बसपार्कमा यात्रु ताने ५ सय जरिवाना !

पोखरा न्यूज –१ , कार्तिक । बसपार्कमा जथाभावी रुपमा यात्रु तानातान गरेपछि जरिवाना तिर्नुपर्ने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले निर्माण गरेको बसपार्क व्यवस्थापन कार्यविधि २०७६ मा यात्रुमैत्री व्यवहार नगरेमा ५ सय जरिवाना तिनुपर्ने व्यवस्था गरिएको छ ।

वीरेन्द्रनगरमा रहेको नवनिर्मित बसपार्कलाई व्यवस्थितरुपमा सञ्चालन गर्नको लागि वीरेन्द्रनगर नगरपालिकाले बसपार्क सञ्चालन कार्यविधि निर्माण गरेको हो । नगरपालिकाको स्वामित्वमा रहेको सिटी बसपार्कलाई व्यवस्थापन गर्नुको साथै नगरको बस पार्किङ व्यवस्थापन गर्नको लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा ७ बमोजिम उक्त कार्यविधि निर्माण गरिएको नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताइन् । कार्यविधिअनुसार बसपार्कभित्र सवारीसाधनको साथै टिकट काउण्टरको तथा पसलको व्यवस्थापनको लागि विभिन्न शुल्कको व्यवस्था गरिएको छ ।

त्यसैगरी तोकिएको स्थानमा पार्किङ, नगर्नुका साथै बसपार्कभित्र ट्राफिक नियमपालना नगरेमा रु एक हजार जरिवाना तिर्नुपर्ने भएको छ । साथै गल्ती दोहोरिएमा दोब्बर जरिवाना बुझाउनुपर्नेछ । कार्यविधिमा बसपार्कमा प्रवेश गर्ने लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनको छुट्टाछुट्टै प्रवेश शुल्क निर्धारण गरिएको छ ।

लामो दूरीमा चल्ने ठूला सवारीसाधनको लागि रु १सय लामो दूरीमा चल्ने साना सवारीसाधन र छोटो दूरीमा चल्ने ठूला सवारीसाधनको रु ५० र छोटो दूरीमा चल्ने साना सवारीसाधन रु ३० प्रवेश शुल्क निर्धारण गरिएको छ । बसपार्कमा रात बिताउनुपर्ने बसको रु २ सय र माइक्रो बसको रु १सय ५० शुल्क निर्धारण गरिएको छ ।

बसपार्कको सञ्चालन तथा व्यवस्थापनमा सहयोग गर्नुका साथै बसपार्कलाई सही ढङ्गबाट व्यवस्थापन गरी नगरको सौन्दर्य वृद्धिमा सहयोग गर्ने उद्देश्यले कार्यविधि निर्माण गरिएको हो । बसपार्क व्यवस्थापन तथा अनुगमन गर्नको लागि नगरप्रमुखको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरिएको छ ।

कार्यविधिअनुसार बसबाहेकका अन्य सवारीसाधनलाई बसपार्कभित्र प्रवेशमा निषेध गर्नुको साथै नगरपालिकाबाट स्वीकृत रकमभन्दा बढी भाडा लिन नपाइने भएको छ । ६ महीना अघि वीरेन्द्रनगर नगरपालिकामा निर्माण सम्पन्न भइसकेको सिटी बसपार्क लामो समयदेखि सञ्चालनमा आएको थिएन ।

बसपार्क सञ्चालनमा नआउँदा यात्रु र यातायात व्यवसायीले सास्ती भोग्दै आइरहेका थिए । बसपार्क निर्माणको काम सकिए पनि प्राविधिक कारणले हस्तान्तरण गर्न ढिलाइ भएको नगरपालिकाका इञ्जिनीयर विशाल अधिकारीले बताए । पहिलो पटक ६ महीना म्याद थप गरेको कम्पनीले दोस्रोपटक एक वर्षको म्याद थपेको थियो । नगर विकास कोषबाट रु ६ करोड ५९ लाखमा ऋण लिएर नगरपालिकाले बसपार्क निर्माण गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button