तिहार नजिकिएसँगै पोखराका मादल व्यवसायीलाई भ्याइनभ्याइ

दीननाथ बराल, पोखरा न्यूज – ०४, कार्तिक । यतिबेला मादल व्यवसायीहरु मादल बनाउन र बिक्रि गर्न व्यस्त भएका छन्। विशेष गरी तिहार पर्वको अवसरमा देउँसी भैलो कार्यक्रममा प्रयोग गरिने मादल केही समुहहरुले खरिद बिक्रि गर्न थालेसंगै मादल व्ययवसायीहरु यति बेला व्यस्त भएका हुन्।

विगत २/३ बर्ष अघि मादल व्यवसायी र मादल नै लोप हुने हो कि भन्ने अवस्थामा पुगे पनि पछिल्लो समयमा मादलको प्रयोग बढेसंगै मादल व्यवसाय राम्रो हुँदै आएको छ । गत बर्षदेखि मादलको प्रयोग हुन थालेको व्यवसायीहरु बताउछन्। पोखराको तेर्सापट्टि क्षेत्रमा रहेका करिब १० वटा मादल व्यवसायीहरु रहेकाछन् भने उनीहरु यतिबेला मादल बनाउने, मादल मर्मत गर्ने र मादल बिक्रि वितरण गर्न बिहानै देखि बेलुकासम्म व्यस्त भएका हुन्।

नेपाली परम्परागत बाजागाँँजाको रुपमा प्रयोग हुँदै आएको मादल पछिल्लो समयमा धेरैले रुचाएसंगै आफुहरुको व्यवसायमा थप प्रवर्द्धन भएको मादल व्यवसायी दीपक कुलुले बताए । पोखरा तेर्सापट्टिमा रहेको लोक बाजा सप्लायर्स एण्ड बाबुलाल म्यूजिक सेन्टरका संचालक दीपक कुलुले तिहार पर्वको अवसर देखि हिउँदको करीब ३ महिना मात्र मादलको सिजन भएको बताए ।

तिहार पर्वको अवसरमा धेरै मादलहरु बिक्रि हुने हुँदा यस बर्ष करिब एक सय भन्दा बढी मादल बिक्रि गर्ने योजनाका साथ मादल तयार पारेको उनले जनाए । गत बर्ष दीपकले करिब २ सय वटा मादल बिक्रि गरेका थिए । उनको ४ जनाको परिवारको घर खर्च पनि यही व्यावसायबाट चल्दै आएको छ ।

कुलुले मादल व्यवसायबाट मासिक करिब ८० हजार आम्दानी गर्ने गरेका छन्। कुलुको व्यवसायीमा उनका जेठान सुरेन्द्र कुलुले साथ दिएका छन्। प्राय गरी पहिला खिर्रोको काठ प्रयोग हुने भए पनि पछिल्ला बर्ष देखि उत्तिसका काठ मादलमा प्रयोग हुने गरेको उनले दाबी गरे । कुलुको पसलमा १ हजार ८ सय देखि ४ हजार ५ सय मुल्य बराबरका मादल बिक्रिको लागि राखेका छन्।

मादलमा प्रयोग हुने कच्चा पदार्थ गाई र गोरुको छाला भारतबाट ल्याउदा आफुहरुलाई निकै झनझट हुने गरेको बुकेर एण्ड स्वस्तीका मादल पसलका संचालक कुमार कुलुले गुनासो गरे । श्रीमती राधिका कुलु सहित मादल बनाउन व्यस्त भएका उनीले हिजोआज दैनिक जसो ५/६ वटा मादल बनाउदै आएका छन्।

धार्दिङका कुलु एक दशकदेखि स्वरोजगार मादल व्यवसाय हुन् । उनले २/३ बर्ष अघि मासिक १ लाख ३० हजार भन्दा बढी आम्दानी गर्न सफल भए पनि पछिल्ला बर्ष यता मादलको कम बिक्रि भएसंगै आफ्नो आम्दानी करिब ३० प्रतिशतले घटेको जनाए । विगत ४/५ बर्ष अघि मादलको कम प्रयोग भएसंगै आफुहरुको व्यवसाय संकटमा पर्न थाले पनि हाल मादलको प्रयोग बढ्न थालेको उनले जनाए ।

अर्को मादल व्यवसायी सुरज रिजाल पनि अन्य मादल व्यवसायी जस्तै मादल, ढोलक, तवला, दमा, डम्मरु, खैजरी लगायतका बाजाका सामानहरु बनाउन व्यस्त छन्। उनको पसलमाा पनि यतिवेला कोही मादल किन्ने त केही मादल मर्मत गर्नेहरुको भिडभाड् शुरु भएको छ । उनले मादल बनाएरै मासिक ७०/८० हजार रुपैया आम्दानी गर्न सफल भएका छन्। कच्चा सामान ल्याउदा सरकारी निकायबाट ठाउँ ठाउँमा दुःख दिने गरेको उनले गुनासो गरे ।

पार्वती मगराति जस्ता कर्मचारी पनि मादल व्यवसाय राम्रो हुँदा आफुहरुको रोजगार ग्यारेन्टि हुने बताइन्। उनले हिजोआज दैनिक जसो ७ वटा मादल बनाउदै आएकी छन्। स्याङजा, तनहुँ, पर्वत, म्याग्दी,बागलुङसम्म मादल बिक्रि हुने गरेको व्यवसायीहरु बताउछन्। मादल बनाउन जान्ने दक्ष स्वरोजगार एक व्यवसायीले मादल बनायरै मासिक लाखौं आम्दानी गर्ने गरेकाछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button