पोखराको फेवाफाँटमा चराले जेठोबुढो धान फेदैदेखि सखाप पारेपछि कृषक मर्कामा

दीननाथ बराल, पोखरा न्यूज- ०२, कार्तिक । पोखराको पर्यटकीय स्थल फेवातालको माथिल्लो भाग फेवाफाँट क्षेत्रमा यति बेला पोखरेली जेठोबुढो धान फलेर लह-लह हुनुपर्नेमा कुर्मा जातको चराले धान खाई दिँदा धेरैजसो खेतमा धान काटे जस्तै ठुटा र कतै धानखेती मडारिएको जस्तो देखिएको छ ।

फेवाफाँट, भकुण्डे, चारखेल, दश खेत, मरुवा, मार्गी अर्थात पामेसम्मको हजारौं रोपनी खेतमा कुर्मा जातको चराले हरियो हुँदै फुल्न लागेको जेठोबुढो धानको केही भाग टुप्पाबाट त केही भाग फेदबाट खाएकाले धेरै ठाउँमा धान काटेसरी ठुटा र कतै धानबारी मडारिएको अवस्थामा छ ।

अधिकांश स्थानिय कृषकहरुले पोखरेली ब्राण्ड नै बनेको जेठोबुढो धान आफुहरुले बर्ष भरी खाएर बचेको धान बिक्रि गरी घर खर्च समेत चलाउदै आएकोमा विगत ५/६ बर्ष देखि खेतबाट उत्पादन भएको धान उनीहरुलाई बर्ष भरी खान त परको कुरा ६ महिना पनि नपुग्ने भएको छ । गमबुट लगाएर हातमा लठ्ठी लिदै गज गज हिलोमा चरा धपाउनै व्यस्त छ एक स्थानिय माधव तिमिल्सिना दैनिकी हिजोआज । बिहान घाम नझुल्किदै खेतमा पुग्ने गरेका उनी बेलुका घाँम नअस्ताउन्जेल खेतमा टिन ठट्टाउदै बिताउछन् ।

 

चारैतर्फ जेठोबुढो धान पुर्वतर्फ पोखरा, फेवाताल पश्चिमतर्फ पामे, दक्षिणमा विश्व शान्ति स्तुपा र अनि उत्तरमा सराङकोटको अवलोकन गर्दै खेतमा टिन ठटाउदै हा..हा…भन्दै चरा धपाउन व्यस्त भएका तिमिल्सिना विगतका चार महिना चरा धपाउन खेतमै बढी समय बिताए पनि हजारौं रोपनी क्षेत्रफलमा धान खेत भएकाले आफ्नो एक्लो प्रयासले सम्भव नभएको बताउछन्।

धान खाने कुर्मा जातको चराको सङख्या हरेक बर्ष बढ्दै जादा आफुहरु प्रभावित हुन पुगेको उनी बताउछन् । तिमिल्सिना जस्ता असली ४/५ जना निस्वार्थ कृषक भएको भए आफुहरुको धेरै धान संरक्षित हुने अर्का एक स्थानिय कृषक विष्णु तिमिल्सिना बताउछिन् । उनले भनिन् “यस्तै हुने हो भने अर्को बर्ष हामीले के धान रोेप्ने हो खै, बरु बाझै छोड्नु पर्ला जस्तो भएको छ । ”

कतैबाट चराको रोकथाम नभए अर्को बर्ष आफुहरुले धान नै नरोप्ने जग्गा बाझै छाड्ने तिमिल्सिानाले बताइन्। उनले भनिन् “ हामीले कुन चौरास गरेर बर्ष भरी खाने भनेर लगाएको पोखरेली जेठोबुढो धान कुर्मा चराले खाए पछि अब हामीले विहान बेलुका खाने चामल भारतबाट समेत ल्याउनु पर्ने भो । ” विगत ५/६ बर्ष देखि निलो रंग भएको कुर्मा जातको चराले धान रोपे देखि धान नकाट्दासम्म धान खाने हुँदा तिमिल्सिना जस्ता सयौं कृषकहरु यति बेला निकै चिन्तित भएका हुन्।

