अमेरिकाले गर्यो इरानमाथि साइबर हमलाको दाबी

पोखरा न्यूज –३०, असोज । अमेरिकाले इरानमाथि साइबर आक्रमण गरेको दाबी गरेको छ । सेप्टेम्बरको अन्त्यतिर आफुले आक्रमण गरेको अमेरिकाले जनाएको हो ।

आक्रमण सफ्टवेयर भन्दा हार्डवेयर लक्षित भएको र हार्डवेयरलाई नै असर गरेको एक अधिकारीले जनाए । अमेरिकी ड्रोन खसालिएको र तेलका ट्याङ्करलाई गल्फमा इरानी रिभोलुसनरी गार्डले गरेको आक्रमणको बदलामा उक्त हमला भएको पनि अधिकारीहरुले उल्लेख गरेका छन् । इरानी सञ्चार तथा सूचना प्रविधि मन्त्रीले भने अमेरिकाको उक्त दाबी खण्डन गर्दै अमेरिकाले त्यो हमला सपनामा देखेको हुनसक्ने बताएका छन् ।

सेप्टेम्बर १४ मा साउदी अरबको तेल भण्डारमा भएको आक्रमणमा इरानको हात रहेको अमेरिका, साउदी अरब, ब्रिटेन, फ्रान्स र जर्मनीको आरोप छ । इरानले भने उक्त आरोपको खण्डन गरेको थियो भने यमनका हुथी विद्रोहीले आक्रमणको जिम्मा लिएको थियो । यमनका हुथी विद्रोहीलाई भने इरानको समर्थन छ । इरानले लाल सागरमा आफ्नो तेल ट्याङ्करमाथि रकेट आक्रमणहरु भएको जनाउँदै त्यसको कडा जवाफ दिने पनि जनाएको थियो ।

पेन्टागनले आक्रमण लगत्तै साउदी अरबमा तेल भण्डारको सुरक्षा गर्न भन्दै हजारौंको सङ्ख्यामा सैन्यबल पठाएको थियो । पेन्टागनले साइबर आक्रमणको बारेमा भने कुनै प्रतिक्रिया जनाएको छैन ।

पछिल्लो समय खाडीमा तनाव तीव्र रुपमा बढेको छ । इरानले अमेरिकाको विस्तारवादी नीति मुख्य समस्या रहेको जनाउँदै अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाएसम्म वार्ताको वातावरण नबन्ने स्पष्ट पारेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button