पोखरामा हुने अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौडमा २ चिनियाँसहित २७ टिम सहभागी हुने

दीननाथ बराल, पोखरा न्यूज-२७, असोज । बुधबार पोखरामा आयोजना हुने अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगितामा चिनियाँ दुई टिम सहित २७ टिम सहभागी हुने भएका छन्। पोखरामा हुने उक्त ४२.२ किलोमिटर दौड प्रतियोगिताको लागि दुई टिम सहित ३० जना चिनियाँ धावक सहभागी हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

नेपाली २५ टिम सहित ७५ जना सहभागी हुने भएको कार्यक्रम संयोजक विश्वशंकर पालिखेले बताए । उनका अनुसार प्रतियोगितामा १ सय ५ जना धावक सहभागी हुने भएका छन् । जस मध्य २० जना चिनियाँ धावक एकल तर्फ दौडमा सहभागी हुने भएका हुन्। विभागीय सहित २५ टिममा हरेक टिममा महिला सहित गरी ७५ जना सहभागी हुने भएका हुन् ।

पोखरामा सहासिक खेल पर्यटनको प्रवर्धन गर्न, पोखरा ट्रायथलन र क्रस कन्ट्री दौडको प्रमुख गन्तव्यको रुपमा पहिचान गर्न उक्त प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागिएको संयोजक पालिखेले बताए । उक्त प्रतियोगितामा २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङको दुरी निर्धारण गरिएको संयोजक पालिखेले जनाए ।

पोखरा उद्योग बाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ तथा कुन्मिन माउन्टेनियरिङ एण्ड एक्पोरेसन एशोसियसनको आयोजना एवं पोखरा र कुन्मिन महानगरपालिकाको संरक्षकत्वमा विभिन्न संघ-संस्थाहरुको सहकार्यमा उक्त प्रतियोगिता हुने भएको संयोजक पालिखेले बताए । उक्त प्रतियोगितालाई नेपाल पर्यटन वोर्डले प्रवर्धन गरेको छ भने एथलेक्ट सोसाइटी काठमाडौं, जिल्ला खेलकुद विकास समिति कास्की, भूतपूर्व खेलाडी मञ्च पोखरा, सहारा क्लव लगायतका संघ संस्थाले सघाउने भएको उनले जनाए ।

उक्त प्रतियोगिताको अवसरमा चर्चित चाइनिज धावकहरुको साथमा विभिन्न संचार माध्यममा कार्यरत पत्रकारको टोली समेत पोखरा आउने भएकोले पोखरा क्षेत्रको पर्यटन एवं प्रचार प्रसारमा धेरै मद्धत पुग्ने भएको संयोजक पालिखे विश्वास व्यक्त गरे । गण्डकी प्रदेश सरकारले हाल मनाउदै गरेको आन्तरिक भ्रमण बर्ष सन् २०१९ र नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष सन् २०२०  कार्यक्रमलाई सफल पार्न उक्त कार्यक्रमले थप मद्धत पुग्ने उनले जनाए । उनले भने “पोखरालाई मित्रराष्ट्र चीनको पर्यटकीय बजारमा परिचित गराउन र विश्वमै घुम्न जाने संस्कृतिको विकास हुदै गरेको देशबाट पोखरामा पर्यटक भित्राउन मेघा इभेण्टको आयोजना गर्न लागेका हौं, यदि सवैको साथ र सहयोग पाएमा आगामी बर्षमा यसलाई हामीले निरन्तरता दिने छौं । ”

चिनियाँ राष्ट्रपति सी जिङफिङको हालै नेपाल भ्रमणको क्रममा नेपाल भ्रमणमा चिनियाँ पर्यटक पठाउने कुराले चिनियाँसँगको सहकार्यमा हुन लागेको उक्त इभेण्टले पर्यटन प्रवर्धन हुने संयोजक पालिखेले बताए । उक्त कार्यक्रम गर्न करिब ३४ लाख ६० हजार खर्च लाग्ने र ३५ लाख रुपैया संकलन गर्ने लक्ष्य राखे पनि हालसम्म एक लाख मात्र उठेको संयोजक पालिखेले जनाए । विभिन्न संघ संस्थाबाट सहयोग पाउने आश्वासन भने पाएको उनले जनाए । उनले भने “ हामीले देशकै लागि राम्रो काम गर्न लागेका छौं, रकम उठे दिनुपर्ने ठाउँमा दिउला अन्यथा धन्यवाद दिउला, यसपाली हामीले राम्रोसँग प्रतियोगिता सम्पन्न गर्न सके अर्काे वर्ष थप व्यवस्थित गरौंला । ”

चाइनिज धावकहरुको अधिकाशं खर्च चाइनाबाट हुने भएको छ भने उनीहरुलाई पोखरामा आवासिय सहितको खानाको लागि मात्र स्थानीय रुपमा व्यवस्थापन गर्नुपर्ने भएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले बताए । प्रतियोगितामा विजेतालाई मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ भने नेपाली विजेता तीन टिमलाई चाइनामा डिसेम्बर ३१ देखि जनवरी एक तारिखसम्म हुने ज्याओजी माउण्टेन क्रस कन्ट्री रेसमा सहभागि गराउने भएको छ ।

प्रतियोगिता पोखराको बाराहीघाट देखि सुरु भई गौरीघाट, ड्यामसाइड, छोरेपाटन हुँदै फुर्सेखोला, मट्टीखान, कुभिण्डे, पुम्दी भुम्दीको उल्लेरी लुकुन्स्वारा, शान्ति स्तुपा हुदै पुनः बाराहीघाटमा पुगेर समापन हुने भएको टेक्निकल डाइरेक्टर यम बहादुर गुरुङले बताए । विभिन्न ठाउँमा स्वास्थ्यकर्मी, एम्बुलेन्स सहित स्वयमसेवकहरु परिचालन गरिएको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button