धान रोपेदेखि चराले धानको जरा, गुदो खाने र फूल खेलेसँगै टुप्पाबाट खाने समस्याले गर्दा अधिकाशं फेवा फाँटका कृषकहरुको धानबाली हाल केही बाझों पल्टिएको छ भने केही भाग चराले खाएर पराल मात्र रहेको स्थानिय पूर्णिमा लामाले बताइन् । उनले भनिन् “ हाम्रा बाबु, आमाले कती दुःख गरेर भकुण्डेको फेवाफाँटमा लगाएको जेडोबुढो धान यस बर्ष विउ समेत उत्पादन नहुने गरी चराले खाएको हुदा हामीहरुलाई निकै दुःख लागेको छ । ”

फेवाफाँटमा दल दल हिलो भएकाले गर्दा पनि महिला तथा बालबालिकाहरुले चरा धपाउन मुस्किल पर्ने गरेको उनले गुनासो गरिन्। उनले भनिन“ गरिब किसानको लागि यो देशमा सरकार छ भने हामी जस्ता किसानको मर्का बुझ्न मात्र भए पनि एक पटक हाम्रो जेठो  बुढो धान फल्ने खेतमा आए हुन्थ्यो । ” करिब २० हजार खर्चिएर रोपेको खेतमा यस बर्ष करिब ४/५ मुरी धान पनि उत्पादन नहुने उनले गुनासो गरिन्।

हरेक बर्ष जसो कुर्मा जातको चराको सङख्यामा बृद्धि भएसंगै स्थानिय कृषकहरुको धानबाली उत्पादन घट्दो क्रम रहेको स्थानिय मानबहादुर थापाले बताए । उनले भने “ आज भन्दा दुई बर्ष अघि ६० मुरी धान उत्पादन गरेको मेरो खेतमा गत बर्ष ३० मुरी धान उत्पादन भएको थियो तर यस बर्ष १० मुरी पनि हुने हो कि होइन बडो चिन्तित भएको छु । ”

 

मगमग बसाउने जेठो बुढो धानको चामल बर्ष दिन भरी खाएर केही धान बेचेर घर खर्च पनि चलाउने गरेका स्थानिय थापा जस्ता कृषकहरुले अहिले चराले धान खादा ३/४ महिना पनि खान नपुग्ने हुँदा तराई तथा भारतबाट समेत चामल ल्याएर खानुपर्ने बाध्यता रहेको स्थानिय कृषक थापाले गुनासो गरेछन्।

उनले भने “फेवाफाँटमा धान लगायो चरालाई, माथिल्लो भेगमा अन्नवाली लगायो बादरलाई, खै हाम्रो लागि कसले के गर्यो, हामी कृषकले अब के गरेर खाने बरु यो सरकारले हामीलाई केही विकल्प दिए हुन्थ्यो ।” कुर्माजातको चराले धानमै बस्ने र गुडसमेत बनाउने गरेको चरा विज्ञहरुले बताउछन् ।

आफुहरु जस्ता सच्चा पिडित किसान समक्ष तीन तहको सरकार हालसम्म नआइपुगेको थापाले गुनासो गरे । फेवाफाँटमा गत बर्ष  करिब ४५ प्रतिशत उत्पादनमा कमी आएकोमा यस बर्ष करिब ५५ देखि ६० प्रतिशतले कमी आउने आफुहरुले अनुमान गरेको स्थानिय कृषक थापाले जनाए ।

पोखरा महानगरपालिकाका बरिष्ठ बागवानी विकास अधिकृत मनोहर कडरियाले धान हुने मौसममा विभिन्न क्षेत्रबाट जलाधार क्षेत्रमा चरा चुरुङगी आउने हुँदा  चराबाट धान खाने समस्या समाधानको लागि धान खेतमा निगरानी बढाउनुपर्ने बताए । धान खेतमा झिलीमिली पार्ने, टल्कने बस्तु राख्ने गर्नाले पनि चराबाट धान बचाउन सकिने उनले जनाए । पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले फेवाफाँटमा केही बर्ष अघि देखि चराले धान खाने समस्या भएकोले त्यसको व्यबस्थापनको लागि हालसम्म महानगरले कुनै व्यबस्थापन गर्न नसकेकोे बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button