पर्यटकीय गन्तव्य सौराहामा पर्यटकको आगमन बढ्यो

पोखरा न्यूज – २६, असोज । दशैँपछि देशकै तेस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको चितवनको सौराहामा पर्यटकको चहलपहल बढेको छ । दशैँअघि सुनासनजस्तै बनेको सौराहामा यतिबेला पर्यटक आउनेक्रम बढेको हो ।

सौराहामा अहिले सबैभन्दा धेरै पर्यटक आउने बेला हो । विगतका वर्षमा दशैँअघिदेखि नै पर्यटकको भीडभाड हुनेगरेको तर यसपटक ढिला गरी पर्यटकको चहलपहल बढेको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए । उनले सुनसान बनेको सौराहा अहिले भरिभराउ हुन थालेको जानकारी दिए । उनले भने, “आन्तरिक पर्यटक ह्वात्तै बढेको छ, तर रात बिताउने पर्यटकको सङ्ख्या अझै कम छ ।” केही वर्षयता आन्तरिक पर्यटककै भरमा सौराहाको पर्यटन व्यवसाय चलेको छ । नेपालीहरू बिदाको समयमा घुम्ने संस्कार बढेकाले त्यसको प्रभाव बर्सेनि पर्यटकको सङ्ख्या बढ्दै गएको भट्टराई बताउछन ।

पछिल्लो समय चितवनमा देखिएको डेङ्गुको प्रकोप र काठमाडौँबाट चितवन भित्रिने सडकको दुरावस्थाका कारण पर्यटकको चहलपहल घटेको सौराहाका रेष्टुरेन्ट व्यवसायी गोकर्ण गिरी बताउछ । उनले दशैँपछि घुम्ने परम्परा रहेकाले अब पर्यटकको सङ्ख्या बढ्ने विश्वास व्यक्त गरे ।

पछिल्लो समय सौराहामा विदेशी पर्यटकभन्दा स्वदेशी पर्यटकको सङ्ख्या बढ्दो छ । अहिले पनि आन्तरिक पर्यटक नै धेरै छन् सौराहामा । “सौराहाको राप्ती किनार क्षेत्रका रेष्टुरेन्टहरू भरिभराउ हुन थालेका छन्”, रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले भने , “परिवारसँग घुम्न आउने पर्यटक बढेका छन्, बाह्य पर्यटक भने फाट्टफुट्ट केही मात्रामा मात्र देखिन्छन् ।” चिनियाँ र भारतीय पर्यटक बढी छन् । सौराहामा ५० प्रतिशत आन्तरिक पर्यटक र ३० प्रतिशत बाह्य पर्यटक आउने गरेको व्यवसायीको भनाइ छ ।

पर्यटक आउने ‘सिजन’ बल्ल शुरु भएकाले विस्तारै पर्यटक बढ्दै जाने होटल व्यवसायी सुमन घिमिरे बताउछन । तुलनात्मकरूपमा यसपटक पर्यटकको सङ्ख्यामा कमी आए पनि पर्यटकको सङ्ख्या बढ्ने क्रममा रहेको उनले बताए  । “नोभेम्बरसम्म नै पर्यटकको आउने सिजन हो”, उनले भने, “गत वर्षकै अनुपातमा पर्यटक आउने अनुमान गरेका छौँ ।”

सौराहामा गतवर्षको तुलनामा यो सिजनमा यसपटक २० प्रतिशत पर्यटक पनि भित्रिएका छैनन् । गत वर्ष यसबेला दैनिक एक हजारको हाराहारीमा पर्यटक भित्रिएको क्षेत्रीय होटल सङ्घले जनाएको छ । विशेषगरी चितवन राष्ट्रिय निकुञ्ज अवलोकन, हात्ती सफारी र जिप सफारीका लागि पर्यटकहरू सौराहा आउने गरेका छन् । साना तथा ठूला १ सय ५० होटल र ८० रेष्टुरेन्ट रहेको सौराहामा सात हजार पर्यटक अट्ने क्षमता रहेको छ । गत वर्ष सौराहामा स्वदेशी तथा विदेशी गरी डेढ लाख पर्यटक भित्रिएका थिए । चितवन आउने पर्यटकमध्ये ८० प्रतिशतले सौराहा घुम्ने गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button