पोखरामा तिहारमा २ करोड ५० लाखको फूलको माग हुने

दीननाथ बराल, पोखरा न्यूज – ३०, असोज । यस बर्षको तिहार पर्वको अवसरमा पोखरामा करिब २ करोड ५० लाख रुपैयाँ बराबरको फूलको माग हुने भएको छ । फूलै फूलको पर्व समेत भनेर चिनिने गरेको तिहार पर्वमा पोखरा क्षेत्रमा करिब साढे दुई करोडको फूलको माग हुने फ्लोरिकल्चर एशोसिएसन (फान) नेपाल जिल्ला कार्य समिति कास्कीका उपाध्यक्ष दिलबहादुर गुरुङले बताए ।

उनका अनुसार पोखरा क्षेत्रमा  ८० प्रतिशत फूल स्थानीय नै खपत हुन्छ  । भारतिय फूलले अझै पनि २० प्रतिशत जति बजार लिने उपाध्यक्ष गुरुङले जनाए । यस बर्ष धेरै पानी परेकोले व्यवसायीक फूलखेति राम्रोसँग फस्टाएको उपाध्यक्ष  गुरुङले बताए । उनले भने “यस बर्षको तिहार पर्व अन्य बर्षको तुलनामा केही छिटो भएको घर गाउँमा हुने तिहारे फूल समयमै सबै ठाउँमा फुल्ने सम्भावना कम छ, व्यवसायीक रुपमा लगाएको फूल भने यस बर्ष धेरै राम्रोसंगै फुल्दैछ । ” यस बर्ष प्रति थुंगाको ५-६ रुपैया र प्रति माला २ सय देखि ३ सयसम्म पर्ने उनले जनाए । भारतिय फूल सस्तो हुने हुदा सजिसजावटको लागि प्रयोग गरिने उपाध्यक्ष गुरुङको भनाई छ । उनका अनुसार भारतिय फूलको माला भने करीब ४० देखी ६० रुपैयाँ पर्नेछ ।

पछिल्लो क्रममा उपभोक्ताहरुको पनि फूल प्रति आकर्षण बढ्दै गएको हुनाले यस बर्ष पोखरा सहित स्याङजा, तनहूँ, गोर्खा, लमजुङ लगायतको क्षेत्रमा उत्पादन भएको फूलले ८० प्रतिशत पोखरालाई नै धान्न सक्ने भएको उपाध्यक्ष गुरुङको भनाई छ । फान कास्कीमा आवद्ध ३६ जना नर्सरी व्यवसायीहरु पोखरा क्षेत्रमा रहेका छन्।

मनकामना नर्सरीका संचालक समेत रहेका उपाध्यक्ष दिल बहादुर गुरुङले यस बर्ष पनि तिहार पर्वलाई लक्षित गरी ४५ हजार वटा सयपत्री फूलका बेर्ना विक्रि गरेका छन् । ३ हजार फूलका बेर्ना समेत लगाएका उनले यस बर्ष फूलबाट पनि लाखौं आम्दानी गर्ने भएका हुन्। यस बर्ष होटल तथा रेष्टुरेण्ट व्यवसायी बढी फूल किन्न आएको उनले बताए ।

पोखराको बजारमा करिब ५० लाख मुल्य बराबरको भारतिय फूलले बजार ओगट्ने फान कास्कीका निवर्तमान अध्यक्ष दयाकुमार द्ववाले बताए । उनका अनुसार एक करोड बराबरको पोखराका नर्सरी व्यवसायी र एक करोड मुल्य बराबरको व्यवसायीक कृषक तथा केही साना किसानबाट फूलको कारोवार हुने भएको छ ।

गोल्डेन नर्सरीका संचालक समेत रहेका निवर्तमान अध्यक्ष द्वाले यस बर्ष करिब ५ रोपनी जमिनमा ५ वटा टनेल भित्र फूल खेति गरेका छन्। उनले भने “ तिहार पर्व भनेकै आफुहरुको लागि भने आय आर्जन गर्ने बर्ष दिनको राम्रो समय भएकोले यस सिजनमा हरेक पुष्प व्यवसायीहरुले लाखौं आम्दानी गर्ने गरेका छन्। ”

अझै पनि फूलको बिउँमा परनिर्भरता हुनुपर्ने भएकोले गर्दा लाखौं रुपैया बाहिरिने गरेको उनले बताए । पछिल्लो समयमा व्यवसायीक रुपमा फूलखेति गर्नेहरुको सङख्यामा बृद्धि भएकोले गर्दा भारतिय फूलको बजार विस्थापित हुदै गएको निवर्तमान अध्यक्ष द्वाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button