मेक्सिकोमा एम्बुसमा पारेर १३ प्रहरीको हत्या

पोखरा न्यूज – २९, असोज । मेक्सिकोको मिचोआकान राज्यमा एक संगठित लागुऔषध तथा अपराध कार्टेलले एम्बुसमा पारेर १३ प्रहरीको हत्या गरेको छ ।

सोमबार बिहान सबेरै भएको घटनामा पाँचवटा गाडीमा यात्रा गर्दै गरेका प्रहरीहरुलाई ३० भन्दा बढीको सङ्ख्यामा हतियारले सुसज्जित जत्थाले आक्रमण गरेका थिए । घटनामा १३ प्रहरीको मृत्यु हुनुका अलावा ३ प्रहरी घाइते भएका थिए भने २ गाडी जलाइएको अवस्थामा भेटिएको थियो । घटनाको जिम्मा जालिस्को न्यु जेनेरेसन कार्टेलले लिएको छ ।

मेक्सिको विश्वमै लागुऔषधसम्बन्धित कारोबार र अपराधले चिनिएको छ । उसका कुख्यात कार्टेलहरुले ठुला ठुला समूह बनाएर राज्यहरुमा आफ्नो नियन्त्रण कायम राख्न निकै ठूलो रक्तपात मच्चाउने गरेको विगत छ । हाल मेक्सिकोमा जालिस्कोका अलावा सिनालोआ र हुआरेज जस्ता शक्तिशाली लागुऔषध कार्टेलहरु सक्रिय रहेका छन् ।

कुनै समय सिनालोआ कार्टेलमै आवद्ध जालिस्को सिनालोआबाट छुटिएपछि निकै तीव्र विस्तारमा लागेको थियो । प्रतिद्वन्द्वी कार्टेललाई तर्साएर आफ्नो दबदबा देखाउन कार्टेलले सन् २०११ मा मेक्सिको कै एक मुख्य राजमार्गमा गाडीहरु रोकेर बाटोमै ३५ शव बिछ्याएको थियो । त्यस्तै २०१५ मा कार्टेलले मेक्सिकोको सुरक्षा अधिकारीहरुलाई नै चुनौती दिँदै एक सैन्य हेलिकप्टरलाई गोली प्रहार गरि खसालेको थियो ।

कुनै फिल्म भन्दा कम नलाग्ने यस्ता अपराधका घटनालाई रोक्न लागुऔषध तस्कर विरुद्ध मेक्सिको सरकारको युद्ध नै जारी छ । यिनै कार्टेलको प्रभावमा मेक्सिकोमा २०१८ मा मात्रै ३३,००० मानव हत्याका घटना घटेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button