दशैँमा ३० हजार पर्यटकले गरे फेवातालमा डुंगा सयर

दिननाथ बराल, पोखरा न्यूज-२७, असोज ।  नेपालीहरुको महान चाड विजया दशमीको अवससरमा पोखराको पर्यटकीय स्थल फेवातालमा करिब ३० हजार जना पर्यटकले डुंगा सयर गरेका छन् । वडा दशैंको अवसरमा यस बर्ष पोखराको फेवातालमा करिब ३० जना पर्यटक तथा भत्तजनहरुले डुंगा सयर गरेको फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए ।

दशैं टिकाको अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमाको दिन (आइतबार)मा मात्रै फेवातालमा दश हजार भन्दा बढीले डुंगा सयर गरेको अध्यक्ष नेपालीले दाबी गरे । बर्ष दिनकै सवै भन्दा बढी डुंगा सयर गर्ने र तालवाराही मन्दिरमा दर्शन गर्न तथा जमरा सेलाउन जानेहरुको सङख्याले गर्दा बर्ष दिनकै सवै भन्दा बढी दर्शनार्थीहरु तालवाराही मन्दिरमा पुग्ने हुदा भिड हुने गरेको उनले बताए ।

समितिसँग हाल बाराही घाटमा मात्रै ३ सय ६२ वटा डुंगा रहेको उनले बताए । उनले भने “ यस बर्षको दशैं पर्वको अवसरमा पछिल्लो दुई दिन बाहेक अधिकाशं दिनमा पानी परेर अघिल्ला बर्षको तुलनामा यस वर्ष केही कम पर्यटक तथा दर्शनार्थीहरु तालवाराही मन्दिरमा दर्शन गर्न आएका हुन्। ” फेवातालमा हुने जोखिमलाई न्यूनिकरण गर्न संगठनले लाइफ ज्याकेट अनिवार्य गरेको छ भने वाराही घाटमा सशस्त्र प्रहरी वलको रेस्क्यू टिम तयारी अबस्थामा रहेको छ ।

अन्य दिनमा सामान्यतया डेढदेखि दुइ सय वटा डुंगा संचालनमा आउने भए पनि कोज्राग्रत पूर्णिमाको अवसरमा भने ३ सय ६० वटा भन्दा बढी डुंगा दिनभरी जसो परिचालन भएको व्यवसायीहरु बताउछन् । त्यसै गरी शनिबार र आइतबार दैनिक जसोे एक सय ६० वटा डुंगाले घण्टाको हिसावमा पर्यटकलाई फेवातालमा डुंगा सयर गराएकाछन्। यसरी हेर्दा दशैंको अवसरमा डुंगा व्यवसायीहरुले करिब ३० लाख आम्दानी गर्न सफल भएका छन् । आधा घण्टाको डुंगा सयर गर्दा ४ सय ५०, एक घण्टाको ६ सय रुपैया र ताल घुमाएको १ हजार ५ सय सम्म व्यवसायीहरुले लिने गरेका छन्।

प्रति डुंगाले दुई-तीन पटकसम्म पालो आउने गरेको व्यवसायीहरु बताउछन्। पोखराको फेवातालमा मात्र करिब ८ सय डुंगा रहेको अध्यक्ष नेपालीले बताए । संगठनले मन्दीरमा पुर्याएको प्रति व्यक्ति ६० रुपैया र लाईफ ज्याकेटको १० रुपैया लिने गरेको थियो । छत्रे डुंगामा १०, अन्य डुंगामा ८ जना राखेर मन्दीरमा दर्शनार्थीहरुलाई पुराएका थिए । डेंगु रोगका कारण पनि पोखरामा डुंगा सयर गर्ने पर्यटकहरुमा केही कमी आएको उनले जनाए ।

दशैंको अवसरमा डुंगा व्यावसायीहरुलाई धेरै पर्यटकहरु आउने हुदा आफुहरुलाई आर्थिक लाभ समेत हुने अध्यक्ष नेपालीले जनाए । फेवातालमा हाल जलकुम्भी झारले गर्दा आफ्नो व्यवसायलाई समेत असर पारेको बताउदै उनले तत्काल तालको माथिल्लो सतहमा देखिएको जलकुम्भी झार हटाउन पुनः विभिन्न संघ संस्था प्रति आव्हान गरेका छन् । ८१ बर्षका अध्यक्ष नेपाली आफ्नो बाल्य अवस्थामा फेवातालको पानी सिधै पिउने गरेको बताउदै हाल तालको पानी छुन समेत घिन लाग्दो भएको बताए । जथभावी रुपमा फोहोर पानी तालमा मिसाउदा तालमा फोहोर भएको उनले दाबी गरे ।

मनोकाक्षा पुरा हुने धार्मिक विश्वासले गर्दा दशैं सहित कोजाग्रत पुर्णिमाको दिनमा दर्शनार्थीहरुको अत्याधिक भिड हुने गरेको तालवाराही मन्दिर संरक्षण समितिका अध्यक्ष हिकमत बहादुर कुवंरले बताए । उनका अनुसार यस बर्ष दानपेटिका सहित मन्दिरमा दर्शनार्थीहरुले चढाएको भेटिबाट मात्र २ लाख ३३ हजार रुपैया संकलन भएको छ । गत बर्ष २ लाख ९३ हजार रुपैया दानपेटिका तथा भेटिबाट उक्त रकम संकलन भएको अध्यक्ष कुवंरले जनाए ।

उनका अनुसार अघिल्ला बर्षमा भेटि तथा दानपेटिमा ५ सय र एक हजारको पनि धेरै नोट भेटिए पनि यस बर्ष एक सय, ५० का बढी र ५ सय र एक हजारका निकै कम नोट भेटिएको छ । दर्शनार्थीहरुको सङख्या हेर्दा उस्तै लागे पनि दान गर्नेहरुको परिपाटीमा केही परिवर्तन भएको अध्यक्ष कुवंरले जनाए ।

उनले भने “ हामीले मन्दिर परिसरमा आउने जोगीहरुलाई स्वतन्त्र छाडिदिएका कारणले गर्दा दान दिनेहरुले सवै तर्फ बाड्दा पनि कम भेटि संकलन भएको हुन सक्छ ।” उक्त रकम मन्दिरको अक्षयकोषमा राख्ने भएको उनले जनाए । पोखरामा करिब ३ सय जना डुंगा व्यवसायीहरु रहेका छन् भने एक सय ५० जना जसो अर्कोको मजदुरी गर्ने डुंगा चालक रहेका छन्। अधिकांश डुंगामा स्वरोजगार चालक छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button