पोखरामा सम्पन्न अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौडको उपाधि नेपालको एपिएफलाई

दीननाथ बराल, पोखरा न्यूज – २९, असोज । पोखरामा बुधबार आयोजना भएको अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगिताको उपाधि नेपालले जितेको छ । नेपालको तर्फबाट प्रतिनिधित्व गरेको सशस्त्र प्रहरी बलको एपिएफले सहभागी २६ टिमलाई पछि पार्दै उपाधि हात पार्न सफल भएको हो ।

एपिएफका गणेश ठकुरी, सन्तोष विक्रम विष्ट र इन्द्रकला नेम्वाङको टोलीले निर्धारित दुरी ४२.२ किलोमिटरको दौड ४ घण्टा १७ मिनेट २२ सेकेण्डमा पार गरी मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्। २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङको दुरी ४ घण्टा १८ मिनेट २३ सेकेण्डमा पार गरी गुरीला टिम दोश्रो भएको छ । उक्त टिममा एभरेष्ट म्याराथनका विजेता दुर्गाराज बुढामगर, भेट्रान्स खेलाडी दामोदर बुढामगर र हङकङमा सामुहिक एक सय किलोमिटर दौडमा दोश्रो भएकी रसिला तामाङ रहेकी थिइन् ।

प्रतियोगितामा चीनको द के टिम तेश्रो भएको छ । टिममा सहभागि च्याङ इझेन, पाङ उइझु र लाइयु झुनले निर्धारित दुरी ४ घण्टा, २४ मिनेट ३३ सेकेण्डमा पार गरी तेश्रो भएका हुन्। प्रतियोगितामा अन्नपूर्ण टिम चौथो भएको छ । जिवन लामा, सौरव राई र प्रतिभा श्रेष्ठको टोली नेपाली तर्फ तेश्रो हुन सफल भएका हुन्। त्यसै गरी प्रतियोगितामा पाँचौं पोखरा एफ भएको छ । पोखराबाट सहभागी उक्त टिममा खुसिमान खत्री, सुधा राई र सुवास लामा रहेका थिए ।

त्यसै गरी प्रतियोगितामा ३९ किलोमिरको दौडमा चिनियाँ टोलीले उपाधि जितेको छ । निर्धारित दुरी ३ घण्टा ३९ मिनेट २७ सेकेण्डमा पार गर्दै झाङ जिले उपाधि जितेका हुन्। त्यसै गरी चिनियाँ धावक चाङ फ्यान फे दोश्रो र झाओ झुवाङ वाङ तेश्रो भए । चाङ फ्यानले निर्धारित दुरी ३ घण्टा ५० मिनेट १२ सेकेण्डमा पार गर्दा झुवाङ वाङ ले निर्धारित दुरी ४ घण्टा १ मिनेट १२ सेकेण्डमा पार गरेका हुन्।

प्रतियोगितामा २७ टिम सहित एक सय ७ जना खेलाडीहरु सहभागि भएको प्रतियोगिताका निर्देशक यम बहादुर गुरुङले बताए । नेपाली विजेता तीन टिमलाई चाइनामा डिसेम्बर ३१ देखि जनवरी एक तारिखसम्म हुने ज्याओजी माउण्टेन क्रस कन्ट्री रेसमा सहभागि गराउने भएको कार्यक्रम संयोजक विश्वशंकर पालिखेले बताए ।

पोखरा उद्योग बाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ तथा कुन्मिन माउन्टेनियरिङ एण्ड एक्पोरेसन एशोसियसनको आयोजना एवं पोखरा र कुन्मिन महानगरपालिकाको संरक्षकत्वमा विभिन्न संघ-संस्थाहरुको सहकार्यमा उक्त प्रतियोगिता भएको संयोजक पालिखेले बताए ।
उक्त प्रतियोगिताको अवसरमा चर्चीत चाइनिज धावकहरुको साथमा करिब ६० जनाको टोली पोखरा आएको संयोजक पालिखेले जनाए । विभिन्न संचारमाध्यमका कार्यरत पत्रकारको टोली समेत पोखरा आएकोले पोखरा क्षेत्रको यसले खेल पर्यटन प्रवर्धनमा थप टेवा पुग्ने संयोजक पालिखेले विश्वास व्यक्त गरे ।

पोखराको बाराहीघाट देखि सुरु भई गौरीघाट, ड्यामसाइड, छोरेपाटन हुदै फुर्सेखोला, मट्टीखान, कुभिण्डे, पुम्दी भुम्दीको उल्लेरी लुकुन्स्वारा, शान्ति स्तुपा हुदै पुनः बाराहीघाटमा पुगेर समापन भएको थियो । धावकहरुलाई प्रोत्साहन गर्न विभिन्न ठाउँमा स्थानिय आमा समुह, क्लब लगायतका विभिन्न संघ संस्थाका पदाधिकारीहरुले फुलमालाले खेलाडीलाई स्वागत गरेका थिए । विभिन्न ठाउँमा स्वास्थ्यकर्मी, एम्बुलेन्स सहित स्वयमसेवकहरु परिचालन गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए । यद्यपी विजेताको टोली बाराहीघाटमा आउदो मेडिकल टोली तयारी अवस्थामा नहुदा खेलाडीलाई मसलमा समस्या हुदा समयमै उपचार पाउन सकेनन्।

प्रतियोगिताको लागि दुई टिम सहित ३० जना चिनियाँ धावक सहभागि भएको संयोजक पालिखेले जनाए । पोखरामा साहासिक खेल पर्यटनको प्रवर्धन गर्न, पोखरा ट्रायथलन र क्रस कन्ट्री दौडको प्रमुख गन्तव्यको रुपमा पहिचान गर्न उक्त प्रतियोगिता पहिलो पटक आयोजना गर्न सवै पक्षबाट सहयोग प्राप्त भएको संयोेजक पालिखेले जनाए । पोखरामा यस्ता कार्यक्रमलाई निरन्तर दिन महानगरले संयोजक गर्ने पोखरा महानगरका मेयर मानबहादुर जिसीले बताए ।

यस अघि गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनले उक्त प्रतियोगिताको उद्घाटन गर्दै यस्ता खेल आयोजना हुनुले पोखरा क्षेत्रको सहासिक खेल पर्यटनबाट आर्थिक विकास हुने बताइन्। उनले भनिन“ हालै चिनिया राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमण, चिनियासंगको सहकार्यमा पोखरामा माउण्टेन रेस हुनुले दुई देश बीचको सम्वन्ध पनि यसले प्रगाढ पार्छ । ” विजेता खेलाडीहरुको टोलीलाई गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुन, कार्यक्रम संयोजक विश्वशंकर पालिखे, पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button