बागलुङको स्टोन भिलेजमा घरबास

रामबहादुर थापा, पोखरा न्यूज-३०, असोज ।   लहरै मिलेका घर । ढुङ्गाका छाना । मगर बाहुल्य बस्ती । मौलिक संस्कृति र भिन्न रहनसहन । बागलुङको गलकोट नगरपालिका–६ स्थित भुजुङ्गे गाउँको परिचय अब यतिले पुग्दैन । ढुङ्गेनी गाउँ (स्टोन भिलेज) ले चिनिने भुजुङ्गेले नयाँ चिनारी पाएको छ ।

गाउँलेले ‘गलकोट स्नोट भिलेज सामुदायिक घरबास’ शुरु गरेका छन् । घरबास (होमस्टे) को हालै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुभारम्भ गरे । यसै चिटिक्क परेको गाउँमा घरबासले थप सौन्दर्य थपेको छ ।

सम्भावना बोकेको गाउँ वर्षौंदेखि ओझेलमा थियो । गाउँमा पर्यटक भित्र्याउने उद्देश्यले घरबास खोलिएको सञ्चालक समितिका अध्यक्ष कमला श्रीसले बताइन । पारिवारिक आतिथ्यता, स्थानीय परिकार, रहनसहन, संस्कृति र घुमफिर घरबासका आकर्षण हुन् । भुजुङ्गे गाउँ समुन्द्री सतहदेखि १५ सय मिटरको उचाइमा छ ।

पदयात्राका लागिसमेत उक्त ठाउँ उपयुक्त छ । भुजुङ्गेबाट पर्यटकीय लेक घुम्टे, ऐतिहासिक गलकोट दरबारलगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिन्छ । घरबासमा आउने पर्यटकलाई गाउँलेले स्थानीय स्वादका परिकार टक्र्याउछन् । “पाहुनालाई घरमै उत्पादन भएका जैविक खाना खुवाउँछौँ”, घरबास सञ्चालक बुद्धिमान श्रीसले भनिन, “भर्खर शुरु भएको छ, अब प्रचार पनि होला, पर्यटक आउलान् ।”

घरबासमा कोदो, फापर, जौ, मकै, गहुँ, आलु, सिस्नो, सिन्की, भट्टलगायत घरेलु उत्पादनका परिकार तयार पारिन्छ । पाहुनाको रोजाइमा आटो, ढिँडो बढी पर्छ । घरबास शुरु भएपछि गाउँलेले घरआँगन र टोललाई सरसफाइयुक्त बनाएका छन् । शौचालय, खानेपानीलगायत सुविधामा विशेष ध्यान दिन थालेका छन् ।

घरबासका थप आकर्षण स्थानीय कला, संस्कृति पनि हुन् । ‘सालैजो’, ‘यानीमाया’, ‘सोरठी’जस्ता मौलिक संस्कृति भुजुङ्गेको पहिचानसँग जोडिएको स्थानीयवासी हेमबहादुर पुनले बताए । उनले घरबास सञ्चालनले गाउँको पर्यटन विकास हुनेमा विश्वास व्यक्त गर्नुभयो । “पर्यटकमैत्री पूर्वाधार निर्माण र प्रचारप्रसारको आवश्यकता छ”, उनले भने।

घरबासमा एक रात बिताउँदा पर्यटकको न्यूनतम रु. हजारदेखि १५ सयसमम्म खर्च हुन्छ । गाउँले परिवेशमा घुमघाम, आरामदायी बसाईं र स्वस्थकर खानाका लागि घरबास पर्यटकको रोजाइमा पर्ने गरेको छ । सात घर (होमस्टे) का लागि दर्ता भएको अध्यक्ष श्रीसले बताइन । घरबास सञ्चालनका लागि गत आवमा गण्डकी प्रदेश सरकारले रु १० लाख अनुदानसमेत उपलब्ध गराएको थियो । उक्त बजेट पूर्वाधार निर्माणसँगै प्रबर्द्धनको काममा खर्च भएको जनाइएको छ ।

गाउँमा ढुङ्गाखानी भएको, घरगोठलगायत सबै संरचना ढुङ्गाबाट बनेका कारण भुजुङ्गेलाई ‘स्टोन भिलेज’ को नाम दिइएको हो । हरिचौरबाट एक घण्टाको पदयात्रामा भुजुङ्गे पुग्न सकिन्छ । मोटरबाट पनि सजिलै पुग्न सकिन्छ । भुजुङ्गे गाउँ बागलुङ सदरमुकामदेखि ५० किमिको दूरीमा छ । ग्रामीण पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले हाल बागलुङमा २८ घरबास (होमस्टे) सञ्चालनमा छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button