पोखरा रंगशालाको निर्माण कार्य ६० प्रतिशत सम्पन्न

दीननाथ बराल, पोखरा न्यूज –१ , कार्तिक ।  पोखरा रंगशालाको ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । सागलाई लक्षित गरी पोखरा रंगशालाको निर्माण कार्यलाई तीव्रता दिइएकोमा हालसम्म करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर ई. दीपक बरालले बताए ।

आगामी डिसेम्बर १ देखि १० तारिख १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुने महिला फुटबल प्रतियोगिताको लागि आफुहरुले फुटबल स्टेडियम निर्माण गरी सक्ने र हाल निर्माण कार्य तीव्र गतिमा अघि बढेको ई. बरालले जनाए । हाल दैनिक एक सय ६० देखि एक सय ८० जना मजदुरहरु उक्त प्रोजेक्टमा लाग्दै आएको उनले जनाए । कामको अवस्था र प्रकृति हेरेर राति १०ः३० बजेसम्म काम गर्ने गरेको ई. बरालले बताए । उक्त प्रोजेक्ट आफुहरुको लागि अग्नी परीक्षा नै भएको दाबी गर्दै प्रोजेक्ट म्यानेजर ई. बरालले तोकिएको मितिमा आफुहरुले ८ देखि १० हजार सिट क्षमताको प्यारापिट सहितको फुटबल मैदान निर्माण गर्ने दाबी गरे ।

हप्ता १० दिन भित्र अर्थात तिहार पर्वसम्म पोखरा रंगशालाको फुटबल मैदानमा भारतको कलकत्ताको दुबो रोपी सक्ने भएको ई. बरालले जनाए । उनका अनुसार दोश्रो चरणमा आज शुक्रबार भारतबाट पोखरा आएको २० हजार बर्गफिट दुबो आज नै रोपिएको छ । निर्माण हुदै गरेको पोखरा रंगशालाको फुटबल मैदानमा करिब २० दिन अघि कोलकत्ताको बर्माडा ग्रास (दुबो) पहिलो चरणमा रोप्न सुरु गरिएको थियो । पहिलो चरणमा एक गाडी अर्थात १५ हजार बर्गफिट दुबो पोखरा आएको थियो । भारतको नाकाबाट उक्त गाडी नेपाल भित्रिनको लागि प्राविधिक कठिनाइका कारणले दुई दिनसम्म रोकिन पुगेको ई. बरालले जनाए । उक्त दुबोमा माटो समेत टासिएकोले गर्दा भारतबाट नेपाल ल्याउन केही कठिनाई भएको उनले गुनासो गरे ।

खास दुबो लोड गरेको ४ दिन भित्र पोखरा ल्याउनु पर्नेमा प्राविधिक कारणले भारतमा दुई दिन रोकिदा पनि दुबो एसि गाडीमा ल्याएकोेले गर्दा हल्का ओइलाएको जस्तो देखिए पनि एक हप्तामा मौलाएर आउने ई. बरालले जनाए । पोखराको भन्दा कलकत्ताको तापक्रम बढी भएका पनि पोखरामा उक्त दुबो राम्रोसँग सर्ने प्राविधिक टोलीको सल्लाहको आधारमा आफुहरुले भारतको दुबो रोजेको उनले प्रष्ट पारे । ई. बरालले भने “पोखरा रंगशालाको फुटबल मैदान भरीका लागि ९० हजार बर्गफिट बर्माडा ग्रास दुबो कलकत्ताबाट ल्याउनको लागि अग्रिम बुकिङ समेत गरि सकेका छौं, बाँकी दुवो तिहार पर्वसम्म आइसक्छ । ” फुटबल मैदान निर्माणको अन्तिम घडिमा आर्टिफिसियलबाट नेचुरल फुटबल मैदान निर्माण गर्ने निर्देशन पाएसंगै आफुहरुले पोखराको वातावरण अनुकुल हुने गरी कलकत्ताबाट दुबो ल्याउन केही दिन ढिलाई भएको ई.बरालले बताए ।

