पोखरामा विश्व विपद् जोखिम न्यूनिकरण दिवस मनाइदै

दीननाथ बराल, पोखरा न्यूज – २६, असोज ।  गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरीबहादुर चुमानले भवनहरु ठेकेदार र सडकहरु डोजरका अपरेटरको भरमा निर्माण भएको बताएका छन्।

विश्व विपद जोखिम न्यूनिकरण दिवसको सन्दर्भमा आइतबार पोखरामा आयोजित प्रभातफेरी कार्यक्रममा बोल्दै मन्त्री चुमानले देशमा विना योजना विकास निर्माण भएको प्रशंगमा घरहरु ठेकेदार र सडकहरु अपरेटरकै भरमा निर्माण भएकोले त्यस्ता घर तथा सडकहरु जोखिम पूर्ण रहेको दाबी गरेका हुन्।  उनले भने “ हाम्रो विकास भनेको विना अध्ययन र अनुसन्धान विना भईरहेको छ, हाम्रा घरहरु ठेकेदारको भरमा बनि रहेकाछन भने हाम्रो सडक यातायात डोजरको अपरेटरको भरमा बनि रहेका छन्, यस्तो अवस्थामा हाम्रा घर र सडक कसरी सुरक्षित हुन सक्छन्।”

हरेक स्थानिय तहबाट जोखिम युक्त क्षेत्रहरुको पहिचान गरी प्राकृतिक जोखिमलाई न्यूनिकरण गर्न पूर्व सर्तकता अपनाउनु पर्ने मन्त्री चुमानको भनाइ छ । सवै पालिकाहरु पूर्व सर्तक हुन आग्रह गर्दै मन्त्री चुमानले विपद व्यबस्थापन गर्न स्थानिय, प्रदेश र संघिय सरकारले बजेट बढाउनु पर्नेमा जोड दिए । गण्डकी प्रदेश बाढी पहिरोको उच्च जोखिम रहेको उनले जनाए । विपद व्यबस्थापन गर्न आमुल परिवर्तन हुने गरी, नयाँ सोच बिचारका साथ सरकारी तथा गैरसरकारी तवरबाट आजै लाग्नु पर्ने समय आएको मन्त्री चुमानले बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले कास्की पनि विपदको उच्च जोखिममा परेकोले यसमा सवै आम जनता जोखिम व्यबस्थापन र न्यूनिकरणमा बिषेश ध्यान दिन आग्रह गरे । जोखिम व्यबस्थापन तथा न्यूनिकरण गर्न सरकारी तथा गैरसरकारी संस्था बीच समन्वय र सहकार्य आवश्यक भएको उनले बताए ।

नेपाल रेडक्रस सोसाइटीका दिवाकर सुवेदीले विपद व्यवस्थापन सम्बन्धि हाल भएको प्रयास र केही बर्ष अघि नेपालमा भूकम्पबाट भएको क्षतिको बारेमा जानकारी गराएका थिए । अत्याधिक चाप, बस्ती, बस्तु, उद्योग लगायका कारणले गर्दा शहरमा नै बढी जोखिम हुने हुदा शहरमा बढी विपद व्यवस्थापन र न्यूनिकरण सम्बन्धि सचेतना कार्यक्रम आवश्यक भएको उनले जनाए ।

अन्तराष्ट्रिय विपद व्यवस्थापन दिवस (अक्टुवर १३ तारिख) को सन्दर्भमा पोखरामा सप्ताह व्यापी विभिन्न कार्यक्रमको अन्तर्गत पहिलो दिनमा आइतबार प्रभातफेरीको आयोजना गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीको अध्यक्षतामा शुक्रबार पोखरामा बसेको बैठकले असोज २६ देखि कार्तिक २ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाउने निर्णय गरेको थियो ।

पोखराको सृजनाचोकबाट आइतबार विहान सुरु भएको प्रभातफेरी रत्नचोक, राष्ट्रबैंकचोक, शहिचोक हुदै जिल्ला समन्वय समितिको सभाहलमा पुगेर समापन भएको थियो । नेपाल रेडक्रस सोसाइटी, कास्की, सुरक्षा निकायका सवै निकायहरु, सवै मन्त्रालयहरु, जिल्ला प्रशासन कार्यालय, उद्योग बाणिज्य संघ, गैरसरकारी संस्था, नागरिक समाजका प्रतिनिधिहरु, नेपाल स्काउट लगायतकाको प्रभातफेरीमा सहभागिता रहेको थियो ।

त्यसै गरी असोज २७ गते नेपाल रेडक्रस सोसाइटी उपशाखा १७ को संयोजनमा राष्ट्रबैंक चोकमा रंक्तदान कार्यक्रम हुने भएको छ । “अत्यावश्यक पूर्वाधारमा विपदबाट हुने क्षति घटाऔं, आधारभूत सेवा प्रवाह रोकिनबाट जोगाऔं ”भन्ने मुल नाराका साथ नेपालमा पनि अन्तर्राष्ट्रिय विपद व्यवस्थापन दिवस मनादैछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button