पोखराका पेट्रोल पम्प पेट्रोल बम बन्ने खतरा छ : प्रहरी प्रमुख कार्की

दीननाथ बराल, पोखरा न्यूज – ०१, कार्तिक । कास्कीका प्रहरी प्रमुख एसपी दान बहादुर कार्कीले पोखरामा रहेका केही पेट्रोल पम्प खतरनाक रहेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की प्राङ्गणमा  शुक्रबार मासिक प्रगती विवरण सार्वजनिक गर्दै एसपी कार्कीले पोखराका केही पेट्रोल पम्प मानव बस्ती र सडक छेउमै रहेकाले सुरक्षाको हिसाबले अतिनै सम्बेदनशील भएको जनाउदै  पेट्रोल पम्पनै पेट्रोल बम बन्न सक्ने खतरा रहेको दाबी गरेका हुन् ।

एसपी कार्कीले भने – “पोखराको नयाँबजार, पृथ्बीचोक, प्रस्र्याङ, नागढुंगा लगायतका ठाँउमा  घर र सडकसंगै जोडिका पेट्रोल पम्पहरु रहेका छन, जोखिमका हिसावले ती पेट्रोल पम्प  पेट्रोल बमको रुपमा रहेका छन्, यसको व्यवस्थापनको लागि स्थानिय निकायले पहल गर्नुपर्छ, अन्यथा कुनै दिन पोखरामा ठुलो दुर्घटना निम्तन सक्छ ।”

पोखराका  पेट्रोल पम्पले सुरक्षाको लागि पेट्रोल पम्पमा हुनु पर्ने फायरफाइटिङका कुरामा खासै ध्यान नदिएको, म्याद गुज्रिएका फायरफाइटिङका बस्तुहरु राखेको, हरेक तीन महिनामा फायरफाइटिङ सामानहरुको चुस्त दुरुष्त पार्नुपर्नेमा यसमा समेत ख्याल नगरेको एसपी कार्कीले जनाए ।

पोखरा क्षेत्रमा संचालन हुने ट्याक्सिलाई अनिवार्य रुपमा मिटरमा संचालन गर्न आग्रह गर्दै एस.पी. कार्कीले अब मिटरमा संचालन नगर्ने पटकेको रुपमा परेका उपर त्यसको तथ्याङ राखेर कारवाही गर्ने चेतावनी दिएका छन् । यस अघि पटकेको रुपमा कारवाहीको कुनै लेखाजोखा नभएकोले अब यसलाई आफुहरु र यातायात व्याबस्था कार्यालयबाट तथ्याङक राख्ने भएको उनले जनाए ।

पोखरा क्षेत्रमा रहेका केही स्कुलहरुसंगै जोडिएका सटरमा मादक पदार्थ समेत विक्रि वितरण गर्न लागेकोले त्यसलाई पूर्ण रुपमा प्रतिवन्ध गरिएको एसपी कार्कीले जनाए । दशैंपर्व लक्षित हुने गरी बिशेष प्रहरीको टोली खटाएसंगै अन्य महिनाको तुलनामा चोरी डकैति, लागु औषध र अपराधिक गतिविधिमा कमी आएको उनको दाबी छ ।

पोखरामा माग्नेहरुको अर्को समस्या देखिएको एस.पी. कार्कीले जनाए । भारत देखि, नेपालका विरगन्ज, जनकपुर,नेपालगन्जबाट समेत माग्नेहरु पोखरामा देखा परेको पोखरा आउने पर्यटकहरुसंग रकम माग्नेले थप समस्या भएको उनले जनाए । उनीहरुलाई व्यवस्थापन गर्न मानव सेवा आश्रम, विभिन्न क्षेत्रबाट आएकाहरुलाई बसमा  उठाउन समेत सुरु गरिएको एसपी कार्कीले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button