म्याग्दीको पर्यटकीयस्थल लभ्ली हिलमा २८ लाख लागतमा भ्यूटावर बन्ने

पोखरा न्यूज-२७, असोज । म्याग्दीको पर्यटकीयस्थल लभ्ली हिल (मायालु डाँडा) मा पर्यटकलाई थप आकर्षित गर्नका लागि भ्यूटावर निर्माण गरिनेभएको छ । बेनी नगरपालिका–२ खबरास्थित लभ्ली हिलमा भ्यूटावर बन्ने भएको हो । सदरमुकाम बेनीदेखि छोटो दूरीको सुन्दर गन्तव्य लभ्ली हिलमा म्याग्दी विकास मञ्चले रु २८ लाखको लागतमा भ्यूटावर बनाउन लागेको हो ।

म्याग्दी विकास मञ्च तथा म्याग्दी डेभलपमेण्ट ट्रष्टको दोस्रो वार्षिक साधारणसभाको अवसरमा पर्यटनको विकासमा सघाउने उद्देश्यले टावरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएको छ । मञ्चका प्रथम उपाध्यक्ष प्रमोद श्रेष्ठका अनुसार नगरपालिकाभित्रको पर्यटकीय क्षेत्रमा पूर्वाधार विस्तार भए पर्यटकलाई आकर्षित गर्न सकिने भएकाले पनि भ्यूटावर बनाउन लागिएको बताए ।

युवा पुस्ताको अत्यधिक रोजाइमा रहेको तथा जमघट हुन थालेपछि लभ्ली हिल नामकरण गरिएको पर्यटकीय स्थलमा पछिल्लो समय जिल्लाभित्रका साथै विभिन्न जिल्लाबाट म्याग्दी तथा मुस्ताङ आउने आन्तरिक पर्यटकहरूसमेत पुग्न थालेपछि भ्यूटावरले समेत थप आकर्षित गर्ने जनाइएको छ । बेनीको शीरमा अवस्थित लभ्ली हिलमा सदरमुकाम बेनीबाट करीब २५ मिनेटको पैदल र सवारीसाधनमा १० मिनेटमै पुग्न सकिन्छ ।

लभ्ली हिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्रहरु देख्न सकिन्छ । म्याग्दी जिल्लाको अधिकांश भू-भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौँ अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ ।

बेनी नगरपालिका, प्रवासी म्याग्देलीको संस्था मोना आईईसी र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा करीब ८० लाखको लागतमा आकर्षक पदमार्गसमेत बनेको छ । ‘मोना–बेनी–लभ्ली हिल’ पदमार्गले समेत लभ्ली हिलमा पुग्ने पर्यटकलाई सहज भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button