दक्षिण अफ्रिका विरुद्ध भारत इनिङ्स र १ सय ३७ रनले विजयी

पोखरा न्यूज – २६, असोज । फ्रिडम सिरिज अन्तर्गत भारतले दक्षिण अफ्रिकालाई इनिङ्स र १ सय ३७ रनले पराजित गरेको छ । यससँगै भारतले तीन खेलको शृङ्खला पनि २-० ले कब्जा गरेको छ ।

आज चौथो दिनको खेलमा दक्षिण अफ्रिकालाई दोस्रो इनिङमा १ सय ८९ रन मै सीमित गर्दै भारतले खेल जितेको हो । यसअघि दक्षिण अफ्रिकाको पहिलो इनिङ पनि हिजो २ सय ७५ रनमै समिटिएको थियो । आज बिहान भारतले फलोअन लगाउने निर्णय गरेपछि दक्षिण अफ्रिका दोस्रो पटक ब्याटिङमा उत्रेको थियो ।

भारतका उमेश यादव र रविन्द्र जडेजाले ३-३ तथा रविचन्द्रन आश्विनले २ विकेट चट्काएसँगै अफ्रिका १ सय ८९ रनमै सीमित भयो । खेलमा अफ्रिकाका डिन एल्गरले ४८(७२) र टेम्बा बाभुमाले ३८(६३) रनको योगदान दिएका थिए । यस अघि खेलमा भारतले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ६ सय १ रनको विशाल स्कोर खडा गरेको थियो । भारतका लागि विराट कोहली २ सय ५४(३३६) र मायाङ्क अग्रवालले १ सय ८ रन बनाएका थिए । त्यस्तै जडेजाको ९१, रहाणेको ५९ र पुजाराको ५८ रनपछि भारतले विशाल योगफल तयार गरेको थियो ।

दक्षिण अफ्रिकालाई पहिलो इनिङमा सस्तैमा समेट्ने क्रममा रविचन्द्रन आश्विनले ४ विकेट र उमेश यादवले ३ विकेट लिएका थिए । अब तेस्रो टेस्ट १९ अक्टोबर देखि राँचीमा हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button