केही दिन अघि पोखरामा लगातार पानी पर्दा रंगशाला निर्माणका लागि दुबो ल्याउन, ट्रयाकमा पिच गर्न समेत केही दिन ढिलो भएको उनले जनाए । चारवटा ग्यालरी मध्य हाल आफुहरुले ए र सी ग्यालरीतर्फ केन्द्रित भएको उनले जनाए । ग्यालरी एको फाउण्डेसन ४ दिन भित्रमा सक्ने, ग्यालरी सीलाई आगमी १५ दिनमा सक्ने गरी निर्माण कार्य सम्पन्न गर्ने ई.बरालले जनाए । उनले भने “यो प्रकारको ग्यालरीमा निर्माण भएको भौतिक संरचनाले ८ देखि १० हजार दर्शक सिट क्षमताको फाउण्डेसन हामी तयार पार्दै । ” फ्रान्सबाट स्टिल स्टक्चरका सामाग्रीहरु हिडिसकेको उनले जनाए ।

१७ वटा शौचालय मध्य हालसम्म ११ वटा शौचालयको भवन निर्माण भई हाल फिनिसिङको चरणमा रहेको ई. बरालले जनाए । ७ वटा शौचालय प्रयोग गर्न मिल्ने बनाउने उनले जनाए । भारतको ग्रेट स्पोट्र्स इन्फ्रा इन्डियाले नेपालको एम.ए.कन्सट्रक्सन जावलाखेल ललितपुरसँगको जोइन्ट भेन्चरमा एक अर्ब २८ करोडको लागतमा उक्त प्रोजेक्टको जिम्मा लिएको हो । साग पोखरामा हुने गरी निर्माण कम्पनीले कुनै पनि हालतमा पोखरा रंगशाला निर्माण गर्नु पर्ने अन्यथा आफुहरुले निर्माण कम्पनीलाई कारवाही गर्ने राखेप सदस्य राजेश कुमार गुरुङले बताए ।

उनले भने “ हामीलाई विश्वास छ, निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर दीपक बराल पोखरेली भएको नाताले हाम्रो इज्जत र प्रतिष्ठासंग समेत जोडिएको बिषय भएकोेले उहाँले पोखरा रंगशाला समयमै निर्माण गरि सक्नु हुनेछ, अन्यथा हामी उनी उपर कारवाही गर्न बाध्य हुने छौं । ” उक्त प्रोजेक्ट समयमै सकेको खण्डमा आफुहरुले निर्माण कम्पनीलाई प्रोत्साहन स्वरुप सम्मान गर्ने योजना रहेको राखेप सदस्य गुरुङले जनाए ।

महिला क्रिकेट सहित पोखरामा ९ वटा खेलहरु आयोजना हुने भएका छन् । महिला क्रिकेट पोखरामा २ डिसेम्बर देखि ९ डिसेम्वर अर्थात मंसिर १६ देखि २३ गतेसम्म हुने भएको हो । पोखरामा हुने महिला फुटबल २८ नोवेम्वर देखि ९ डिसेम्बरसम्म, ह्याण्डबल २८ नोभेम्बर देखि ४ डिसेम्वरसम्म, प्याराग्लाइडिङ २९ नोभेम्बर देखि ८ डिसेम्बरसम्म हुने भएको राखेपले जनाएको छ ।

त्यसै गरी पोखरामा महिला तथा पुरुष ह्याण्डबल, भारत्तोलन, बिच भलिबल, महिला फुटबल, ब्याड मिन्टन, ट्राएथ्लन र आर्चरी हुने भएको हो ।  यसैबीच साग पोखराको स्थानीय व्यवस्थापन समितिका संयोजक समेत रहेकी गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनले शुक्रबार पोखरा रंगशालाको अवलोकन गरेकी छि*न्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button