अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौडमा सहभागि हुने चिनियाँसहित नेपाली टोली पोखरामा

दीननाथ बराल, पोखरा न्यूज – २८, असोज । बुधबार पोखरामा आयोजना हुने अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगितामा सहभागि हुन चिनियाँ दुई टिम सहित नेपाली खेलाडीहरुको टोली पोखरा आइपुगेको छ ।

प्रतियोगितामा सहभागि हुने २५ नेपाली टिम सहित सम्पूर्ण २७ टिमका खेलाडीहरुको टोली मंगलबार पोखरा आइपुगेकोे कार्यक्रम संयोजक विश्वशंकर पालिखेले बताए । पोखरामा हुने उक्त ४२.२ किलोमिटरको दौड प्रतियोगिताको लागि दुई टिम सहित ३० जना चिनिया धावक सहभागि हुने भएको संयोजक पालिखेले जनाए ।

उनका अनुसार प्रतियोगितामा १ सय ५ जना धावक सहभागि हुने भएका छन् । जस मध्य २० जना चिनियाँ धावक एकल तर्फ दौडमा सहभागि हुने भएका हुन्। विभागिय सहित २५ टिममा हरेक टिममा महिला सहित गरी ७५ जना सहभागि हुने भएका हुन्। पोखरामा सहासिक खेल पर्यटनको प्रवर्धन गर्न, पोखरा ट्रायथलन र क्रस कन्ट्री दौडको प्रमुख गन्तव्यको रुपमा पहिचान गर्न उक्त प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागिएको संयोजक पालिखेले बताए ।

प्रतियोगितामा २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङको दुरी निर्धारण गरिएको संयोजक पालिखेले जनाए । पोखरा उद्योग बाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ तथा कुन्मिन माउन्टेनियरिङ एण्ड एक्पोरेसन एशोसियसनको आयोजना एवं पोखरा र कुन्मिन महानगरपालिकाको संरक्षकत्वमा विभिन्न संघ-संस्थाहरुको सहकार्यमा उक्त प्रतियोगिता हुने भएको संयोजक पालिखेले बताए । उक्त प्रतियोगिताको अवसरमा चर्चीत चाइनिज धावकहरुको साथमा करिब ६० जनाको टोली पोखरा आएको संयोजक पालिखेले जनाए । विभिन्न संचार माध्यमका कार्यरत पत्रकारको टोली समेत पोखरा आएको छ ।

प्रतियोगितामा विजेतालाई मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ भने नेपाली विजेता तीन टिमलाई चाइनामा डिसेम्बर ३१ देखि जनवरी एक तारिखसम्म हुने ज्याओजी माउण्टेन क्रस कन्ट्री रेसमा सहभागि गराउने भएको छ । प्रतियोगिता पोखराको बाराहीघाट देखि सुरु भई गौरीघाट, ड्यामसाइड, छोरेपाटन हुदै फुर्सेखोला, मट्टीखान, कुभिण्डे, पुम्दी भुम्दीको उल्लेरी लुकुन्स्वारा, शान्ति स्तुपा हुदै पुनः बाराहीघाटमा पुगेर समापन हुने भएको टेक्निकल डाइरेक्टर यम बहादुर गुरुङले बताए । विभिन्न ठाउँमा स्वास्थ्यकर्मी, एम्बुलेन्स सहित स्वयमसेवकहरु परिचालन गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।

गत बर्ष एक सय किलोमिटर दौडमा प्रथम भएका, एभरेष्ट म्याराथन, उर्ला ट्रेडर्स तीन पटक विजेता, गोर्खामा हालै सम्पन्न भएको लिगलिगकोट दौडमा दोश्रो भएका रुकुमका दुर्गाराज बुढा सहितका नेपाली खेलाडी प्रतियोगितामा सहभागि हुदैछन्। उनको टिममा धार्दिङकी रस्मिता तामाङ र प्यूठानका भेट्रान खेलाडी दामोदर बुढामगर सहभागि हुने भएकाछन्। गत बर्ष पोखरामा भएको पोखरा ट्रेल सिरिजमा प्रथम भएका दामोदर उर्लावारी ४० बर्ष माथिको उमेर समुहको म्याराथन प्रतिस्पर्धामा र भारतमा हालै सम्पन्न भएको २१ किलोमिटर भेट्रान्स हाफ म्याराथनमा प्रथम भएका थिए । तामाङ गत बर्ष हङकङमा भएको सामुहिक एक सय किलोमिटर दौडमा दोश्रो भएकी थिइन् ।

यसैबीच सफल पोखरा म्याराथनको बारेमा कुन्मिनको सरकारी प्रतिनिधि मण्डलसंग नेपाल पूर्वपुर्व खेलाडी मञ्चको टोलीले भेटघाट तथा म्याराथनको बारेमा जानकारी गराएको थियो । मञ्चका अध्यक्ष तेज गुरुङ, पूर्व अध्यक्ष खडग् बहादुर रानाभाट सहितको टोलीले भेटघाट गरेको हो । पोखरामा हुने म्याराथन सहितका अन्य खेलकुदमा चिनिया टोलीको सहभागिताको लागि आफुहरुले चिनियाँ टोलीलाई निम्तो समेत गरेको अध्यक्ष गुरुङले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button