयोगको अपे़क्षा त छंदैछ! निर्मला हत्याकाण्ड, ३३ किलो सुन, महरा काण्ड, भ्रष्टाचार, महँगी सबै समस्या समाधान गर्न पनि सहयोग माग्ने कि?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button