पर्यटकीय गन्तव्य बन्दै म्याग्दीको ऐतिहासिक मगर संग्रहालय

पोखरा न्यूज-२७, असोज ।  संसारकै उत्कृष्ट गन्तव्यस्थलमध्येको एक म्याग्दीको प्रसिद्ध पर्यटकीय क्षेत्र घोडेपानीका आमाहरुले १७ वर्षअघि २०६० सालमा प्रतिव्यक्ति पाँच/पाँच रुपैयाँ सङ्कलन गरी सञ्चालन गरेको मगर सङ्ग्रहालय मगर संस्कृति र जीवनशैली बुझ्ने र हेर्नेका लागि आँखिझ्याल बनेको छ ।

दुई सय वर्ष अघिका मगर समुदायले प्रयोग गर्ने सामाग्रीहरु सङकलन गरेर राखिएको छ । घोडेपानी आमा समूहले संचालन गरेको गण्डकी प्रदेशको पहिलो संग्रहालयमा आउने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दो छ ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीका महिलाले स्थापना गरी सञ्चालन गरेको सो सङ्ग्रहालयमा अहिले दैनिक आन्तरिक तथा बाह्य पर्यटकहरुको भीड लाग्ने गर्दछ । सङ्ग्रहालयमा सङ्ग्रहित जातीय पहिचान झल्कने कपडा, भाँडाकुडा, कृषि औजार, पुराना सिक्का, रुपैयाँ, भियाङ्गा, सय वर्षअघि प्रयोग गरिएका मदानी, ठेकी, मदिरा उत्पादन गर्ने भाँडालगायत मगर जातिले परम्परादेखि प्रयोग गर्दै आएका सम्पूर्ण सामग्री सङ्ग्रह गरिएको घोडेपानी मगर सङ्ग्रहालयकी प्रमुख एवम् घोडेपानी आमा समूहकी सदस्य सेउमाया पुनले बताइन ।

सङ्ग्रहालयकी प्रमुख पुनका अनुसार सङ्ग्रहालय २०६० सालमा १९ जना सदस्यले पाँच रुपैयाँ उठाएर सामुदायिक भवनको एउटा कोठा भाडामा लिई सङ्ग्रहालय स्थापना गरिएको थियो । सुरुमा घोडेपानीका मगरहरुको घरमा रहेका पुराना केही सामाग्रीहरु सङ्कलन गरी शुरु गरिएको सङ्ग्रहालय पछि विस्तार गरिएको हो ।

म्याग्दीका विभिन्न मगर बस्तीहरुमा पुगेर प्राचीन सामाग्रीहरुको खोजी गरी गाउँगाउँबाट सङ्कलन गरिएका सामग्रीहरु सङ्ग्रहालयमा राखिएको उनले जानकारी दिइन । सङ्ग्रहालयमा मगर समुदायको जन्मदेखि मृत्युसम्मका दैनिक जीवनमा प्रयोग हुने सामानहरूको संरक्षण गरेर राखिएको छ । मगर समुदायको जातीय पहिचान झल्कने कपडा, भाँडाकुडा, सिक्का, खेतीबालीमा प्रयोग हुने औजार सङ्ग्रहालयमा संरक्षण गरेर राखिएको छ । आमा समूहका सदस्य पुनका अनुसार आन्तरिक र बाह्य गरी दैनिक १ सय ५० जनाको अनुपातमा पर्यटकहरु सङ्ग्रहालयको अवलोकन गर्न आउँछन् ।

‘‘यो सङ्ग्रहालय मगर संस्कृति र जीवनशैली बुझ्ने गण्डकी प्रदेशकै सबैभन्दा पुरानो र महत्वपूर्ण सङ्ग्रहालय हो’’, स्थानीय पूर्णबहादुर पुनले भने, ‘यसको संरक्षण र सञ्चालनमा स्थानीय निकाय तथा प्रदेश सरकारले ध्यान दिनु आवश्यक छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button