यस्ता छन् विश्व वन्य जीवन फोटोग्राफी प्रतियोगिताका विजयी तस्वीरहरु

सुब्रत ढकाल,  पोखरा न्यूज-३०, असोज ।  वर्ष २०१९ को विश्व वन्य जीवन फोटोग्राफी प्रतियोगिताका विजयी तस्वीरहरु यसै साता लण्डनको नेसनल हिस्ट्री म्युजियममा प्रदर्शनीमा राखिएको छ । यसै प्रदर्शनीमा राखिएका विभिन्न विधाका केही उत्कृष्ट तस्वीर र तिनको कथाहरु हामीले यस फोटो फिचरमा निम्न अनुसार समावेश गरेका छौँ ।

१. मुख्य उपाधि विजेता तस्वीर : दि मोमेण्ट
दि मोमेण्ट नाम दिइएको यस तस्वीर चीनको चिङ्ग्घाई प्रोभिन्सका योङ्गकिङ्ग बाओले खिचेका हुन् । चिङ्ग्घाई तिब्बत पठार अन्तर्गतको एक पहाडमा तिब्बेतन स्याल र लोखर्के (फीया)को जम्काभेट फ्रेममा कैद गरिएको यस दृश्यले ह्युमर अर्थात हाँसो र हरर अर्थात डर दुबैलाई प्रतिविम्बित गरेको देख्न सकिन्छ । यसै अद्भुत पल यस वर्षको सर्वोत्कृष्ट वाइल्डलाइफ फोटोग्राफी घोषित भएको छ ।

२. जनावरको उत्कृष्ट पोर्ट्रेट तस्वीर : फेस अफ डिसेप्सन
फेस अफ डिसेप्सन अर्थात धोकाको स्वरुप नाम दिइएको यस तस्वीर भारतका रिपन विश्वासले खिचेका हुन् । उक्त तस्वीर कमिलाको नक्कल गर्दै कमिलाकै सिकार गर्दै गरेको एक गँगटे माकुराको हो । कमिलाको वस्तीमा कमिलाकै रुप, आकार र गन्धसमेत अनुशरण गरेर आफ्नो शिकार खोज्ने उक्त माकुरा यस वर्षको सर्वोत्कृष्ट वाइल्डलाइफ पोर्ट्रेट घोषित भएको हो । तस्वीर भारतको पश्चिम बङ्गालको बक्सा टाइगर रिजर्भमा खिचिएको हो ।

३. चराको व्यवहार विजेता तस्वीर : ल्यान्ड अफ ईगल
तीन वर्ष लगाएर खिचिएको यस बर्डस बिहेबियर विधाको विजयी तस्वीर नर्वेका एडन रिकार्डसेनले खिचेका हुन् । एक पुरानो रुखको हाँगामा क्यामेरा, फ्ल्यास र मोसन सेन्सर एट्याच गरेर आफू टाढा लुकेर बसेर खिचिएको उक्त तस्वीरमा एक सुनौलो चील आफ्नो आसपास अवलोकन गर्दै गरेको देख्न सकिन्छ । तस्वीर खिच्न तीन वर्ष लाग्नुको कारण चीललाई उक्त यन्त्रसँग बानी पार्न त्यति समय लागेकाले हो ।

४. राइजिङ स्टार पोर्टफोलियो अवार्ड विजेता तस्वीर : फ्रोजन मोमेण्ट
फ्रोजन मोमेण्ट नाम दिइएको यस तस्वीर फ्रान्सका फोटोग्राफर जेरेमी भिलेटले कैद गरेका हुन् । तस्वीरमा दुई भाले डल भेडा एक अर्कासँग जुद्धै गरेको देख्न सकिन्छ । क्यानडाको युकोनमा हिमपातले सेताम्मे स्थानमा एक अर्कालाई धकेल्दै गरेका भेडाहरु स्थिर भएर बसेका छन् ।

५. पानी मुनिको जीवन विजेता तस्वीर : गार्डेन अफ इल
इलको विशाल झुन्ड कैद गरिएको यस तस्वीर अमेरिकाका डेभिड डबिलेटले खिचेका हुन् । एक फुटबल मैदानको दुई तिहाई जति फैलिएको उक्त झुन्ड फिलिपिन्सको कोरल त्रिकोणमा भेटिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button