बार्बाडोस् ट्राइडेन्ट्सलाई क्यारेबियन प्रिमियर लिगको उपाधि

पोखरा न्यूज – २६, असोज । क्यारेबियन प्रिमियर लिगको उपाधि बार्बाडोस ट्राइडेन्ट्सले जितेको छ । शनिबार भएको खेलमा गुएना एमेजोन वारियर्सलाई २७ रनले पराजित गर्दै ट्राइडेन्ट्सले आफ्नो दोस्रो सिपिएल् उपाधि उचालेको हो ।

सन्दीप लामिछाने खेल्ने टोली ट्राइडेन्ट्सले उनको अनुपस्थितिमा पनि प्रतियोगितामा शानदार कमब्याक गर्दै उपाधि यात्रा सफल बनाएको हो । खेलमा टस जित्दै पहिले ब्याटिङ रोजेको बार्बाडोसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७१ रनको चुनौतीपूर्ण स्कोर तयार गर्यो । उसका लागि जोनाथन चार्ल्सले ३९(२२) रन बनाउँदा जोनाथन कार्टरले शानदार अर्धशतकीय ५०(२७) रनको योगदान दिए ।

इनिङको पछिल्लो भागमा आक्रामक ब्याटिङ प्रदर्शन गरेका कार्टरको इनिङको मद्दतले बार्बाडोसले अन्तिम ५ ओभरमा ६१ रन जोडेको थियो । गुयनाका इमरान ताहिरले चार ओभरमा २४ रन खर्चंदै १ विकेट लिए । बेन लघ्लिन, किमो पल र रोमारियो शेफर्डले पनि एक-एक विकेट लिए ।

जवाफमा १७२ रनको लक्ष्य वारियर्सलाई निकै कठिन बन्न पुग्यो र २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रनमा सीमित बन्न पुग्यो । उसका लागि ब्रेन्डन किङ्गले ४४, निकोलस पुरनले २४ र किमो पलले २५ रन बाहेक अरु कसैले उल्लेख्य योगदान दिन सकेनन् र टिम अनन्त लक्ष्य भन्दा २७ रन टाढै रहँदै उपाधिबाट वञ्चित रह्यो ।

वारियर्सका रेमन रेइफरले ४ ओभरमा २४ रन खर्चंदै ४ विकेट चट्काए भने एस्ले नर्सले पनि ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिदै निकै किफायती बलिङ प्रदर्शन गरे । ह्यारी गर्नीको भागमा पनि दुई विकेट रह्यो ।

खेल अघि लगातार ११ खेल जितेको वारियर्सले अन्तिम खुड्किलो भने पार लगाउन सकेन । पाँचौ फाइनल खेलेको वारियर्सले उपाधि भने एक पटक पनि जित्न सकेको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button