विपिका ‘बा’ बनेका प्रकाश

आर.आर. पौडेल, पोखरा न्यूज –३०, असोज । प्रर्दशन भइरहेको नेपाली चलचित्र छ माया छपक्कैका विपि यानेकी दीपकराज गिरीका ‘बा’ को भुमिका निभाएका कलाकार हुन् प्रकाश घिमिरे ।

पोखराका प्रकाश उमेरले ५७ वर्ष पुगे । तर अभिनयको भोक, र जोश झन बढ्दै गएको छ । सेताम्य दाह्री । कालो र सेतो मिश्रीत कपाल । हँसिलो अनुहार भएका उनको जोशीलो अभिनयका कारण दर्शकको नजरमा उनी परेका छन् । हुनत उनी दलन टेलिसिरियलको ‘धम्बरे’, चलचित्र पशुपती प्रसादको ‘मित बाउ’, दत्यकथा नाटकको ‘महाराक्षस’ क्यारेक्टरले धेरै कलाप्रेमीको नजरमा परिसकेका कलाकार हुन् ।

प्रकाशको जन्म पोखरा ३ नदिपुरमा भएको हो । प्रकाशका बुबा तेजनाथले नाटक लेख्थे । आर्मीको लागि भृकुटी नाटक लेखे । त्यो नाटक प्रकाशले पढे । मन छोयो । अभिनय गर्ने भोक जाग्यो । नाटक गज्जब हुँदो रहेछ भन्ने उनलाई लाग्यो । त्यसले नाट्य क्षेत्रमा अगाडी बढ्न बल पुग्यो । ‘राती १२ बजेसम्म रिर्हसल गथ्र्यौ ।

चौतारामा स्टेज बनाएर नाटक देखायौ’ प्रकाश घिमिरेले सम्झिए । २०४२ सालमा दिपक पराजुलीको लेखन, अनुप बरालको मुख्य भुमिका प्रकाश घिमिरेको अभिनय तथा निर्देशनमा नाटक मञ्चन भयो । पुर्णाकि नाटक ‘जब इज्जत सल्किन्छ’ डाँफे कला मन्दिर मा ७ सो देखाइयो । अगाडी नै टिकट बुकिङ भयो । नाटक हाउसफुल थियो । यसरी पहिलो नाटकबाट दर्शकको माया प्राप्त गरेकोमा उनीहरु जोशिए । नाटकमा सुक गुरुङको संगीत थियो ।

‘तहाँ झण्डै पाँच सय दर्शक अट्थे, टिभि थिएन हेर्ने, साँस्कृतिक कार्यक्रम भइरहन्थे’ उनले भने । यहि नाटकबाट साहित्यकार सरुभक्त श्रेष्ठसँग चिनजान भयो । अनि श्रेष्ठकै निर्देशनमा उनीहरुले दूई नाटक मञ्चन गरे । पछि अनुप बराल तथा दिपक पराजुलीको निर्देशनमा समेत नाटक देखाइयो । अनुप बराल नाटक पढ्न बाहिरगएपछि भने नाट्य गतिविधिमा केहि कमि आयो । पाँच सय को वार्षिक शुल्क लिएर समेत नाटक देखायौ । वर्षमा ४ वटा नाटक देखाइन्थयो । तर निरन्तरता दिन सकिएन ।

उनले धेरै सरुभत्तका नाटकमा अभिनय गरेका छन् । ताण्डव नृत्य तथा अजम्बरी भ्वाइलेन, न्यायप्रेमी, आस्थामा उठेका हातहरु, क्रिया नाम सर्वनाम विशेषण, काफ्का, थाङ्गला, जात सोध्नु जोगीको, सिरुमारानी, निरमाया, अटलबहादुरको आतंक आदी गरी ३० वटा जती नाटकमा उनले अभिनय गरिसकेका छन् ।

उनलाई नाटकमा अभिनय गर्न मज्जा लाग्छ । ‘नाटक जीवन्त विधा हो । कलाकारले मानसिक सन्तुष्टि पाउँछन् । पैसाको भोक चलचित्रले अभिनयको भोक नाटकले मेटाउँछ’ उनले भने ।

२०६२ मा दलन टेलिसिरियलमा उनले अवसर प्राप्त गरे । आहुतीले लेखेको नविन सुब्बाले निर्देशन गरेको यो टेलिसिरियल मार्फत ‘धम्बरे’ क्यारेक्टर मार्फत उनी चिनिए । नेचुरल रियालिटि अभिनयले धेरै फ्यान कमाए । अनुप कास्टिङ डाइरेक्टर थिए । नबिन सुब्बाकै सिहँदरबार टेलिसिरियलका दूई वटै एडिसनमा उनले काम गरे ।

गत मंसिरबाट भने उनी शिक्षण पेशाबाट रिटायर्ड भए । शिक्षण पेशामा हुँदा समय मिलाउन उनलाई बढो गाह्रो हुन्थ्यो । छुट्टी हुँदा मात्र काम गर्थे । छोटो रोल खोज्थे । शुक्रबार, शनिबार, असार तथा दशैको विदाको सबै समय उनले दिन्थे । बाँकी स्कुललाई । रिटायर्ड भएपछि सेन्ट्रल रोलमा देखिने, उनको रहर केहि हदसम्म छ माया छपक्कैले पुरा गरेको छ । हाल सम्म झण्डै ३० चलचित्रमा उनले अभिनय गरिसकेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button